चितवनको साहारा चितवन सहकारीको रकम अपचलनमा प्रतिवादी रहेका रवि लामिछानेको थुनछेक सुनुवाइ जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ। लामिछाने बुधबार १० बजे जिल्ला अदालत, चितवनमा उपस्थित भएका छन्।
मंगलबार उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। अदालतमा उनको बयान सुरु भएको छ । बयानपछि दुवै पक्षको बहस र थुनछेक आदेश हुनेछ।
चितवनको साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा पैसा गएको र त्यो खर्च गर्ने भूमिकामा उनी पनि रहेको भन्दै लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ ।
लामिछानेविरुद्ध चितवनमा ठगीको मात्र मुद्दा लागेको छ । संगठित अपराधको मुद्दा नलगाइएको भनेर चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयले मंगलबार नै सरुवा गरेको छ । संगठित अपराध निवारण ऐनको व्याख्याअनुसार सो सहकारीको रकम हिनामिनामा लामिछानेको भूमिका नदेखिएको भन्दै उनीविरुद्ध ठगीको मात्र अभियोग लगाइएको छ।
चितवन साहारा सहकारीबाट गोर्खा मिडियामा १० करोड ८० लाख रकम गैरकानुनी रूपमा गएको छ। सो सहकारीका चार सञ्चालकलाई दामासाहीका रूपमा सो बिगो कायम गरिएको छ।