१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २४ मंगलबार १०:०४:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बंगलादेशमा आमनिर्वाचन : विवादबीच हसिना विजयी, पाँचाैँ पटक प्रधानमन्त्री बन्ने तयारी

धाँधलीपूर्ण निर्वाचनको कुनै अर्थ नभएको प्रमुख विपक्षी बंगलादेश नेसनल पार्टी (बिएनपी)को भनाइ

Read Time : > 1 मिनेट
२०८० पौष २४ मंगलबार १०:०४:००

विवाद र प्रमुख विपक्षी पार्टीको बहिष्कारबीच बंगलादेशमा सम्पन्न निर्वाचनमा प्रधानमन्त्री शेख हसिना बाजेदको अवामी लिग (एआई) पार्टी विजयी भएको छ । जातीय संसद्को कुल ३०० सिटमध्ये २९९ सिटका लागि आइतबार सम्पन्न निर्वाचनमा हसिनाको पार्टी विजयी भएको हो । योसँगै हसिना पाँचौँपटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । 

अलजजिराका अनुसार हसिनाको अवामी लिगले २२२ सिट प्राप्त गरेको छ । अवामी लिगपछि धेरै स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार ६३ सिटमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा वर्तमान प्रतिपक्षी दल जातीय पार्टी ११ सिटमा खुम्चिएको छ । निर्वाचनको सम्पूर्ण परिणामको औपचारिक घोषणा हुन बाँकी छ । यसअघि सन् २०१८ मा सम्पन्न आमनिर्वाचनमा अवामी लिगले २५८ र प्रमुख विपक्षी जातीय पार्टी २७ सिटमा विजयी भएका थिए ।

 लगभग सबै विजयी स्वतन्त्र दाबेदारहरू अवामी लिगले अस्वीकार गरेका व्यक्ति थिए । तर, पार्टी नेतृत्वले विश्वसामु चुनावलाई प्रतिस्पर्धात्मक छ भन्ने देखाउन उनीहरूलाई ‘डमी उम्मेदवार’को रूपमा खडा हुन आग्रह गरेको थियो । निर्वाचन परिणाम सार्वजनिकपछि हसिनाले आफ्नो पाँचौँ कार्यकाल सत्तामा रहनु भनेको ‘जनताको विजय’ भएको दाबी गर्दै ‘जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न जीवनभर लडिरहने’ बताइन् । ७६ वर्षीया हसिना सन् १९९६ मा पहिलोपटक देशको प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएपछि उनी निरन्तर बंगलादेशको सत्तामा छिन् । सन् २००९, २०१४ र २०१८ मा भएका निर्वाचनमा उनी प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौथोपटक निर्वाचित भएकी थिइन् ।

७६ वर्षीया हसिना सन् १९९६ मा पहिलोपटक देशको प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएपछि उनी निरन्तर सत्तामा छिन् । 

प्रमुख विपक्षी दल बंगलादेश नेसनल पार्टी (बिएनपीले) चुनावलाई नौटंकी भनेको छ । बिएनपीले चुनाव बहिष्कार गरेको थियो । धाँधलीपूर्वक भएको निर्वाचनको कुनै अर्थ नभएको पार्टीले जनाएको छ । बिएनपीले तटस्थ चुनावी सरकार र सरकारले थुनामा राखेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको माग गर्दै आएको थियो । तर, सरकारले विपक्षीका कुनै माग सम्बोधन नगरी एकतर्फी ढंगले निर्वाचन गरेको थियो । चुनावअघि सरकारले बिएनपीका हजारौँ नेता–कार्यकर्ता पक्राउ गरेको थियो । बिएनपीकी नेतृ तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियामाथि भ्रष्टाचारको अभियोग लगाइएको छ । सरकारले उनलाई हाल घरमै नजरबन्दमा राखेको छ । 

आइतबारको ‘एकतर्फी चुनाव’ हसिनालाई पुनः सत्तामा ल्याउने ‘औपचारिकता’ मात्र भएको विश्लेषकले बताएका छन् । ‘यो विचित्र चुनावको अनौठो नतिजा हो,’ प्रख्यात बंगलादेशी अधिकारकर्मी तथा फोटोग्राफर साहिदुल आलमको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ, ‘डमी चुनावमा डमी उम्मेदवारहरू अब डमी संसद्मा जानेछन् ।’

आइतबारको निर्वाचनमा मतदाताको न्यून सहभागिता थियो । निर्वाचन अधिकारीले ४० प्रतिशत मत खसेको दाबी गरे पनि त्योभन्दा निकै थोरै मत खसेको विश्लेषकले बताएका छन् । पछिल्लो चुनावसँगै हसिना थप तानाशाहउन्मुख रहेको उनीहरूले टिप्पणी गरेका छन् ।