१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दलितलाई बहिष्कार प्रकरण : गैरदलित समुदायले दलितसँग माफी मागे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:४९:oo

नयाँ पत्रिका फलोअप

गत जेठमा गाउँमा भएको पुराण पूजामा जातीय विभेद गरिएको भन्दै दलित महिलाले मुद्दा हालेपछि मोरङको जिरीखिम्तीका २५ दलित परिवारलाई सामूहिक कार्यमा निषेध गरिएको थियो

जातीय विभेदको जाहेरी दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेपछि मोरङ पथरीशनिश्चरे नगरपालिका– १० जिरीखिम्तीका गैरदलित समुदायले दलितसँग माफी मागेका छन् । जातीय विभेदविरुद्ध न्याय खोज्दा समाजले नै बहिष्कार गरेको समाचार २९ मंसिरमा नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि पथरीशनिश्चरेका दलित आन्दोलित भएका थिए । 

गत जेठमा पथरीशनिश्चरे नगरपालिका– १० जिरीखिम्तीकी रिता विश्वकर्मालाई पुराणमा पूजा गर्न खोज्दा स्थानीय शान्ति सुवेदीले जातीय विभेद गरेकी थिइन् । उक्त विभेदविरुद्ध रिता प्रहरी हुँदै अदालत गएपछि जिरिखिम्तीका दलितलाई सहयोग गर्ने केही गैरदलितसहित करिब २५ घर दलितलाई बहिष्कार गरिएको थियो । न्याय खोज्दा ‘रिस साँध्न’ अहिले विवाह, मेलापात, गाउँमा हुने सामूहिक कार्यमा दलित समुदायलाई एक्ल्याइएपछि दलितहरू आन्दोलनमा उत्रिएका थिए ।

दलितहरूले ज्ञापनपत्र बुझाएपछि केही दिनअघि नगरप्रमुख मोहनप्रसाद तुम्बापोले नगरपालिकामा छलफल राख्दासमेत जिरिखिम्तिका गैरदलित माफी माग्न तयार नभएपछि दलित समुदाय जाहेरी बोकेर इलाका प्रहरी कार्यालय पथरी पुगेको थियो । इलाका प्रहरी कार्यालय पथरीले अर्को दिन जाहेरी लिएर आउन भन्दै पीडित दलितहरूलाई फर्कापछि माफी माग्ने भन्दै गैरदलित समुदायले प्रहरीमा नजान आग्रह गरेका थिए । उनीहरूले शुक्रबारसम्मको म्याद राखेका थिए । शुक्रबार पथरीशनिश्चरे नगरपालिका–१० वडा कार्यालयको संयोजनमा जिरिखिम्तिस्थित डाँस मोरंगी सामुदायिक वनको कार्यालयमा दलित समुदाय र गैरदलित समुदायको छलफलमा गैरदलित समुदायले दलितसँग माफीमा मागेका थिए ।

गैरदलितले बहिष्कार गरेका दलित समुदायलाई ढाका टोपी लगाइदिँदै माफी मागेको छोरीले दलितसँग विवाह गरेका कारण आफ्नै समुदायको बहीष्करणमा परेका पीडित लक्ष्मण गुरागाईंले जानकारी दिए । ‘हामीसँग माफी मागेपछि हामीले माफी दियौँ । टोपी लगाइदिन अरू आउँदै थिए । छोरीले दलितसँग विवाह गरेपछि मेरो घरमा श्राद्ध गर्न नमान्ने पण्डित लक्ष्मीप्रसाद भट्टराईले लगाउनुपर्छ भनेँ,’ उनी भन्छन्, ‘त्यसपछि मैले मेरोमा श्राद्ध गर्न आउनुपर्छ भन्ने प्रस्ताव राखेर टोपी लगाएँ ।’

गैरदलितको बहिष्कारमा परेका पीडित पूर्ण विश्वकर्माले छलफलमा गैरदलित समुदायले माफी मागेसँगै एक महिनाभित्र वडाले सहभोजको आयोजना गर्ने निर्णय भएको जानकारी दिए । ‘हामीमाथि विभेदको घटना भएको विषयमा माफी पनि मागे । अब पनि दलितलाई बहिष्कार गरे कानुनी कारबाहीको भागीदार हुने सहमति भएको छ । वडाले एक महिनाभित्र सहभोज गर्ने पनि सहमति भएको छ,’ उनले भने, ‘यी सहमति कार्यान्वयन भएर विभेदरहित समाज निर्माण भयो भने त ठीक हो । तर, सहमति कार्यान्वय नहुनेमा पनि शंका छ ।’

शुक्रबारको छलफलको सुरुवातमा पथरीशनिश्चरे– १० का वडाध्यक्ष जीवन खतिवडा र डाँस मोरंगी सामुदायिक वनका अध्यक्ष मदन पोखरेलले बैठकको फोटो नखिच्ने र छलफलमा भएका विषय र सहमतिबारे मिडियालाई जानकारी नदिने आचारसंहिता बनाएको यो घटना सार्वजनिकपछि बनेको संयुक्त दलित संघर्ष समितिका सचिव नरेश घतानीले जानकारी दिए । ‘मिडियाका कारण गाउँ नै बदनाम भयो । फोटो पनि नखिच्ने र मिडियालाई पनि जानकारी नदिने भनेर वडाध्यक्ष र वनको अध्यक्षले भन्नुभयो,’ उनले भने, ‘फोटोचाहिँ खिच्न पाइएन । तर, विभेदका घटना सार्वजनिक गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ । तसर्थ, यसको विपक्षमा हामी छौँ ।’

डाँस मोरंगी सामुदायिक वनका अध्यक्ष मदन पोखरेलले अञ्जानमा गैरदलित समुदायबाट कमीकमजोरी भएको र अबका दिनमा यस्ता गल्ती नगर्ने निर्णय भएको बताए । ‘गैरदलित समुदायले विवाह, भोजमा बोलाउँदा मुद्दा लाग्दोरहेजस्तो भयो, तर हामीले बुझेनछौँ भन्ने कुरा गर्नुभयो । दलित समुदायले अब त्यसो नगर्ने भए समाजमा मिलेर बसौँ भन्नुभयो,’ उनले भने, ‘दुवै पक्षले अब आइन्दा यस्तो नगर्ने भन्ने सहमति भएको छ ।’ 

पथरीशनिश्चरे– १० का वडाध्यक्ष जीवन खतिवडाले समाजमा नमिलेका मान्छेहरूलाई भेटघाट गराएको बताए । ‘हात मिलाउन लगाएर अबदेखि यसो नगर्नु है भन्यो । आइन्दा कार्जे गर्दा बोलाउँदा पक्षपात नगर्ने, दुवै पक्षले एक–अर्कालाई दोषारोपण नगर्ने सहमति भएको छ,’ उनले भने, ‘सामाजिक रूपमा छरछिमेकमा मिलेर बस्ने सहमति भएको छ ।’ 

वडाध्यक्ष खतिवडाले केही पनि लिखित सहमति नभएको बताए । उनले सबै मौखिक सहमति भएको दाबी गरे । यद्यपि, संयुक्त दलित संघर्ष समितिका सचिव नरेश घतानीका अनुसार गैरदलित समुदायले लिखित माफी मागेका छन् भने वडाले एक महिनाभित्र सहभोज गर्ने लिखित सहमति भएको छ । उक्त सहमतिको कागज वडासदस्य वीरबहादुर बस्नेतले तयार पारेका हुन् ।

तर, त्यसलाई कम्प्युटरबाट लेखेर प्रिन्ट गरेपछि मात्र हस्ताक्षर गर्ने सहमति भएको घतानीले बताए । सहभोजमा बहिष्कार गर्ने सबैलाई बोलाउने सहमति भएको उनी बताउँछन् । छलफलमा पथरीशनिश्चरेका नगरप्रमुख मोहनप्रसाद तुम्बापो पनि सहभागी थिए । उनी छलफल सकिएपछि मात्र बाहिरिएको संघर्ष समिति सचिव घतानीले बताए । 
 

ad
ad