मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १ सोमबार
  • Tuesday, 17 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o माघ १ सोमबार o६:४o:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धरापपूर्ण थानकोट–चित्लाङ सडक

शनिबार दुर्घटना भएको उकालोमै पाँच वर्षमा दशजनाले गुमाए ज्यान, मर्मतसम्भारका लागि चालू आवमा विनियोजित डेढ करोड बजेटको अझै काम सुरु भएन

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १ सोमबार o६:४o:oo

शनिबार कार दुर्घटनामा एकै परिवारका पाँचजनाले ज्यान गुमाएपछि थानकोट–चित्लाङ सडकखण्ड चर्चामा छ । इतिहास लामो रहे पनि यो सडकखण्ड अझै अस्तव्यस्त र धरापपूर्ण छ । यो सडकखण्ड त्यसवेला बनेको थियो, जति वेला उपत्यकामा मानिसले गाडी बोकेर भिœयाउँथे । तर, सवारीसाधन नै बोक्नुपर्ने कालखण्डमा नै ट्र्याक खुलिसकेको यो सडकको अझै दुरावस्था छ ।

काठमाडौंमा सवारीसाधन भित्र्याउँदाको इतिहाससँग जोडिएको थानकोट–चित्लाङ सडकखण्ड अझै साँघुरो र कच्ची छ । जब कि तराईसँग नजिक र सहज हुने भएकाले दशकौँ पहिले यही बाटो प्रयोग गरेर भीमफेदी, चिसापानी हुँदै उपत्यकामा सवारीसाधन बोकेर ल्याइन्थ्यो । हाल उपत्यकाबाट मकवानपुर निस्कन छोटो हुने भएपछि यो सडक धेरैले प्रयोग गर्छन् । आन्तरिक पर्यटनका लागि राम्रो स्थान मानिएको चित्लाङ जान नजिक र उपयुक्त सडक पनि यही हो । तर, सडकको दुरावस्थाले एकपछि अर्को सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् ।

शनिबार यही सडकखण्डअन्तर्गत पर्ने हिमचुली सेतो पहरा भन्ने ठाउँमा कार दुर्घटनाग्रस्त भयो । दुर्घटनामा ३८ वर्षीय डा. महेशकुमार गौतमसहित उनीका छोरा चार वर्षीय प्रियांश, ६ वर्षीया छोरी स्मारिका, ६७ वर्षीय ससुरा ओमकारनिधि तिवारी र सासू कल्पना तिवारीको ज्यान गुमाउनुप¥यो । यस सडकखण्डमा भएको यो ताजा प्रतिनिधिमूलक घटना हो । 

सडकको अवस्था नाजुक भएका कारण हिमचुली सेतो पहरामा दुर्घटनाको जोखिम धेरै छ । ठाडै उकालो, साँघुरो र ग्रेड नमिलेका कारण यस ठाउँमा बढी दुर्घटना हुने गरेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी बताउँछन् । उनका अनुसार सात मिटर अर्थात् दुई लेनको यो सडकको सबैतिर चौडा र ग्रेड मिलेको छैन । दुर्घटना कम गर्न ग्रेड मिलाउने, चौडा पार्ने, ब्रेक र सडकको छेउमा बार राख्न आवश्यक छ । 

भण्डारीका अनुसार यो सडक उपत्यकासँग जोडिएका अन्य सडकभन्दा निकै पुरानो मानिन्छ । २०१३ सालभन्दा अघि नै यहाँ गोरेटो बाटो थियो भने यसलाई व्यापारिक बाटोका रूपमा पनि लिइन्थ्यो । यो बाटो मानिसले नै खनेका थिए । तर, कति सालमा यसको ट्र्याक खोलियो भन्ने यकिन विवरणचाहिँ सडक विभाग र सडक डिभिजनसँग छैन । 

