१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उत्खनन गर्न कानुनविपरीत सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५७:oo

एक्स्काभेटर प्रयोग गरी अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्न कानुनविपरीत सिफारिस दिएको आरोपमा सिराहाको कर्जन्हा नगरपालिका– १ का वडाध्यक्ष पक्राउ परेका छन्।

कर्जन्हा– १ बल्टियाको चुरे वनक्षेत्रमा कमला खोलाको बगरबाट प्रचलित ऐन, कानुनविपरीत सिफारिस गरी अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्न सघाएको आरोपमा वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेल पक्राउ परेका हुन्।

डिभिजन वन र सब-डिभिजन वनको टोलीले शुक्रबार पक्राउ गरी वडाध्यक्ष पोखरेललाई थप अनुसन्धानका लागि लहानस्थित डिभिजन वनको हिरासतमा राखिएको सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए। 

कर्जन्हाको बन्दीपुरस्थित सब-डिभिजन वन कार्यालयको गस्ती टोलीले बल्टियाको वन क्षेत्रमा पर्ने कमला नदीको बगरबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) नगरी उत्खनन गरिरहेको अवस्थामा एक्स्काभेटरसहित दुईजनालाई नियन्त्रणमा लिएको हप्ता दिन नबित्दै वडाध्यक्ष पोखरेललाई पक्राउ गरेको हो। वन कर्मचारीको टोलीले ७ पुसमा कमलाको बगर उत्खनन गरिरहेको अवस्थामा एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पक्राउ गरेको थियो।

वनले कर्जन्हा नगरपालिका– ७ स्थित कमला नदी किनारमा अवस्थित कमलेश्वरी कमला क्रसर सञ्चालक मोहम्मद खलिल राइनलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहको डिभिजन वन अधिकृत सुजितकुमार झाले बताए।

त्यसअघि डिभिजन वनले कानुनविपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको आरोपमा सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रन्जितकुमार सिंह र बरुण कन्स्ट्रक्सनका प्रोप्राइटर निलमकुमारी यादव, अवैध उत्खननमा संलग्न आठजना ट्याक्टर तथा जेसिबीचालक र सात व्यवसायीविरुद्ध ४ पुसमा सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

ad
ad