सिडिओ कार्यालयअगाडि साहुकार रामस्वरूप रायबाट कुटिएकी अमरुल खातुनको गुनासो–साहुकारले कपडा च्यात्दै, लछारपछार गर्दै कुट्दा त्यहीँ रहेका सुरक्षाकर्मी मूकदर्शक बने
सर्लाहीमा पनि बुधबार साहुकारबाट मिटरब्याजपीडित दुई महिला कुटिएको घटना बाहिरिएको छ । मलंगवा नगरपालिका– ४ का साहुकार रामस्वरूप राय र उनका आफन्तले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाकर्मीकै सामुन्ने हरिपुर नगरपालिका– ५, लक्ष्मीपुरका अमरुल खातुन र मविना खातुनलाई कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते मविनाको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने अमरुल उपचारपछि घर फर्किएकी छिन् । मविनाको छातीमा चोट लागेको छ, अमरुलको शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै कपडा च्यातिएको छ ।
जिल्ला प्रशासन कार्यालयअगाडि मिटरब्याजपीडित महिलाहरूमाथि कुटपिट भएको निवेदन आफूकहाँ आएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोमलप्रसाद धमलाले बताए । ‘हिजो कार्यालयअगाडि कुटपिट भयो भनेर आउनुभएको थियो । महिलाको ब्लाउज च्यातिएको अवस्थामा देखियो । त्यस्तो हो भने लेखेर ल्याउनुस् न भनेँ, लेखेर ल्याएपछि आरोपीमध्येका एकजनालाई तुरुन्तै पक्राउ गरेर हिरासतमै राखिएको छ,’ उनले भने । तर, पक्राउ परेका व्यक्तिबारे जिल्ला प्रशासन र प्रहरीले कुनै जानकारी दिएको छैन ।
रामस्वरूपसँग लिएको तीन लाख ऋणले अमरुलको तीन कट्ठा खेत र घरसहित साढे आठ धुर घडेरी गुमेपछि उनी गत असारबाट अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छानबिन आयोगमार्फत न्याय खोजिरहेकी छिन् । रामस्वरूपलाई तीन लाख ऋणबापत चार लाख ७८ हजार बुझाउँदा पनि उल्टै धितोबापतको जग्गा बेचिदिएपछि आयोगले दुवै पक्षलाई छलफल गराएर तीन कट्ठा जग्गा, साढे ८ धुर घरसहितको घडेरी र एक लाख नगद फिर्ता गर्र्ने सहमति २ असार ०८० मा गरेको थियो । सहमतिअनुसार उनले १० साउनसम्म घरखेत पाउनुपर्ने भए पनि रामस्वरूपले फिर्ता नगरेपछि बुधबार प्रशासनले दुवै पक्षलाई बोलाएको थियो । ‘ममाथि तिमीहरू लागिप¥यौ, म त्यत्तिकै छाड्दिनँ भन्दै रामस्वरूपले मुक्का हाने । लछारपछार गरे, लुगा च्याते,’ अमरुलले भनिन्, ‘न्याय माग्दा कुटाइ खाइने रहेछ ।’
मविना पनि मिटरब्याजपीडित हुन् । मविनाका श्रीमान् हबिब साह फकिरले मिटरब्याजी साहु जाविर अली धोबीबाट लिएको ऋण मिटरब्याजमा परिणत भएको थियो । आयोगले गत असारमा दुवै पक्षलाई राखेर ऋणी फकिरले साँवा–ब्याजसहित दुई लाख ७५ हजार धोबीलाई तिर्नुपर्ने र साहु धोबीले धरौटी घडेरी बिक्री गरेको ३४ लाख ८५ हजारबाट ३२ साउन ०८० भित्र ३० लाख फिर्ता गर्नुपर्नेे सहमति गराए पनि कार्यान्वयन भएको छैन । त्यसैले उनी पनि निरन्तर प्रशासन धाइरहेकी छिन् । तर, बुधबार रामस्वरूपले अमरुललाई कुट्न थालेपछि रोक्न पुगेकी मविनाले पनि कुटाइ खाइन् । ‘अमरुललाई कुट्न थालेका थिए, किन कुटेको भनेर छुट्याउन जाँदा मलाई पनि कुटे, छातीमा मुक्का हाने,’ उनले भनिन् । छलफल भएका र सहमति कार्यान्वयन नभएका तथा छलफल नै नभएका सर्लाहीका मिटरब्याजपीडित दैनिक जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले मिटरब्याजपीडित महिलामाथि कुटपिट भएको घटना आफूहरूसम्म नआएको बताए । ‘कुटपिट घटनाको विषयमा हामीलाई जानकारी आएको छैन,’ डिएसपी थारूले भने, ‘जानकारी आए त हामी तुरुन्त एक्सनमा गइहाल्छौँ । त्यस्तो कुनै औपचारिक वा अनौपचारिक जानकारी छैन ।’
बुधबारै सिराहा जिल्ला अदालत परिसरमा साहुकार श्यामकुमार निरौला र उनका छोरा प्रभाषकुमार निरौलाले मिटरब्याजपीडित विष्णुपुर गाउँपालिका– १ की ककुल्तीदेवी यादव र सुकुमारीदेवी साहमाथि कुटपिट गरेका थिए । अदालतमा साक्षी बकपत्र गर्दागर्दै समय घर्किएपछि बाहिर निस्किएका पीडितहरूमाथि कुटपिट भएको थियो । उक्त घटनाबारे नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । यादवले निरौला बाउछोराविरुद्ध प्रहरीमा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी जाहेरी दिएकी छिन् । बुधबारै नियन्त्रणमा लिइएका निरौला बाबुछोराविरुद्ध जाहेरी दर्ता भएपछि थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको छ ।