१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २७ शुक्रबार
  • Saturday, 28 September, 2024
प्रतिकात्मक तस्बिर
रासस बाजुरा
२o८o पौष २७ शुक्रबार १५:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनुदानको ८० क्विन्टल नुन पाँच वर्षदेखि गोदाममै

Read Time : > 1 मिनेट
रासस, बाजुरा
नयाँ पत्रिका
२o८o पौष २७ शुक्रबार १५:२७:oo

कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा (८० क्विन्टल)नुन अलपत्र अवस्था रहेको छ।

नेपालगन्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन्।

कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी नगर्दा अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन्। ठेकेदारबाट अनुदानबापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको छ।

नुनको पाकेटबाहिर लेखिएको मिति हेर्दा सन् २०१९ अर्थात् गत ०७५ सालमा ढुवानी भएको देखिन्छ। पाकेटमा लेखिएको मितिका कारण धनगढीको नभई नेपालगन्जबाट हुम्लाका लागि ढुवानी भएको कर्मचारी बताउँछन्। उक्त मात्राको नुन ढुवानी गर्ने ठेकेदार को हुन्, कसको ठेक्का हो र ढुवानी कसले गरेको हो भन्नेबारे यकिन हुन नसकेको स्थानीयको भनाइ छ।

हुम्लाको ठेकेदारले नुन ढुवानी गरेको हुन सक्ने अनुमान भए पनि ठेकेदारको नाम भने पहिचान हुन नसकेको हिमाली– ५ का वडाध्यक्ष प्रदीप बुढथापाले बताए। नुन ढुवानी भएदेखि हालसम्म ठेकेदार सम्पर्कमा नआएको र अन्य कुनै निकायबाट पनि खोजी नभएको उनको भनाइ थियो। साल्ट ट्रेडिङ कम्पनी नेपालगन्जको नुन भएकाले बाजुराको नभई हुम्लाको हुन सक्ने अनुमान स्थानीयले गरेका उनले बताए।

अनुदानको नुन कवाडीका स्थानीय प्रकाश बुढथापाको गोदामघरमा विगत पाँच वर्षदेखि राखिएको छ। त्यतिवेला हुम्ला जाने सडक नहुँदा कवाडीमा गोदाम बनाएर नुन राखिएको हुन सक्ने भन्दै वडाध्यक्ष बुढथापाले हालसम्म कसैले खोजी भने नगरेको जानकारी दिए।

‘नुन ढुवानी गर्दा ठेकेदारले स्थानीय बुढथापाको घर खाली भएकाले निजको घरलाई गोदामका रूपमा प्रयोग गरेका हुन् । गोदाममा ताला लगाएर गएदेखि ठेकेदार फर्किएका छैनन्,’ उनले भने, ‘घरमा कोही नभएको समयमा ठेकेदारले नुन राखेकाले घरमालिकले भाडा दिने हुन्–होइन भन्ने आशंकाले अर्को ताला लगाएका छन्। लामो समयसम्म ठेकेदार र घरमालिकको सम्पर्क नहुँदा दुईवटै ताला खोलिएका छैनन्।’

‘नुन गोदामका ढोका जीर्ण बन्दै गएका र नुनसमेत चोरी हुन थालेको छ। ढुवानी गरेर बाजुरा पुर्‍याइएको नुन समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा प्रयोग गर्ने म्याद सकिएको छ,’ नुन डिपो केन्द्र कोल्टी प्रमुख जयराम रेग्मीले भने। प्याकिङ भएको दुई वर्षभित्र नुन बिक्री गरिसक्नुपर्ने भए पनि पाँच वर्षसम्म कवाडीमा भेटिएको उक्त नुनको म्याद सकिएको उनले जानकारी दिए।

रेग्मीले दुई वर्षभित्र नुन प्रयोग गसिक्नुपर्नेमा पाँच वर्षदेखि गोदाममा रहेकाले म्याद सकिएको बताए। उनले उक्त नुन प्रयोग नगर्न आग्रह गर्दै प्रयोग गर्दा स्वास्थ्यमा असर पर्ने बताए।

दुर्गमका नागरिक नुन अभावमा चर्को मूल्य तिरेर किन्नुपर्ने अवस्था भए पनि सहुलियत अनुदानको नुन पाँच वर्षदेखि बाजुरामा थन्किएर म्याद सकिँदासम्म पनि कसैको ध्यान जान सकेको छैन। दुर्गम क्षेत्रका नागरिक नुन अभावमा तड्पिरहेका वेला यसरी गोदाममा थन्किनुले नागरिकमा शंका उत्पन्न भएको छ।

बाजुरामा लुकाइछिपाई राखिएको अवस्थामा भेटिएको नुनको पुष्टिका लागि विभिन्न निकायसँग बुझ्दा कुनै निकायबाट गतिलो जवाफ प्राप्त हुन नसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताए। अनुदानको नुन कवाडीमा पाँच वर्षदेखि अलपत्र परेको खबर आएकाले प्रहरी परिचालन गरी अनुसन्धान गर्न लगाइएको उनले जानकारी दिए।

‘अहिले नै यही भन्न सकिने अवस्था छैन। प्रहरीको प्रतिवेदन आएपछि मात्र कवाडीमा नुन गोदाममा राखेर सम्पर्कविहीन भएका ठेकेदारसहितको खोजी गर्नेछौँ,’ प्रजिअ पोखरेलले भने, ‘यसरी लुकाइछिपाई राखिएको नुनको वास्तविकता खोजी गर्न प्रहरी परिचालन भइसकेकाले शीघ्र यसबारे थप तथ्य सार्वजनिक गर्नेछौँ।’