प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा चौथो दिनको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बललाई एक सय ४१ रनको लक्ष्य दिएको छ।
नारायणी रंगशालामा जारी खेलमा पहिले ब्याटिङ गरेको पुलिसले ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको हो। पुलिसका ओपनर ब्याटसम्यान दिलीप नाथ यो प्रतियोगिताको पहिलो अर्धशतक बनाउने खेलाडी भएका हुन्।
उनी सशस्त्र प्रहरी बलका विरुद्ध ३८ बलमा ५६ रन बनाएर आउट भए। दिलीपले पाँच चौका र चार छक्काकाे मद्दतले अर्थशतक पूरा गरेका हुन्।
खेलमा पुलिसका सुनील धमलाले ४३ बल खेल्दै ३५ रनको योगदान गरे। अर्को खेलाडी शंकर राणा नटआउट १७ बलमा २२ रन र करण केसीले १० बलमा नाै रन बनाए।
सशस्त्रका बलर अविनाश बोहोराले तीन विकेट लिए भने रमेश कुर्मी दुई विकेट लिए। अविनाशले चार ओभरमा १२ रन दिएका हुन्। रमेशले चार ओभरमा ३९ रन दिएका हुन्।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।
सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनलमा हुनेछ।
आजै दिउँसो १ बजे हुने अर्को खेलमा त्रिभुवन आर्मी र पर्सा ११ प्रतिस्पर्धा गर्ने भएका छन्।