यात्रा
तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो– हट एयर बेलुन । पोखरामा सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ । समुद्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमशृंखला हेर्न सकिन्छ । यस्तै, फिस्टेल, अन्नपूर्ण तथा धौलागिरि हिमशृंखलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र हावा भरिन्छ । बेलुन फुलिसकेपछि ग्यासबाट आगो बालेर हावा तताइन्छ । तातो हावाको मद्दतबाट बेलुनले उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्गमिटरको बास्केट जडित छ । बास्केटमा आठजनाले एकैपटक यात्रा गर्न सक्दछन् ।
सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।
ध्यान दिनुस्
उचाइको उडान हुने भएकाले पञ्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ता–चप्पलभन्दा स्पोर्टस् जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ । क्यामेरा/मोबाइलबाट फोटो खिच्दा तल नझरोस् भनेर सावधानी अपनाउनुपर्छ । सीमित उडान हुने भएकाले पहिले नै बुकिङ गरेर जाँदा राम्रो हुन्छ ।
बर्थ डे सेलिब्रेसन, एनिभर्सरीलगायत विशेष अवसरमा पनि परिवार र साथीभाइसँग आनन्दले उडेर सेलिब्रेसन गर्न मिल्ने भएकाले यो साहसिक खेल अरूको तुलनामा अझ सहज र विशेष मानिन्छ ।