१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १७:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उधौलीको अवसरमा माङसेबुङमा साकेला सिली प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:२४:oo

किराँतीहरूको पर्व उधौलीको अवसरमा इलामको माङसेबुङमा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ। उधाैलीसँगै किराँतीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ–६ स्थित हस्टेमा किराँत राईहरूको सांस्कृतिक नृत्य साकेला सिलीको प्रदर्शन गरिएको हो।

किराँत राई यायोक्खा पारुहाङ टोल इकाइ समितिको आयोजनामा भएको उक्त कार्यक्रममा माङसेबुङ, चुलाचुलीसँगै पाँचथरको मिक्लाजुङसहित १४ साकेला टोलीले साकेला सिली प्रदर्शन गरेका थिए।

साकेलाले किराँत राईहरूको पहिचानलाई स्थापित गरेको छ। पाँचथर मिक्लाजुङको केलाङ याकथुङ चुम्लुङ टोलीले लिम्बूहरूको सांस्कृतिक नृत्य केलाङसमेत प्रस्तुत गरेको थियो। किराँतीहरूले मंगलबार उधौली पर्व धुमधामका साथ मनाउँदै छन्। सो अवसरमा सरकारले सर्वजनिक बिदासमेत दिएको छ।


उधौलीकै अवसरमा हस्टेमा वाबुक (चिन्डो)को प्रतिमाको पनि अनावरण गरिएको छ। उक्त वाबुकको अनावरण माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गरेका हुन्। किराँत राईहरूको प्रतीकको रूपमा रहेको वाबुक (चिन्डो) जन्मदेखि मृत्युसम्मका मुन्धुमी संस्कारमा प्रयोग गर्ने गरिएको किराँत राई यायोक्खा माङसेबुङ– ६ समितिका अध्यक्ष जगत राईले जानकारी दिए।

उक्त वाबुकको प्रतिमा देश तथा विदेशमा रहेका किराँत राईहरूको दान र स्थानीयको श्रमदानबाट बनाइएको अध्यक्ष राईले जानकारी दिए। उनका अनुसार प्रतिमा निर्माणका लागि पाँच लाख बढी खर्च भएको छ।

उधौलीको अवसरमा आयोजना गरिएको साकेला सिली प्रर्दशन कार्यक्रमका प्रमुख अतिथि तथा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले विभिन्न जातजातिको भाषा, संस्कार र संस्कृतिको संवर्द्धनमा गाउँपालिकाले सधैँ सहयोग गर्ने बताए। विभिन्न पर्वहरूको अवसरमा आयोजना गरिने यस्ता संस्कृतिक कार्यक्रमले पहिचान स्थापित गर्न र संस्कार, संस्कृतिलाई बचाइराख्न सहयोग गर्ने उनको भनाइ छ।

दाता र स्थानीयले निर्माण गरेको वाबुक (चिन्डो)को संरक्षणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष राईले प्रतिबद्धता जनाए।

कार्यक्रममा बोल्दै माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्वाङले किराँत राईले साकेला सिलीमा जीवन दर्शन रहेको उल्लेख गरे। ‘साकेला सिलीमा जीवन दर्शनसँगै प्रकृतिसँगको अथाह प्रेम छ,’ उनले भने।

उपाध्यक्ष नेम्वाङले किराँतीहरूमा अब राजनीतिक जागरण आउन जरुरी भएको बताए। ‘०४६ को जनआन्दोलनपश्चात् किराँतीहरूमा सांस्कृतिक जागरण आएको छ। संस्कार र संस्कृति जोगाउन हामी अघि बढेका छौँ। तर, राजनीतिक जागरण आउन सकेको छैन,’ उनले भने, ‘अब किराँतीहरूमा राजनीतिक जागरण पनि जरुरी छ।’

ad
ad