१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका रुकुमपश्चिम
२o८१ बैशाख १८ मंगलबार १५:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रुकुम पश्चिमबाट नौ करोडको अदुवा बिक्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, रुकुमपश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:४७:oo

व्यावसायिक अदुवाखेती गरेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– ४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए।

गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट रु. एक लाख आम्दानी भएको उनको भनाइ थियो । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका खड्काले निरन्तर अदुवाखेती गर्दै आएका छन्।

यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बिउका लागि र १२ क्विन्टल अदुवा प्रतिक्विन्टल रु चार हजारदेखि रु. आठ हजारका दरले बिक्री  गरेको खड्काले बताए। सोही ठाउँकै ५५ वर्षीय किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा उत्पादनमा केही कमी भए पनि मूल्य भने राम्रो पाइएकामा भने खुसी भएको बताए। 

उनका अनुसार विगत ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट रु. एक लाख ५० हजार आम्दानी गरे। अदुवा गाउँबाटै खैन (खानका लागि प्रयोग) प्रतिक्विन्टल रु. चार हजार र बिउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल रु. आठ हजारदेखि रु १० हजारसम्ममा बिक्री भएको थियो।

जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाए पनि गत वर्षको तुलनामा यस वर्षमा उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए। 

उनका अनुसार उत्पादनमा कमी भए पनि अदुवाको मूल्य तेब्बरले वृद्धि हुँदा किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गरेका हुन्। गत वर्ष प्रतिक्विन्टल रु दुई हजार पाँच सयमा अदुवा बिक्री गरेका किसानले यस वर्ष प्रतिक्विन्टल रु. पाँच हजारदेखि रु. आठ हजारसम्ममा बिक्री गरेका छन्। 

जिल्लामा मुख्यगरी त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुने गरेको छ। त्यस्तै, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र आठबिसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए। 

यस वर्ष जिल्लाबाट एक हजार ६ सय मेट्रिक टन अदुवा बिक्री हुँदा  रु. आठ करोड ८० लाख आम्दानी भएको छ भने अझै केही अदुवा बिक्री गर्न बाँकी छ। अदुवा उत्पादनबाट रु. ४० हजारदेखि रु. पाँच लाखसम्म किसानले आम्दानी गर्ने गरेको उनले बताए। 

अदुवा उत्पादन गर्ने किसानको संख्या जिल्लामा चार सय हाराहारीमा भए पनि व्यावसायिक रूपमा अदुवाखेती गर्ने किसानको संख्या ६० देखि ७० रहेको निमित्त प्रमुख केसीले जानकारी दिए। 

सामान्य खेती गर्ने किसानले दुई रोपनीदेखि व्यावसायिक रूपमा खेती गर्ने किसानले ३० रोपनी जग्गामा अदुवाखेती गर्ने गरेका छन्। ‘गत वर्ष जिल्लामा प्रांगारिक कृषक प्रमाणित भएका तीन सय एक किसानले उत्पादन गरेको अदुवा सुर्खेतमा रहेको द अर्गानिक भ्यालीसँग समन्वय गरेर कृषि विकास कार्यालयले बिक्री गरेको थियो। यस वर्ष भने व्यापारीले किसानकै बारीमा आएर अदुवा खरिद गरेकाले बजारको समस्या भएन। किसानले आफैँ राम्रो मूल्यमा अदुवा बिक्री गरेका छन्,’ उनले भने। जिल्लामा उत्पादन भएको अदुवा दाङ, नेपाजगन्ज र काठमाडौंसम्म निर्यात हुन्छ। 

ad
ad