मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ८ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ८ आइतबार १८:१६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइसिटी अवार्ड २०२३ : १४ विधामा अवार्ड, सातै प्रदेशका स्टार्टअपलाई सम्मान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ८ आइतबार १८:१६:oo

लिभिङ विथ आइसिटीले आयोजना गरेको आठौँ संस्करणको ‘अपग्राड आइसिटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभ’ शुक्रबार द सोल्टी काठमाडौंमा भव्यतासाथ सम्पन्न भएको छ।

एक दर्जन बढी प्री (इभेन्ट, ५ महिनादेखिको छनोट प्रक्रिया र एक महिनासम्म टेलिभिजन कार्यक्रमपश्चात् आयोजना भएको ग्रान्ड फिनालेमा १४ विधामा अवार्ड प्रदान गर्नुका साथै सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको छ।

७०० बढीको अनलाइन आवेदनबाट विभिन्न ५ चरणको छनोटपश्चात् विजेताहरू छनोट गर्दै अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। उक्त समारोहमा अन्तर्राष्ट्रिय अवार्डको रूपमा आयोजना भएको ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३’ को पनि विजेता घोषणासँगै पुरस्कृत गरिएको छ।

यस वर्षको पायोनियर आइसिटी अवार्ड २०२३ पहिलो इ-कमर्स सञ्चालक बालकृष्ण जोशीले प्राप्त गरेका छन्। एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छिन्। यसैगरी, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२३ एनरेनका अध्यक्ष लोचनलाल अमात्यले प्राप्त गरेका छन्। आन्टर प्रेनर्स आइसिटी अवार्ड यस वर्ष इन्फिकेयरका सिइओ अनुप शेरचनले प्राप्त गर्दा नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्राध्यापक डाक्टर सुरेश मानन्धरले प्राप्त गरे।

संस्थागत अवार्ड विधाहरूमा डिजिटल गभर्नेन्स अवार्ड यस वर्ष नेपाल स्टक एक्सचेन्ज  (नेप्से)ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गर्‍यो। डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) तनहुँको सत्यदेवी माध्यमिक विद्यालय र डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) काठमाडौंको अध्ययन स्कुलले प्राप्त गरेको छ।

स्टार्टअप र इन्नोभेसनका विधाहरूमा यस वर्ष ‘इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३’ यार्सा टेकले प्राप्त गर्‍यो भने प्रडक्ट आइसिटी अवार्ड क्युकआरपिएले प्राप्त गरेको छ। राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरले जित्न सफल भएको छ।

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ को उपाधि ‘मनीमित्र’ले जितेको छ। दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ को उपाधि भुटानको समूह मिडियाटेकले प्राप्त गरेको छ।

यसबाहेक लिभिङ विथ आइसिटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आइएफएन प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ। यसका लागि केही महिनाअगाडि सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। उनीहरूलाई काठमाडौं ल्याएर मेन्टरिङ, बुटक्याम्प, इन्डस्ट्री भिजिट गराइएको थियो।

यस वर्ष कोशी प्रदेशबाट ट्र्याक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेस्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन्।

यसैगरी, नागरिक एपले केही समयअघि प्राप्त गरेको वर्ल्ड समिट (डब्ल्युएसए) अवार्डलाई सञ्चारमन्त्री रेखा शर्माले हस्तान्तरण गरेकी थिइन्। गभर्नेन्स सिटिजन सर्भिस एप्लिकेसनको प्रतिस्पर्धामा नागरिक एपले ४० बढी देशहरूलाई पछि पार्दै डब्ल्युएसए अवार्ड प्राप्त गरेको थियो। 

आइसिटी अवार्डले विश्वका विभिन्न प्रतिष्ठित अवार्डसँग पनि सहकार्य गरेको आइसिटी अवार्डका अध्यक्ष तथा डब्ल्युएसएका नेसनल एक्सपर्ट राजन लम्सालले बताए।

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ।