आगलागीले दजाकोट ध्वस्त भएको १८ वैशाखमा सात वर्ष पूरा भयाे। ०७३ सालमा गुल्मीको मुसिकोट नगरपालिका– ४ दजाकोटका आगलागीबाट एकजनाले ज्यान गुमाए भने ५७ घर र ७० गोठ जलेर नष्ट भए। त्यस्तै, आठ घरमा आंशिक क्षति भएकाे थियाे। घटनामा पाँच सयभन्दा बढी पशुचौपाया आगोले नष्ट भएका थिए।
दजाकोट खरानीबाट माथि उठेको छ। अहिले ४१ घर पूर्ण रूपमा पुनर्निर्माण गरिएको छ। त्यसवेला क्षति भएकामध्ये केही पीडित परिवार बसाइँ सरेर अन्यत्र गए भने बाँकीकाे व्यवस्था राम्राे छ।
आगोले ध्वस्त दजाकोट कैयौँ पीडाबीच अहिले पुरानै अवस्थामा फर्किएको छ। अत्यधिक हावा र गर्मीको कारण एक्कासि गाउँ पसेको आगोले घण्टा नबित्दै बस्ती खरानी बनाएकाे थियाे।
अधिकांशले शरीरको लुगाबाहेक जोगाउन पाएनन्। दजाकोट आगलागीमा घरगोठ, तीन भैँसी, १० बाख्रा र कुखुरासहितको सबै सम्पत्ति गुमाएका सोम दलार्मीलाई अहिले पनि गर्मी र हुरी सुरु भएपछि निद्रा पर्दैन।
‘संरचनाले दजाकोट पुरानै अवस्थामा फर्किए पनि मनमा शान्ति छैन। किनभने जंगल र खरबारीनजिकका बस्ती सधैँ जोखिममै हुने रहेछन्,’ उनले भने, ‘हुरी र गर्मी सुरु भएपछि निद्रा पर्दैन।’
आगलागीपछिको बर्सात र जाडो खेपेका तत्कालीन दजाकोटका अग्निपीडितले ऋणकाे भारी बोकेर भए पनि आफूहरूलाई पुरानै लयमा फर्काएको गाउँका अगुवासमेत रहेका दर्लामीले बताए।
त्यसवेला लाभग्राहीले करिब पाँच लाख अनुदान पाएका थिए। त्यो रकम पर्याप्त थिएन। दर्लामीका अनुसार आर्थिक अवस्था राम्रो हुनेले २०–२५ लाख नै थपेर घर बंगालाहरू बनाए। विपन्नहरूले पनि करिब दुई–तीन लाख ऋण काढेर काम गरेका छन्।
आगोले घरगोठ र पाइपहरू जलेपछि गाउँमा सुकेको आँत भिजाउने पानी थिएन। आफ्नैअगाडि सम्पत्ति खरानी हुँदा बेचैन नागरिकका आँखा ओभाउन महिनौँ लाग्यो। गाउँ पुग्ने राम्रो सडक थिएन। तत्कालीन समयमा गाविस र दलहरूबाहेकका संयन्त्र थिएनन्।
सरकार सजिलै राहत र पुनर्स्थापनामा उपस्थित हुने अवस्था थिएन। तर, देश–परदेशका सहयोगी मन र संस्थाहरूले दजाकोटको घाउमा राम्रोसँग मल्हम लगाए। गाउँका स्थानीयको समन्वय, आपसी भाइचारा र सदभाव अनुकरणीय थियो।
त्यही कारण पनि दजाकोटले राम्रो सहयोग प्राप्त गरेको थियो। दजाकोटका अगुवा हरि छन्तेलका अनुसार करिब दुई करोड दाताहरूबाट नगद सहयोग भएको थियो। लत्ताकपडा, खाद्यान्न र सामग्रीहरू झन् राम्रोसँग प्राप्त भए। सबै हिसाबले करिब चार–पाँच करोड सहयोग दजाकोटले प्राप्त गरेको छ।
दजाकोटमा दुःखमा मुसिकोट नगरपालिकाले पनि साथ दिएको थियो। नगरपालिकाको तर्फबाट प्रत्येक परिवारलाई एक–एक लाख सहयोग प्राप्त भएको थियो। त्यही सम्झनाका कारण दजाकोटवासी अहिले इस्माका अग्निपीडितको दुःखमा मल्हम लगाउन सहयोग जुटाएर पुगे।
तत्कालीन समयका अग्निपीडित प्रत्येकले आफूले सक्दो संकलन गरेको एक लाख ५० हजार इस्माका अग्निपीडितलाई प्रदान गरेका छन्। छन्तेलले छिमेकको पीडा हेरेर बस्न नसकेकाले स्वतस्फूर्त रूपमा सहयोग संकलन गरेर प्रदान गरिएको बताए। दजाकोटमा अहिले चिटिक्कमा एकै किसिमका घरहरू बनेका छन्।
सबैले हिजोको पीडा भुलेर पशु व्यवसायमार्फत दैनिक जीवनलाई सहज बनाइरहेका छन्। अहिले लिफ्ट खानेपानीमार्फत घरघरमा खानेपानी पुगेको छ।
अहिले सडकको पहुँच राम्रो छ। दजाकोटवासीले त्यो कहालीलाग्दो दिनकाे सम्झनामा अग्नि स्मारक निर्माण गरेर गाउँमा होमस्टे सञ्चालनको योजनासमेत बनाएका छन्।