१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पोखरामा आइतबारदेखि प्याराग्लाइडिङ उडान हुने       

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५५:oo

२७ मंसिरदेखि बन्द रहेको प्याराग्लाइडिङ उडान पोखरामा आइतबारदेखि सुरु हुने भएको छ । फस्ट कम फस्ट सर्भिसका आधारमा अब कम्पनीहरूले आफूले बुक गरेका ग्राहक आफैँले उडाउन पाउने भएका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना)अन्तर्गत पोखराका प्याराग्लाइडिङ व्यवसायी आबद्ध छन् । ‘ना’ले पोखरामा हुने उडानको व्यवस्थापन गर्दै आएको छ । ना, प्याराग्लाइडिङ कम्पनी र प्याराग्लाइडिङ फ्लाइटबीच उडानको विषयमा २५ मंसिरदेखि विवाद सुरु भएको थियो । त्यसपछि पाइलटले २७ गतेबाट उडान नगरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २९ मंसिरदेखि उडान रोकेको थियो ।

क्यान, ना, कम्पनी र पाइटलका प्रतिनिधिबीच १२ पुसमा भएको सहमतिका आधारमा शुक्रबार क्यानले ‘ना’लाई पत्र पठाउँदै उडान पुनः सुरु गर्न अनुमति दिएको ‘ना’का अध्यक्ष सुनीलबहादुर भट्टराईले बताए । क्यानको शुक्रबारको निर्णयपछि शनिबार ना, प्याराग्लाइडिङ कम्पनी र प्याराग्लाइडिङ फ्लाइटबीच छलफल भएर आइतबारदेखि उडान गर्ने निर्णय भएको उनले जानकारी दिए ।

यस्तो थियो विवाद 
पोखरामा प्याराग्लाइडिङका ५९ कम्पनीमा प्याराग्लाइडिङ उडान लाइसेन्स लिएका तीन सय ७५ पाइलट छन् । अन्य एक सय ५० पाइलट गरी पाँच सयको हाराहारीमा पाइलटहरू पोखरामा छन् । पोखरामा यसअघि एकद्वार प्रणालीबाट उडान हुँदै आएको थियो । कम्पनीहरूले बुकिङ लिन्थे र उडानका लागि अल्फाबेटिक अर्डरअनुसार ‘ना’ले कम्पनीहरूलाई अनुमति दिँदै आएको थियो ।  

प्याराग्लाइडिङ उडानका विषयलाई लिएर गत वर्ष २५ मंसिरमा ‘ना’ले सरोकारवालाको संयुक्त भेला आयोजना गरेको थियो । भेलामा सर्वसम्मत रूपमा यसअघिदेखि हुँदै आएको एकद्वार प्रणालीलाई निरन्तरता दिने निर्णय भयो । त्यसपछि २७ मंसिरमा २१ कम्पनीले २५ गतेको निर्णय नमान्ने भन्दै आफूले बुक गरेकालाई आफैँले उडाउन पाउनुपर्ने, मूल्य पनि आफैँ तोक्न पाउनुपर्ने, खुला बुकिङ गरी उडान गर्न पाउनुपर्ने र एकद्वार प्रणाली लागू गरे कानुनी उपचारमा जाने भन्दै ‘ना’लाई संयुक्त रूपमा पत्र बुझाएका थिए ।

२१ कम्पनीले एकद्वार प्रणालीमा असहमत जनाएपछि उनीहरूको मागअनुसार बुकिङ सिस्टम खुला गरिएको भन्दै २७ गते ‘ना’ले सूचना जारी गरेको थियो । तर, सुरक्षा चुनौती रहनेलगायतका कारण देखाउँदै पाइलटहरूको संस्था नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले विरोध गर्दै उडान गर्न असमर्थ रहेको जानकारी २७ गते नै पत्रमार्फत ‘ना’लाई दिएको थियो । विवाद देखिएपछि क्यानले २९ मंसिरदेखि उडान बन्द गरिदिएको थियो । 
 

ad
ad