१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:११:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गुल्मीमा मुटु, मिर्गौला र क्यान्सरका बिरामी बढ्दै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:११:oo

रेसुंगा नगरपालिका– ८ की ५६ वर्षीया पुतलीदेवी थापा पाँच वर्षदेखि मुटुको समस्याले पीडित थिइन् । केही समयपछि दुवै मिर्गौलाले काम गर्न छोडे । आर्थिक अभावको कारण मिर्गौला प्रत्यारोपण त के डायलाइसिससमेत गर्न नसकेर १२ मंसिरमा ज्यान गुमाइन् । त्यस्तै, मुसिकोट नगरपालिका– ६ कुर्घाका ७० वर्षीया रामु पौडेल एक वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । परिवारले चितवन र काठमाडाैं लगेर उपचार गरे । पौडेल आफैँले निकै पीडा खेपे । उपचारको क्रममा परिवारको करिब आठ–नौ लाख खर्च भयो । तर, १८ मंसिरमा पौडेलले ज्यान गुमाए । 

छत्रकोट गाउँपालिका– १ हुँगाका ६७ वर्षीय भुवानन्द भण्डारीलाई ०६९ सालबाट घाँटीको क्यान्सरले समात्यो । कैयौँपटक बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन पुर्‍याएर परिवारले उपचार गरे । डेढ वर्ष भुवानन्द र परिवारले थुप्रै तनाव खेपे । करिब १४ लाख उपचारमा सकियो । तर, १५ भदौमा ज्यान बचेन । 

क्यान्सर रोगको उपचार निकै महँगाे र उपचारका लागि पर्याप्त अस्पताल नहुँदा निकै सास्ती भएको पत्रकारसमेत रहेका भुवानन्दका छोरा सागर भण्डारीले गुनासो गरे । ‘गम्भीर रोग लागे सामान्य परिवारको जायजेथा सकिन्छ सरकारले कम्तीमा पनि ५० प्रतिशत उपचार गर्नुपर्छ । हाल विपन्न नागरिकलाई दिइँदै आएको उपचार शुल्कबाट सबै प्रकारका औषधि सरकारले उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘उपचार सुविधा निकै झन्झटिलो छ ।’

सबैभन्दा बढी क्यान्सरको समस्या

संघ र प्रदेशले नसर्ने गम्भीर प्रकारका रोगहरूबाट पीडित व्यक्तिहरूलाई विभिन्न किसिमको सहयोग गर्दै आएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार संघीय सरकारले विपन्न नागरिक उपचार कोषमार्फत सात किसिमका रोगबाट पीडितलाई दुई लाख सहयोग गर्दै आएको छ । जसमा गुल्मीबाट मिर्गौलापीडित ६३, मुटुको रोगी एक सय सात, क्यान्सरका दुई सय, हेड इन्जुरीका तीन र स्पाइनल इन्जुरीका ११ जना गरेर तीन सय ७४ जनाले सेवा लिएका छन् । 

लुम्बिनी प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधाअन्तर्गत सरकारले तीन प्रकारका रोगबाट पीडितलाई दुई लाख दिने व्यवस्था गरेको छ । जसमा मिर्गौला प्रत्यारोपण गरेका २५ जना, क्यासन्सरका एक सय १३ र मुटुको भल्ब फेरेका ४३ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । 

मिर्गौला रोगको हकमा प्रत्यारोपण गर्नेलाई र मुटु रोगको हकमा भल्ब फेर्नेहरूले मात्रै प्रदेशको सुविधा पाउने आचार्यले बताए । त्यस्तै, संघीय सरकारले आर्थिक वर्ष ०७८/७९ सालबाट तीन प्रकारका रोगबाट पीडित व्यक्तिहरूलाई मासिक पाँच हजार प्रदान गर्दछ । यो सेवा लिने मिर्गौलापीडित एक सय १४, क्यान्सरका दुई सय २४ र स्पाइनल प्यारालाइसिसका १९ जना रहेका छन् । 

