प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको लिगचरणमा अपराजित हुँदै एपिएफ क्वालिफायर्समा पुगेको छ । लिगको अन्तिम खेलमा शनिबार बागमतीलाई ४७ रनले पराजित गर्दै एपिएफ सीधै क्वालिफायर्समा स्थान पक्का गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १२६ रन बनाएको थियो । प्रत्युत्तरमा बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै ७९ रनमा सीमित भयो । एपिएफले सात खेलमा सातै जित निकाली सर्वाधिक १४ अंक बनायो । बागमतीले सातमध्ये चार जित निकाल्यो । बागमतीले तीन खेलमा हार सामना गरेको छ ।
लक्ष्य पछ्याएको इनिङ्समा बागमतीकी सोनी पाख्रिनले सर्वाधिक २० रन बनाइन् । यसैगरी, यशु पाण्डेले १८ बलमा ३ चौकासहित १७ रनको योगदान दिइन् । खुसी डंगोलले १० रन जोडिन् । एपिएफको बलिङमा सुमन विष्टले सर्वाधिक २ विकेट लिइन् । सोनु खडेका, करुणा भण्डारी, नेरी थापा र सीता राना मगरले समान एक विकेट हात पारे । पहिलो ब्याटिङ गरेको एपिएफकी सीता राना मगरले सर्वाधिक ४४ रन बनाइन् ।
उनले ५० बलमा चार चौका प्रहार गरिन् । ज्योति पाण्डेले १३ रन र इन्दु बर्माले २८ रन जोडे । रोमा थापा १९ रन र ममता चौधरी १२ रनमा अविजित रहे । बागमतीका लागि संस्कृति फुँयाल, मनीषा उपाध्याय र सबिका यादवले समान एक विकेट लिए ।
कोशी शीर्ष दुई स्थानमा
कोशी प्रदेशले लुम्बिनीलाई सात विकेटले हराउँदै प्ले अफ स्थान पक्का गरेको छ । अब पहिलो क्वालिफायर्समा कोशीले एपिएफको सामना गर्नेछ । मूलपानी मैदानमा लुम्बिनीले दिएको ७० रनको लक्ष्य कोशीले १०.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । कोशीकी कप्तान रुबिना क्षेत्रीले अलराउन्डर प्रदर्शन गरिन् । उनले आफ्नो बलिङ स्पेलमा सर्वाधिक चार विकेट हात पारिन् । ब्याटिङ क्रममा रुबिनाले ४४ रनको योगदान दिइन् । यसक्रममा उनले ३४ बलमा आठ चौका प्रहार गरेकी थिइन् । यसैगरी, काजोल श्रेष्ठ १३ बलमा २ चौकाको सहयोगमा १३ रन बनाइन् । लुम्बिनीकी कृतिका मरासिनीले दुई विकेट लिइन् । एपिएफसँग परािजत भए पनि बागमती पनि प्ले अफ पुगिसकेको छ ।
कर्णाली सातै खेलमा पराजित
प्रतियोगितामा सहभागी कर्णाली जितविहीन भएको छ । प्रतियोगिताको अन्तिम खेलमा कर्णाली मधेश प्रदेशसँग ७८ रनले पराजित भयो । हुँदै कर्णाली जितविहीन हुँदै प्रतियोगिता अन्त्य गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । कर्णाली ९.३ ओभरमा २१ रनमा अलआउट भयो । कर्णालीका लागि विना थापाले सर्वाधिक १२ रन बनाउँदा ९ खेलाडी शून्यमा आउट भए । मधेशको जितमा पूजा महतोले अलराउन्डर प्रदर्शन गरिन् । ब्याटिङमा ४९ रन बनाएकी उनले बलिङमा ४ विकेट लिइन् । मधेशकी ओपनर पूजा महतोले ५० बल खेलेर ४९ रन बनाउन ६ चौका प्रहार गरिन् ।