१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २६ बिहीबार
  • Wednesday, 26 June, 2024
तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८o पौष २६ बिहीबार o६:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

खुलामञ्चमा फुटबल मैदान बनाउँदै महानगर

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २६ बिहीबार o६:o६:oo

दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार, भूमिगत पार्किङको योजना पनि यथावतै रहेको महानगरको भनाइ

काठमाडौं महानगरपालिकाले अब खुलामञ्चलाई फुटबल मैदान बनाउने योजना अघि सारेको छ । दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिसकेको थियो । 

यसअघि महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो । त्यसका लागि कार्यपालिका बैठकमा सहमति पनि जुटाएको थियो । तर, सर्वत्र विरोध भएपछि तत्कालका लागि पछि हटेको थियो । त्यसपछि पार्क बनाउने भन्दै महानगरले खुलामञ्चमा ताला लगाउँदै आएको छ ।

अब भने फुटबल मैदानका रूपमा सधैँका लागि खुलामञ्च खोल्ने योजना बनाएको छ । त्यहाँ पार्क पनि हुनेछ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार खुलामञ्चमा तालिम दिन मिल्ने गरी दुबो कार्पेटसहित दुईवटा फुटबल मैदान बनाइनेछन् । ‘हरियाली पनि हुने, सबैजना जान पनि मिल्ने गरी फुटबल मैदानसहित पार्क बनाइँदै छ । त्यहाँ फुटबलको तालिम पनि सञ्चालन गर्छौँ,’ उनले भने, ‘यसका लागि डिपिआर, डिजाइन इस्टिमेटसमेत भइसकेको छ । मैदान बनाउन चाँडै उपभोक्ता समिति गठन हुँदै छ ।’ 

ऐतिहासिक खुलामञ्चलाई खेलकुद मैदान बनाउनु गलत : अभियन्ता
खुलामञ्च फुटबल मैदानमा परिणत हुन लागेपछि सम्पदा अभियन्ताहरूले भने आपत्ति जनाएका छन् । इतिहास बोकेको खुलामञ्चलाई पूर्ण रूपमा खेलकुद मैदान बनाउन नहुने उनीहरूको भनाइ छ । अभियन्ता गणपतिलाल श्रेष्ठले खेलकुदकै रूपमा खुलामञ्चलाई विस्तार गरिनुभन्दा समन्वय गरेर सानो टुँडिखेल वा रंगशालालाई प्रयोग गर्न सकिने बताए । 

खुलामञ्चलाई खेलकुद मैदान बनाउनु गलत हो  : गणपतिलाल श्रेष्ठ, अभियन्ता
खुलामञ्चको आफ्नै इतिहास छ । यो सार्वजनिक स्थल हो । सबैका लागि, सधैँ खुला हुनुपर्छ । फुटबल नै खेलाउने हो, त्यसको तालिम नै दिने हो भने सानो टुँडिखेलमा खेलाउन सेनासँग सहजीकरण गर्नुपर्‍यो । रंगशालामा खेलाउन समन्वय गर्नुपर्‍यो । आज फुटबल मैदान बनाएर भोलि लैनचौरजस्तै सर्वसाधारणलाई निषेधजस्तो भयो भने के गर्ने ?

‘खुलामञ्चको आफ्नै इतिहास छ । यो ठाउँ सार्वजनिक स्थल हो । सबैका लागि, सधैँका लागि खुला हुनुपर्छ,’ अभियन्ता श्रेष्ठले भने, ‘फुटबल नै खेलाउने हो, त्यसको तालिम नै दिने हो भने सानो टुँडिखेलमा खेलाउन सेनासँग सहजीकरण गर्नुपर्‍यो । रंगशालामा खेलाउन समन्वय गर्नुपर्‍यो । आज फुटबल मैदान बनाएर भोलि लैनचौरजस्तै सर्वसाधारणलाई निषेधजस्तो भयो भने के गर्ने ?’ खुलामञ्चमा फुटबल मैदान बनाउन नदिन विभिन्न रचनात्मक दबाब दिइने उनले बताए । 

महानगरका प्रवक्ता मानन्धरले भने जे कामको पनि विरोध गर्नुको तुक नभएको बताए । फुटबल मैदान बनाउने योजना तत्कालको भए पनि भूमिगत पार्किङको योजना पनि कायमै रहेको उनको भनाइ छ । ‘भूमिगत पार्किङको योजना हाललाई स्थगित मात्रै गरेका हौँ । आवश्यकताअनुसार बनाउनुपर्ने नै हो । कुनै न कुनै दिन बन्नचाहिँ बन्छ,’ प्रवक्ता मानन्धरले भने, ‘सहज पार्किङ उपलब्ध हुन नसकेर भित्री बजार सुकिसक्यो ।’ 

गत २९ कात्तिकमा बसेको महानगरको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो । अव्यवस्थित पार्किङको समस्या समाधान गर्न पार्किङस्थल निर्माण गर्न डिपिआर बनाउने निर्णय गरेको थियो ।

यसअघि खुलामञ्चमा ६ वर्ष बसपार्क पनि बनाइएको थियो । ०७३ वैशाखमा काठमाडौं भ्युटावरको अन्टरग्राउन्ड पार्किङ निर्माण गर्ने भन्दै त्यहाँ रहेको पुरानो बसपार्कलाई ६ महिनाका लागि खुलामञ्चमा सारिएको थियो । तर, भ्युटावर निर्माणले गति लिन सकेन । ६ वर्षपछि ०७८ वैशाखमा महानगरले खुलामञ्चबाट बसपार्क हटाएको थियो ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्–खुलामञ्चमा दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)समेत तयार भइसकेको छ । हरियाली पनि हुने, सबैजना जान पनि मिल्ने गरी फुटबल मैदानसहित पार्क बनाइँदै छ । त्यहाँ फुटबलको तालिम पनि सञ्चालन गर्छौँ । यसका लागि डिपिआर, डिजाइन इस्टिमेटसमेत भइसकेको छ । मैदान बनाउन चाँडै उपभोक्ता समिति गठन हुँदै छ । 

 

 

ad
ad
ad
ad