१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २२ शनिबार १४:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बरहथवा घटना : प्रदर्शन चर्किएपछि फेरि कर्फ्यु 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:o१:oo

बरहथवा घटनालाई लिएर स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले आइतबार मध्याह्नबाट पुनः कर्फ्यु आदेश जारी गरेको छ। प्रदर्शन चर्काएपछि स्थानीय प्रशासनले आइतबार मध्याह्न १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदंगालगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरीएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यलयले जारी गरेको कर्फ्यु आदेश बरहथवास्थित पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुल यस चारकिल्ला क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने गरी उल्लेख गरिएको छ। 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ (२) (३) (४) बमोजिम जारी कर्फ्यु आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने उल्लेख छ।

बरहथवा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउने विषयामा विवाद भए पनि गत शुक्रबार दिउँसो आन्दोलन भएको थियो। आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि बरहथवा बजार क्षेत्र अशान्त बनेको छ।

मृतकको शव शुक्रबारदेखि नै घटनास्थलमै राखेर स्थानीयले प्रदर्शन गरिरहेका छन्। घटनाको विषयमा छानबिन गर्न सरकारले शनिबार छानबिन समिति पनि गठन गरेको छ। 

तैपनि स्थानीय शान्त भएका छैनन्। शनिबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय छलफलसमेत सम्पन्न भएको थियो। लगत्तै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहितका सुरक्षा अधिकारीहरू साँझ घटनास्थलमा र मृतकको घरमा पुगेर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए थिए।

आइतबार बिहानबाट गाउँ-गाउँबाट थप प्रदर्शनकारी भेला भएर प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो। 

शुक्रबार दिउँसो युवकको मृत्यु भएपछि प्रहरीले बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो भने शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाबीच आन्दोलन गरिरहेका स्थानीयले आइतबार बिहानबाट फेरि प्रदर्शन चर्काएका हुन्। उनीहरूले ठाउँ–ठाउँमा जम्मा भएर नाराबाजी गर्ने, टायर बाल्ने गरिरहेका छन्। स्थानीय प्रशासनले आफूहरूको माग सम्बोधनको पहलसमेत नगरेको पीडितहरूको आक्रोश छ।

शनिबार राति अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा जिल्लाका सुरक्षा निकायले शव व्यवस्थापन तथा आन्दोलकारीको मागको विषयमा छलफलसमेत गरेका थिए। तर, छलफल निष्कषविहीन बनेको थियो। 

फेरि आइतबार बिहान जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल जारी रहँदै गर्दा प्रदर्शनकारीले आन्दोलन चर्काएका हुन्। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले मृतकको शव व्यवस्थापन तथा प्रदर्शनकारीको माग सम्बाेधन गर्न छलफल जारी रहेको बताए। 

प्रदर्शनकारीले प्राथमिक स्वास्थ्य केन्द्र तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, बरहथवाका नगरप्रमुखले राजीनामा दिनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतककै नामबाट अस्पतालको नामकरण गर्नुपर्ने, मृतको बरहथवास्थित नेपाल बैंक चोकमा र अस्पतालपरिसरमा सालिक निर्माण गर्नुपर्नेलगायतका माग अघिसारेका छन्। 

तनाव साम्य नभएपछि बरहथवा बजार क्षेत्र, नगरपालिका कार्यालय र नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। शुक्रबारको घटनापछि तीन दिनदेखि बरहथवा बजार बन्द छ भने जिल्लाको अन्य बजार क्षेत्रमा समेत स्थानीय अन्दोलनमा उत्रिएका छन्।

 


 

ad
ad