कोशी प्रदेश सरकारले झापाको कमल गाउँपालिका– ६ मा करिब डेढ वर्षयता प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गरेको छ । २० करोड ६३ लाख लागतमा संरचना बनाएर ५ भदौ ०७९ देखि सञ्चालनमा आएको प्रादेशिक आयुर्वेद अस्पताल लगातारको सरकारी बेवास्ताले गलपासो बनेको छ ।
कोशी सरकारले लिफ्टसहितको सुविधासम्पन्न भवन बनाए पनि सरकारी बेवास्ताले अस्पताल पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । अस्पतालमा आउने बिरामीको संख्या क्रमशः बढ्दै छ । तर, यति ठूलो संरचनामा सञ्चालन भएको यो अस्पतालले बिरामी भर्ना गरेर उपचार गर्न सकेको छैन । ५० शय्या स्वीकृत भएको यो अस्पतालले सामान्य स्वास्थ्यचौकीजस्तो बिहान १० बजेदेखि ५ बजेसम्म मात्र सेवा दिइरहेको छ । सरकारी बेवास्ताका कारण यो अस्पताल २४ घन्टा सञ्चालन हुन सकेको छैन ।
कोशी प्रदेश सरकारले यो अस्पताललाई न त औषधि नै उपलब्ध गराएको छ न त पर्याप्त जनशक्तिका लागि दरबन्दी नै स्वीकृत गरिदिएको छ । सामान्य एक्सरे मेसिनसमेत उपलब्ध नगराउँदा सरकारको स्वास्थ्य बिमा कार्यक्रमसमेत सञ्चालन हुन सकेको छैन । ‘२३ प्रकारको औषधि निःशुल्क वितरण गर्नुपर्ने हो, तर हामीसँग औषधि छैन । प्रदेश सरकारलाई पटक–पटक जानकारी गराएका छौँ । तर, औषधि आएको छैन,’ अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले भने, ‘एक्सरे मेसिन नहुँदा स्वास्थ्य बिमा पनि सञ्चालन गर्न सकिएको छैन । खरिद गर्नका लागि हामीसँग बजेट छैन । यहाँको बजेटले दैनिक खर्च पनि चल्दैन ।’
प्रादेशिक आयुर्वेद अस्पतालमा जनशक्ति अभाव छ । अहिले १९ जनाको दरबन्दी छ । जसका कारण अस्पताललाई पूर्ण रूपमा सञ्चालन गर्न नसकिएको उनले बताए । ‘अस्पतालमा आकस्मिक सेवा, भर्ना गरेर राख्नुपर्ने बिरामीका लागि २४ घन्टा सेवा सञ्चालन गर्न सकेका छैनौँ । यो विशिष्टीकृत सेवा दिने संस्था हो,’ उनले भने, ‘अहिले १९ जनाको दरबन्दी छ । दरबन्दीअनुसार कर्मचारी लगभग छौँ । थप २८ जनाको दरबन्दी थप्नका लागि प्रदेशको स्वास्थ्य मन्त्रालय पठाइएका छौँ । जनशक्ति हुने हो भने हामी राम्ररी सञ्चालन गर्न सक्छौँ । अब पनि जनशक्ति वृद्धि भएन भने म आफैँ बसेर भए पनि २४ घन्टा सेवा दिन्छौँ ।’
अस्पतालमा गत जेठयता तीन विशेषज्ञ चिकित्सकसहितको सेवा सुरु भएको छ । यहाँ पायल्स, फिस्टुलालगायतको शल्यक्रिया पनि सुरु गरेको उनले बताए । यस्तै, ल्याब सेवा, फिजियोथेरापी, भिडियो एक्सरे सेवा पनि सञ्चालन भइरहेको निमित्त निर्देशक डा. ठाकुरले बताए । यस्तै, पञ्चकर्म र छारसूत्र विधिबाट पनि बिरामीको उपचार थालिएको उनले बताए । अहिले यहाँ पाँचथर, धनकुटा, इलाम, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाबाट बिरामी आउने गरेका छन् । गत जेठसम्म दैनिक ८–१० जना बिरामी मुस्किलले आउँथे । तर, अहिले दैनिक एक सयजनासम्म बिरामी आउने गरेको ठा. ठाकुरले बताए । ‘बिमा कार्यक्रम लागू गर्न नसक्दा हामीले संकुचन महसुस गरेका छौँ । अहिले बिरामीप्रति विश्वास बढेको छ । निःशुल्क औषधि दिनसके र सेवा विस्तार गर्न सके बिरामीको चाप अझै बढ्ने थियो,’ उनले भने, ‘यहाँ नसासम्बन्धी, मधुमेह, ग्यास्टिक, पेटसम्बन्धी रोक भएका बिरामी धेरै आउने गरेका छन् ।’
अस्पताल सञ्चालनको करिब डेढ वर्ष मात्र भएका कारण पनि चुनौती आउने उनी बताउँछन् । तर, अस्पतालमा देखिएको चुनौतीलाई क्रमशः छिचोल्दै अस्पतालको सेवा विस्तार गर्दै लैजाने लक्ष्य रहेको निमित्त प्रमुख डा. ठाकुरले बताए ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले भने यो अस्पताल अस्थायी अस्पताल भएकाले पूर्ण रूपमा सञ्चालन गर्न नसकिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले संगठन तथा व्यवस्थापन सर्भे (ओएनएम)पछि अस्पताल स्थायी हुने र पूर्ण रूपमा सञ्चालन हुने बताइन् । उनले अहिले जनशक्तिको अभाव रहेको र प्रदेश लोक सेवाबाट जनशक्ति माग गरिरहेका कारण जनशक्ति आएपछि प्रादेशिक आयुर्वेद अस्पतालमा पनि पठाइने बताए । ‘अस्पताललाई पूर्ण रूपमा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले पनि केही काम गर्नुपर्छ,’ उनले भनिन् । स्वास्थ्यसचिव डा. देवकोटाले औषधि खरिदका लागि टेन्डर आह्वान भइसकेको र खरिदपछि उक्त अस्पतालमा पनि पठाइने बताइन् ।