एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बागमती प्रदेशमा प्रतिपक्षी दल नरम र लचिलो बन्दा प्रदेश सरकार संसद् र जनताप्रति गैरजिम्मेवार बनेको निष्कर्ष निकालेको छ । प्रदेश सभामा प्रमुख प्रतिक्षी दल रहेको एमालेको मंगलबार हेटौँडामा बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा बोल्ने अधिकांश सांसदले आफ्नै दलका नेताको कार्यशैलीप्रति औँला उठाउँदै प्रदेश सभामा एमाले आवश्यकताभन्दा बढी नरम र लचिलो भएको आरोप लगाएका छन् । उनीहरूले प्रदेश सरकारको रवैयाप्रति एमाले सशक्त भएर उभिनुपर्नेमा जोड दिएका छन् ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा बसेको बैठकमा बोल्ने अधिकांश सांसदले सरकारप्रति प्रतिपक्षको व्यवहार आवश्यकभन्दा नरम र लचिलो भएकाले सरकारले पेलेर अघि बढ्ने नीति लिएको दाबी गरे । उनीहरूले प्रतिपक्ष सरकारजस्तो लचिलो र सरकार प्रतिपक्षजस्तो कडा भएको बताएका थिए ।
बैठकमा बोल्दै प्रदेश सभा सदस्य एवं एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले एमाले प्रमुख प्रतिपक्षभन्दा पनि सरकारजस्तो भएको टिप्पणी पनि गरे । ‘हामी प्रतिपक्षीभन्दा पनि सरकारजस्तो भयौँ । प्रतिपक्ष कडा हुनुपर्ने नरम छौँ, नरम हुनुपर्ने सरकार कडा छ,’ उनले भने ।
यस्तै, एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सभा सदस्य भारती पाठकले प्रतिपक्षी नरम बन्दा सरकारको स्वेच्छाचारितामा मलजल पुगेको भन्दै नेतृत्वबाट खबरदारी नपुगेको बताइन् । उनले प्रदेश सरकरका मन्त्रीहरूलाई आफू प्रदेशका सबै जनताको मन्त्री हौँ भन्ने अनुभूति गराउनुपर्ने बताइन् । ‘सरकारका केही मन्त्रीहरूले आफूहरूलाई माओवादी र कांग्रेसका मात्रै मन्त्री भएको ठानेका छन् । विकास बजेटको समान वितरण हुनुपर्नेमा उनीहरूले बजेट खर्च गर्दा आफ्नो ढिकुटीबाट निकालेर दिनुपरेकोझैँ गरिरहेका छन् । प्रतिपक्षी दलले यसको खबरदारी गर्नु आवश्यक छ,’ उनले भनिन् ।
बैठकमा बोल्दै प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले सरकारले आफूहरूको मागको गलत व्याख्या गरेको उल्लेख गर्दै संसदीय समितिको सभापति टुंग्याउन माग गर्दा प्रदेश सरकारका मन्त्रीले एमालेले सबै समितिको भाग खोज्यो भन्दै हिँडेको दाबीवी गरे । उनले सत्तापक्षले एमालेले अनावश्यक बजेट मागेर बखेडा गरेको भन्दै गलत प्रचार गरेर आफ्नो कमजोरीलाई ढाकछोप गर्ने खोजेको बताए ।
‘हामीले समानुपातिक र समावेशी विकास हुनुपर्ने र त्यसका लागि बजेट पुस्तकमा नपारिएका, तर आमनागरिकका सवालमा गर्नैपर्ने योजनाको विवरण सरकारलाई दिएका छौँ । सरकारले त्यसलाई कार्यान्वयन गर्ने लिखित सम्झौता पनि गरेको थियो । तर, अहिले एमालेले पैसाको कुरा नमिलेर संसद् चल्न दिएन, हामीले काम गर्न सकेनौँ भनेर प्रतिपक्षीलाई बदनाम गर्ने काम सत्तापक्षले गरेको छ,’ उनले भने ।
संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई तत्काल हिउँदे अधिवेशन आह्वान गर्न र संसदीय समितिको नेतृत्व टुंग्याउन माग गरे । ‘सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेर सांसदहरूको आवाज बन्द गर्न खोजेको छ । हामीले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग पटकपटक सभामुखसँग समन्वय गरेर हिउँदे अधिवेशन डाक्ने वातावरण बनाउन भनेका छौँ,’ उनले भने ।
नेता थपलियाले सरकार प्रतिपक्षीको मागप्रति केही लचिलो देखिए पनि स्वेच्छाचारी गतिविधि गर्न नछाडेकाले विश्वास गरिहान्ने अवस्थामा भने नभएको दाबी गरे । उनले एमाले जनताको पार्टी भएकाले जनताका पक्षमा डटेर लागिरहनुपर्ने बताउँदै प्रदेश सभा सदस्यहरूलाई प्रदेश सभाको आगामी बैठकमा अनिवार्य उपस्थित हुन र कडाइका साथ प्रस्तुत हुन निर्देशन पनि दिए ।