१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
बरहथवा नगरपालिका– ६ का मृतक जयशंकर साह
मुख्य समाचार डिजिटल संस्करण

बरहथवा घटना : मृतकको शव अझै घटनास्थलमै, २४ घण्टालाई निषेधाज्ञा जारी

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:५५:oo

कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मृत्यु भएका युवकको शव अझै घटनास्थलमै छ। नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको हो। उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ। यसैगरी, बरहथवा नगरपालिका– ८ का अभिषेक राम घाइते छन्। उनको खुट्टामा गोली लागेको छ।

विभिन्न माग राखेर मृतकका आफन्त र स्थानीले शव उठाउन नदिएको प्रहरीले जनाएको छ। मृतकको शव प्रहरीले नियन्त्रणमा लिन नसकेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए। प्रहरी प्रशासन पनि स्थिति थप बिग्रन नदिन संयमित बनेको छ। आन्दोलनकारीका उचित माग सम्बोधन गर्न भन्दै प्रहरीले कुनै हस्तक्षेप गरेको छैन।

बरहथवा नगरपालिका–६, मा रहेको १५ शय्याको नगर अस्पताल प्रदेशलाई हस्तान्तरण गरी ५० शय्यामा स्तरोन्नति गर्नुपर्ने मागसहित भएको आन्दोलनमा झडपको अवस्था सिर्जना भएको थियो।

सोही क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, निवासी जयशंकर साहको घटनास्थलमै मृत्यु भएको हो। घटनालगत्तै बरहथवा बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

घटना यस्तो थियो 
बरहथवा नगरपालिका–६, मा केही समय पहिला मात्र १५ शय्याको नगर अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो। उक्त अस्पताल निर्माण चरणदेखि नै विवादित रहँदै आएको थियो। विभिन्न समस्याकाबीच निर्धारित समयभन्दा ढिला गरेर निर्माण कम्पनीले अस्पताल नगरपालिकालाई हस्तान्तरण गरेको थियो। केही महिना पहिला नगर अस्पताल सञ्चालनको विषयमा भएको छलफलमा अस्पताललाई ५० शय्याको सुविधासम्पन्न अस्पतालमा स्तरोन्नति गर्नुपर्ने कुरा उठेको थियो। 

यस विषयमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहसँग कुराकानीसमेत भएको स्रोतको दाबी छ। मन्त्री सिंह यसै क्षेत्रबाट निर्वाचित भएका प्रदेश सांसद हुन्। सोहीअनुसार ९ असोज २०८० मा नगर कार्यपालिकाको बहुमत बैठकले नगर अस्पताल प्रदेशमातहत लैजाने निर्णय भएको थियो। त्यसलगत्तै प्रदेशले नगर अस्पतालको सम्पूर्ण संरचना, सामग्री, जग्गासमेत प्रदेशलाई बुझाउनपत्र पठाएको थियो। 

तर, नगर कार्यपालिकाले पहिलो निर्णय कार्यान्वयनमा आलटाल गरेपछि कार्यपालिका सदस्यहरूबीच नै विवाद भएको थियो। दुई महिना भई सक्दासमेत निर्णय कार्यान्वयन नभएको भन्दै विभिन्न दलले ध्यानाकर्षणपत्र नै बुझाएर नगरपालिकालाई दबाब दिँदै आएका थिए। केही समययता नेपाली कांग्रेसको नेतृत्वमा अन्य ४ दलले समेत विरोधका कार्यक्रम गरिरहेका थिए। 

कार्यपालिका बैठकमा समेत नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरू निर्णय कार्यान्वयन नगर्ने पक्षमा र अन्य दलबाट निर्वाचित प्रतिनिधिहरू निर्णय कार्यान्वयन गरेर तत्काल अस्पताल प्रदेशलाई बुझाउने पक्षमा विभाजित भएका थिए। चर्को दबाबपछि ४ दिन पहिला मात्र अस्पतालको विषयलाई लिएर पुस १७ गते फेरि कार्यपालिकाको बैठक बसेको थियो। 

उक्त बैठकमा असोज ९ गतेको निर्णय तत्काल कार्यान्वयन नगरी पुस २० गते शुक्रबारका लागि मेयर कल्पनाकुमारी कटुवालले सर्वदलीय बैठक आह्वान गरेकी थिई। कार्यपालिका बैठकमै कुर्सि हानाहानको अवस्था सृजना भएको थियो । त्यसलगत्तै आन्दोलित ५ दलीय गठबन्धनले शुक्रबार बरहथवा बजार बन्द गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो।

आन्दोलनको कार्यक्रमअनुसार बिहानैदेखि स्थानीयले नगरपालिकाको कार्यालयअगाडि भेला भएर आन्दोलन गरिरहेका थिए। त्यही क्रममा आन्दोलनकारी तोडफोडमा उत्रिएका थिए। उनीहरूले नगरपालिका कार्यालयमाथि ढुंगामुडा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही क्रममा प्रहरीले केही सेल अश्रु ग्यास प्रयोग गरेर भिड तितरबितर गरेको थियो।

त्यसपछि भिडले एक किलोमिटरको दूरीमा रहेको मेयर कटुवालको घरमा पुगेर ढुंगामुडा र आगजनी सुरु गरेको प्रहरीको दाबी छ । सोही क्रममा भिडले सुरक्षामा तैनाथ प्रहरीको हतियार खोस्ने र आक्रमण गर्न खोज्दा गोली चलेको जिल्ला प्रहरीका डिएसपी दीपेन्द्र पंजियार थारूले जानकारी दिए। घटनामा दुईजना प्रदर्शनकारी र ८ जना प्रहरीसमेत घाइते भएका थिए।

प्रदर्शनकारीले गरेको आगजनीबाट तीनवटा गाडी जलेर नष्ट भएका छन्। नगरपालिकाका सहित दर्जन सवारीमा क्षति पुगेको छ। आगजनीबाट मेयर कटुवालको काठको घरसमेत जलेको छ। 

२४ घण्टालाई निषेधाज्ञा जारी, कर्फ्यु हट्यो
सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालयले बरहथवा बजार क्षेत्रमा आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। बजार क्षेत्रमा अहिले हिँडडुल गर्न, भेला हुन, कुनै पनि किसिमको प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धमलाको भनाइ छ।

यसअघि स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियाे। जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको आकस्मिक बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो।

समितिले जारी गरेको आदेशमा पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो नहर, उत्तरमा सोती चोर्निया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर शुक्रबार साँझ ५:३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियाे। अहिले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएकाे छ।


 

ad
ad