मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Wednesday, 18 December, 2024
२o८o पौष १९ बिहीबार १३:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाथीभरामा साढे आठ करोड भेटी संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार १३:o८:oo

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंसिर मसान्तसम्म झन्डै साढे आठ करोड रुपैयाँ भेटी रकम संकलन भएको छ। भक्तजनले मन्दिरमा चढाएको तथा स्वेच्छाले दान गरेकोसहित सोबराबरको भेटी संकलन भएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले मंसिर मसान्तसम्म कुल आठ करोड ४५ लाख ९४ हजार ३३६ रुपैयाँ भेटी संकलन भएको जानकारी दिए। पछिल्लो दुई महिना अर्थात् कात्तिक र मंसिर महिनामा मात्र ६८ लाख ११ हजार ११० रुपैयाँ संकलन भएको छ।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार कुल संकलित भेटीमध्ये चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म १० लाख ७० हजार ७८७ रुपैयाँ खर्च भएको छ। सो रकम सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमनलगायतमा खर्च भएको हो। खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार ५४८ रुपैयाँ बैंकमा मौज्दात रहेको उनले बताए।

समितिका अनुसार नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, प्रभु बैंक र एनएमबि बैंकमा रकम मौज्दात छ। उक्त बैंकहरूमा सञ्चालित मुद्दती खातामा ६ करोड ८८ लाख रुपैयाँ मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज दुई लाख ५२ हजार ४४० रुपैयाँ रहेको समितिले जानकारी दिएको छ।

भेटी रकमबाहेक पाथीभरामा भक्तजनले चढाएको १८६ तोला ६ लाल सुन रहेको पनि समितिले जनाएको छ । समितिका सदस्य एवं सुनचाँदी व्यवस्थापन उपसमिति संयोजक शम्भुप्रसाद गौतमका अनुसार ८६ तोला ९३ लाल सुन शुद्ध अर्थात् रिफाइन गरिएको र बाँकी ९८ तोला ४१ लाल रिफाइन नगरिएको सुन रहेको छ।

त्यस्तै, हालसम्म रिफाइन नभएको चाँदी ९२ किलोग्राम ६५० ग्राम रहेको पनि समितिले जानकारी दिएको छ। अन्य धातुमा तामा ६ हजार ५३९ किलोग्राम ७७५ ग्राम र विभिन्न धातुको घन्टी १६ हजार ३६८ किलोग्राम रहेको पनि समितिले जनाएको छ। भक्तजनले चढाएको सुन र चाँदीलाई चाँडै रिफाइन गरी बिक्रीसहित व्यवस्थापन गर्ने योजना रहेकोसमेत समितिले जानकारी दिएको छ।

यता पाथीभराको थप प्रचारप्रसार र देवीको दर्शनलाई सहज बनाउने कार्यमा पाथीभरा क्षेत्र विकास समिति निरन्तर लागिपरेको समितिका अध्यक्ष रक्की थेबेले बताए। अधिकतम भक्तजन आउने गरी दर्शनयात्रालाई अझ सहज बनाउने, भेटीपातीलाई थप व्यवस्थित गर्ने र सबैसामु पारदर्शी हुने गरी समितिले योजना बनाएर काम गर्न सुरु गरेको पनि अध्यक्ष थेबेको भनाइ छ।