कुनै वेला कुलेखानी, चिसापानी, भीमफेदी हुँदै काठमाडौंमा गाडी बोकेर भित्र्याइन्थ्यो । तर, पुरानो सडक भए पनि पर्याप्त बजेट नहुँदा र प्राथमिकतामा नपर्दा कालोपत्रे भएको छैन । ‘यो सडकको इतिहास गाडी बोक्ने समयसँग जोडिएको छ, अहिले पनि यो बाटो मकवानपुर निस्किन छिटो छ, त्यही कारणले धेरैले यसको प्रयोग गर्छन्, तर यो सडक निकै जोखिमपूर्ण छ,’ उनले भने, ‘शनिबार दुर्घटना भएको स्थान निकै डरलाग्दो छ, त्यहाँसम्म कालोपत्रे गर्न र सडक व्यवस्थित बनाउन करिब २० करोड बजेट चाहिन्छ, तर केन्द्र सरकारले बजेट नै दिएको छैन ।’ 

मकवानपुरको थाहा नगरपालिकाका रामजी बलामीले सो सडक निकै अस्तव्यस्त रहे पनि वर्र्षौँदेखि मर्मतसम्भार नभएको बताए । ‘म घर आउजाउ गर्ने सडक यही हो, तर यो सडक निकै जोखिमपूर्ण छ,’ उनले भने, ‘तर सरकारले सडक व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम छ ।’ थानकोटदेखि करिब दुई किमिभित्रसम्म यो सडक कालोपत्रे भइसकेको छ भने त्यसपछि कच्ची छ । थप पाँच सय मिटर कालोपत्रे गर्न आर्थिक वर्ष ०८०/८१ मा बजेट विनियोजन भएको छ । थानकोटबाट हिमचुली सेतो पहरा अर्थात् शनिबार दुर्घटना भएको स्थलसम्म पुग्न करिब पाँच किमि छ । 

तर, केन्द्र सरकारले कम बजेट दिएकाले अप्ठ्यारो ठाउँमा काम गर्न नपाएको डिभिजन प्रमुख भण्डारी बताउँछन् । उनका अनुसार पाँच सय मिटर पक्की गर्नका लागि भने ठेक्का प्रक्रिया अघि बढिसकेको छ । हाल थानकोटदेखि खोल्सी भन्ने ठाउँसम्म करिब दुई किमि कालोपत्रे भइसकेको छ भने थप पाँच सय मिटर मात्रै पिच गर्नका लागि ठेक्का अघि बढेको छ ।  ‘यो बाटो हुँदै त्यसवेला गाडी नै बोकेर पनि काठमाडौंमा ल्याइएको छ, तर प्राथमिकतामा नपर्दा हालसम्म पनि सडकको अवस्था सुधार हुन सकेन,’ उनले भने, ‘सडकको उन्नति नहुनाको कारण बजेट अभाव नै हो ।’ 

०७० देखि मात्रै प्राथमिकतामा, एक दशकमा ३० करोड खर्च 
उपत्यकाबाट मकवानपुर हुँदै तराई जोड्ने छोटो सडकका रूपमा रहेको यो सडकलाई राज्यले प्राथमिकतामै राखेन । थानकोट–चित्लाङ सडक योजना भनेर ०७० देखि यस सडकसँग सम्बन्धित योजनाको कार्यालय सडक विभागमा राखिएको थियो । एक दशकयताको बजेट हेर्दा ३० करोड बजेट यो सडकमा खर्च भइसकेको छ । ०७० यता हरेक वर्ष ३/४ करोडका दरले बजेट छुट्याउने गरिएको छ भने चालू आवमा दुई करोड कालोपत्रे र डेढ करोड मर्मतसम्भारका लागि बजेट छुट्याइएको छ । 

यातायातविज्ञ आशिष गजुरेलले सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा नराख्दा र दुर्घटना न्यूनीकरणमा तदारुकता नदेखाउँदा दुर्घटना बढिरहेको बताए । ‘यदि दुर्घटना कम गर्ने हो भने चाहिने र चल्ती सडकखण्डलाई प्राथमिकतामा राख्नुपर्छ, सडक सुरक्षा परिषद् गठन गर्नुपर्छ,’ उनले भने, ‘यसलाई सडक पूर्वाधार, सवारीसाधनको अवस्था, नियम कानुनको पालना, उद्धार, सडक प्रयोगकर्ताको अनुशासनलगायत विषयलाई वैज्ञानिक ढंगले अध्ययन गरेर लागू गर्ने अधिकार दिनुपर्छ ।’ 

