संखुवासभाको सदरमुकाम खाँदबारीमा यही पुस २६ देखि तीनपोखरी कप फुटबल प्रतियोगिता हुने भएको छ। तीनपोखरी समाज विकास क्लबले प्रथम आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको खाँदबारीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
माघेसंक्रान्तिको अवसरमा पर्यटन प्रवर्द्धन तथा फुटबल खेलको विकास र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक क्लबका अध्यक्ष मिनेष चापागाईंले जानकारी दिए।
प्रतियोगितामा सशस्त्र प्रहरी कोशी प्रदेश पकली, इटहरी फुटबल क्लब, भड्साबारी फुटबल क्लब, हिले फुटबल, शीतलपाटी क्लब, लोहोरुङ क्लब, खाँदबारी युथ क्लब, एडभान्स क्लब, मकालु फ्रेन्ड्स, तुम्लिङटार स्पाेर्टिङ क्लब र आयोजक तीनपोखरी क्लब (रातो र सेतो दुई टिम)सहित १२ टिमको सहभागिता रहनेछ।
प्रतियोगिताको विजयी टिमलाई दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ र उपविजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। खाँदबारी नगरपालिका– ७ स्थित खाँदबारी रंगशालामा हुने प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा २२ लाख रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ।