१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वप्रहरी नै मानव बेचबिखनमा पीडित : अध्यागमन अधिकृतसहित चारविरुद्ध मुद्दा दायर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४o:oo

भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्काविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको छ । अधिकृतसहित चारजनाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

तेह्रथुमका शंकर लिम्बू, मोरङका गोविन्द रिमाल र काठमाडौंका रविन घिमिरेसहित अधिकृत खड्काविरुद्ध मुद्दा दायर भएको हो । एक पूर्वप्रहरी जवानलाई विमानस्थलमा सेटिङ मिलाई भिजिट भिसामा रसिया पुर्‍याई बेचबिखन गरेको अभियोग उनीहरूमाथि छ । 

ती पूर्वप्रहरी जवानसँग लिम्बूले चार लाख ९० हजार रुपैयाँ लिएका थिए । गत १ असोजमा उनलाई मस्को लगिएको थियो । त्यहाँ आर्मी क्याम्पमा लगेर भर्ती गरी झुक्याएर युक्रेनसँगको युद्धमा लगाइएको पीडितको उजुरी छ । युद्धका क्रममा घाइते भएपछि ती युवक अस्पतालबाट भागेर नेपाली दूतावासको सम्पर्कमा पुगी नेपाल फर्किएका थिए । पक्राउ परेका शंकर लिम्बूले अध्यागमन अधिकृत खड्कासँग मिलेर भिजिट भिसामा आफूलाई रसिया पठाएको उनको दाबी छ । 

यसरी भिजिट भिसामा पठाउँदा अध्यागमन अधिकृत खड्कालाई खातामै ५० हजार रुपैयाँ हालिएको प्रहरी निष्कर्ष छ । गिरोहका नाइके लिम्बूले गोविन्द रिमालमार्फत पैसा हाल्न लगाएका थिए । यो मुद्दामा पक्राउ परेका रविन घिमिरे ट्राभल एजेन्सी सञ्चालक हुन् । घिमिरेले बयानका क्रममा अध्यागमन अधिृकत राम स्वर्णकारलाई प्रतिव्यक्ति २८ हजार तथा एयर अरेबियाका कर्मचारी जीवन न्यौपानेलाई २० हजार दिने गरेको बताएका थिए । तर, उनीहरूको ठेगाना खुल्न नसकेको भन्दै मुद्दा दायर गरिएको छैन । तीन साताअघि प्रहरीले अध्यागमन अधिकृत खड्कालाई दुई लाख रुपैयाँ लिँदै गर्दा पक्राउ गरेको थियो । 

पीडित भन्छन्– ड्रोनले हानेको बम लागेपछि अस्पतालबाट भाग्यौँ 
म ट्राफिक प्रहरी वृत्त गौशालामा कार्यरत थिएँ । त्यही क्रममा शंकर लिम्बूसँग भेट भएकोमा उनले भिजिट भिसामा रसिया पठाइदिन्छु, त्यहाँ औद्योगिक क्षेत्रमा मासिक तीन लाख कमाइ हुन्छ भनेपछि आकर्षित भएँ । उनलाई पटक–पटक गरेर चार लाख ९० हजार बुझाएँ । त्यसमध्ये अध्यागमनमा मिलाउन भनेर एक लाख ४० हजार रुपैयाँ लिएका थिए । १ असोजमा म रसिया उडेँ । लिम्बूले भनेका व्यक्ति मस्को विमानस्थलमा लिन आए । मलाई रसियन आर्मीको क्याम्पमा छिराएर उनी भागे । पछि थाहा भयो, म रसियन आर्मीमा भर्ना भएको रहेछु । त्यहाँ अन्य नेपालीसँग सोध्दा अब बाहिर जान पाइँदैन, युक्रेनसँग लड्न जानुपर्छ भनेपछि आश्चर्यचकित भएँ । बन्धक बनाई मलाई १५ दिन तालिम दिइयो । 

युद्ध लड्ने क्रममा युक्रेनतर्फ अघि नबढ्दा आर्मी कमान्डरले गोली हान्छु भनी युद्ध लड्न बाध्य बनायो । असाध्यै चिसो ठाउँ थियो, लासहरू महिनौँदेखि अलपत्र थियो । खाने कुरा र बस्ने सुविधासमेत थिएन । खाली पेट युद्ध लड्नुपर्ने अवस्था थियो, कुनै पारिश्रमिकसमेत नपाएपछि विक्षिप्त भएँ । युद्धकै क्रममा युक्रेनी सेनाले ड्रोनबाट हानेको बम लागेर मलगायत आठजना साथी घाइते भयौँ । उपचारका लागि रसियाले युक्रेनको कब्जा गरेको क्षेत्रमा रहेको लोहान्स अस्पतालमा भर्ना गरियो । उपचारपछि फेरि युद्धमा लैजाने तयारी थियो, त्यसकारण सादा पोसाक लगाई अस्पतालबाट भागेर चौथो दिन मस्कोस्थित नेपाली दूतावासको सम्पर्कमा गई १५ मंसिरमा नेपाल फर्किएको हुँ ।

ad
ad