गुल्मी अस्पतालमा नसर्ने रोगको छुट्टै क्लिनिक 

गुल्मीमा नसर्ने रोगका लागि पेनप्लस क्लिनिक सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि क्लिनिकबाट सेवा उपलब्ध हुनेछ । नेपाल सरकार र काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ संस्थाले पेनप्सल परियोजनाले पाइलेटिङ प्रोजेक्टका रूपमा काम गरिरहेका छन् । 

पेनप्लस क्लिनिकमा मेडिकल अधिकृत, हेल्थ असिस्टेन र स्टाफ नर्समार्फत निःशुल्क रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको परियोजनाको कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिइन् । अस्पतालमा उपचारसँगै समुदायस्तरमा सचेतनामार्फत नसर्ने रोगको समस्या न्यूनीकरण गर्न अहिले भइरहेका थामीले जानकारी दिइन् । परियोजनाले क्लिनिक सञ्चालनसँगै अति गरिब र विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने, बिमा रकमबाहेक ठूला रोगका बिरामीको शल्यक्रिया गर्नुपरेमा सबै खर्च व्यहोरेर उपचार गर्ने व्यवस्थासमेत रहेको परियोजनाको कार्यक्रम अधिकृत थामीले जानकारी दिइन् । 

गुल्मी अस्पतालमा डायलाइसिस सेवा सुरु

रेसुंगा नगरपालिका– ३ का देवीराम खनाल एक वर्षदेखि मिर्गौलापीडित छन् । अस्पताल र कोठा खोजेर सात महिना काठमाडाैंमा डायलाइसिस गरे । मामा मिर्गौला दिन सहमत थिए । तर, लामो समयपछि अस्पतालले नमिल्ले बतायो । काठमाडाैंको खर्च र पीडाले खनाल घर फर्किए । घर फर्किएपछि पाल्पा गएर डायलाइसिस गर्न थाले । रोगले थला परेको ज्यान र टाढाको गाडी यात्रा । उनले निकै मुस्किलले दुई महिना बिताए । 

अहिले गुल्मी अस्पतालमा डायलाइसिस गराउन पाउँदा खनाललाई केही राहत भएको छ । ‘उपचारकै लागि गाडी र पसल बेचेर लाखौँ खर्च गरेँ । रोग लागेपछि सम्पत्ति केही ठूलो कुरा रहेनछ,’ उनले भने, ‘बाँच्ने आशा सबैलाई हुँदो रहेछ । आफ्नै अस्पतालमा सेवा पाउँदा पीडाभित्र पनि राहतको महसुस गरेँ,’ खनालले बताए । गुल्मेलीलाई मिर्गौलाको डायलाइसिस गर्न थुप्रै खर्च गरेर पाल्पा, बुटवल तथा काठमाडाैं पुग्नुपर्ने बाध्यतामा थियो । पुस पहिलो साताबाट गुल्मी अस्पताल तम्घासमा मिर्गौलाको डायलाइसिस सेवा सुरु भएको छ । 

अस्पतालमा पाँचवटा डायलाइसिस मेसिन रहेका छन् । मेसिन सञ्चालनका लागि एकजना मेडिकल अधिकृतसहित तीनजना जनशक्तिको व्यवस्था गरिएको छ । उनीहरूले तालिम लिएर आएको र थप दुईजनालाई पनि तालिमका लागि पठाएको गुल्मी अस्पताल तम्घासका प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए । अहिले एकजनाले डायलाइसिस गरिरहेका छन् । अस्पतालको तर्फबाट सबै काम सकिएर अहिले मन्त्रालयमा लिस्टिङ गर्ने काम अगाडि बढेको बन्जाडेले बताए । 

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठकले गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन भएर नागरिकले सेवा पाउन थालेपछि आफूलाई पनि निकै आनन्दको महसुस भएको मेयर पन्थीले बताए । नगरपालिकाले गत चैतमा भारतीय दूतावासबाट प्राप्त ६५ लाख ३६ हजार चार सय ६६ रुपैयाँका डायलाइसिस मेसिन अस्पताललाई प्रदान गरेको थियो । 
 


 

ad
ad