०७५ यता पाँच वर्षको अवधिमा शनिबार दुर्घटना भएको उकालो सडकमा दुईवटा जिप, दुई मोटरसाइकल र शनिबार एउटा कारसहितमा गरी दशजनाले ज्यान गुमाइसकेका छन् । सडक डिभिजन कार्यालयका प्रमुख भण्डारीका अनुसार ०७५ यता मोटरसाइकल दुर्घटनामा तीनजना, जिपमा दुईजना र कारमा पाँचजना गरी दशजनाको ज्यान गएको हो । करिब चार किमि उकालो यस सडकमा चार दर्जनभन्दा बढी सवारीसाधन साना दुर्घटनामा परेका छन् । 

दुर्घटनास्थलमा मर्मतका लागि  विनियोजित डेढ करोडमा काम सुरु भएन 
थानकोटदेखि मकवानपुरसम्म करिब २२ किमि पर्ने यो सडक मर्मतसम्भारका लागि भनेर चालू आर्थिक वर्षमा सडक बोर्डबाट ढेड करोड रुपैयाँ विनियोजन गरिएको छ । तर, मर्मतसम्भार नै सुरु भएको छैन । हालसम्म मर्मतसम्भारका लागि छुट्याइएको बजेटको डेढ लाख मात्रै बजेट खर्च भएको डिभिजन कार्यालयले जनाएको छ, सो खर्च पनि डिजेलमा खर्च भएको हो । 

हरेक वर्ष विशेष महत्वको सडकको लागि बोर्डले बजेट छुट्याउँछ । यस वर्ष पनि यो सडकलाई महत्वमा राखेर बजेट छुट्याइएको थियो । शनिबार दुर्घटना भएको स्थानमा समेत व्यवस्थित गर्ने भनेर बोर्डले बजेट छुट्याएको डिभिजन कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार सो उकालो र अप्ठ्यारा ठाउँमा मर्मत गर्न बाँकी छ । ‘यो सडक निकै अप्ठ्यारो भए पनि पछिल्लो समय यसमा सवारीसाधनको चाप बढेको छ,’ उनले भने, ‘कच्ची बाटो त्यसमाथि पनि ठाडो उकालो छ, करिब चार किमि उकालो सडक जोखिम छ यो ठाउँसम्म पिच हुनलाई २० करोड बजेट चाहिन्छ, तर दुई करोड बजेटमा पिच नै हुँदैन ।’ 

अर्थले दिएन बजेट, सीमित बजेटमा काम गर्न कठिन 
यस सडकको उकालो क्षेत्र करिब चार किमिमा कालोपत्रे तथा ढलान गर्न भनेर गत असोजमा डिभिजन कार्यालयले अर्थ मन्त्रालयसँग आठ करोड बजेट मागेको थियो । तर, अर्थले बजेट दिन नमानेको डिभिजन कार्यालयले जनाएको छ । उकालो सडकमा काम गर्न बजेट धेरै चाहिने भएकाले वार्षिक रूपमा छुट्याइएको बजेटले सडक पिच गर्न वषौंँ लाग्छ । सरकारले बजेटको आकार बढाउने हो भने धेरै काम गर्न सकिने डिभिजन कार्यालयको भनाइ छ । 

शनिबार दुर्घटना भएको सडकलाई तत्काल मर्मत गरिने 
डिभिजन प्रमुख भण्डारीले शनिबार कार दुर्घटना भएको ठाउँमा मर्मतसम्भारका लागि आएको बजेटबाट व्यवस्थित गर्ने काम गरिने बताए । उनका अनुसार त्यस ठाउँमा चौडा पार्ने, ग्रेड मिलाउने, ब्रेकर राख्ने र बार लगाउनेलगायत काम गरिनेछ ।