Skip This
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Saturday, 27 July, 2024
रासस दमौली
२o८o पौष १९ बिहीबार १३:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र

Read Time : > 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार १३:५o:oo

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो ।

१२.५ किलोमिटर दूरीमा एकतर्फी कालोपत्र सकिएकामा सोही दूरीमा दुईतर्फी कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार हाल बन्दीपुरको छिर्कने–डुम्रे खण्डमा दुईतर्फी नै कालोपत्र गरेर गाडी सञ्चालन सहज बनाउने काम भइरहेको छ। अन्य ठाउँमा पक्की पुल निर्माण, कल्भर्ट निर्माण, डिभाइडर बनाउने कामले पनि गति लिएको छ।

पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्तखण्ड ४१.५ किलोमिटर छ। आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको इन्जिनियर पाण्डको भनाइ थियो।

पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम भइरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु. २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ।

पूर्वी खण्डको कामका लागि ०७७ माघ १७ गते सम्झौता भई ०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किलाेमिटर यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद ०८१ वैशाखसम्म रहेको छ ।

यता, पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्र थाल्ने तयारी गरिएको हो । त्यसका लागि अहिले उक्त खण्डमा बेस राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए।

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ। हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ । सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको उनले बताए।

इन्जिनियर पौडेलले  भने, ‘जनवरीको अन्तिम वा फेब्रुअरीको सुरुदेखि कालोपत्र हुनेछ । त्यहीअनुसार अहिले काम भइरहेको छ ।’ उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ । 

सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म ०७८ जेठ २ गते सम्झौता भई ०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद ०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु. सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो।

०२६ मा रेखांकन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।