नेपाल–भारत दोस्रो अन्तरदेशीय (न्यु बुटवल–गोरखपुर) विद्युत् प्रसारणलाइनको भारत खण्डमा निर्माण सुरु हुन लागिसक्यो, तर नेपाल खण्डको निर्माण भने अझै अन्योलमा छ । नेपाल र भारतले संयुक्त रूपमा बनाउन लागेको भारततर्फको प्रसारणलाइनको निर्माण यही डिसेम्बरमा सुरु गर्ने तयारी छ । तर, मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)अन्तर्गत बन्ने नेपाल खण्डको प्रसारणलाइनको निर्माण भने अन्योलमा देखिएको छ ।
एमसिसी प्रसारणलाइनको पुनः टेन्डरमा भएको ढिलाइका कारण नेपाल खण्डको निर्माण अन्योलमा देखिएको हो । फलस्वरूप भारत र नेपाल खण्डको प्रसारणलाइन फरक–फरक समयमा बन्ने सम्भावना देखिएको छ । त्यो अवस्थामा आयोजनाबाट समयमै लाभ लिन नसक्ने जोखिमसमेत बढेको विज्ञहरू बताउँछन् ।
यस प्रसारणलाइनको कुल लम्बाइ एक सय ४० किलोमिटर छ । त्यसमा एक सय २० किलोमिटर खण्ड भारतमा पर्छ, जुन प्रसारणलाइन नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पाेरेसन अफ इन्डिया लिमिटेडले संयुक्त (५०–५० प्रतिशत लगानी) रूपमा निर्माण गर्दै छन् । त्यसको निर्माण यही डिसेम्बर अन्तिम साताबाट सुरु हुने प्राधिकरणका निर्देशक प्रबल अधिकारीले बताए ।
उनका अनुसार उक्त परियोजनाको वित्तीय व्यवस्थापन सम्झौता पनि अबको ६ महिनामा हुँदै छ । साथै, त्यसको निर्माणसम्बन्धी टेन्डरको मूल्यांकन अन्तिम चरणमा पुगिसकेको छ । अब छिट्टै निर्माण सुरु हुने र त्यसको साढे दुई वर्षमा आयोजना तयार हुने निर्देशक अधिकारीले बताए ।
गत १७–२० जेठ ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा यस परियोजना निर्माणको शिलान्यास भइसकेको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा यसको शिलान्यास गरेका थिए । अब डिसेम्बर अन्तिम साताबाट निर्माण सुरु हुने अधिकारीको भनाइ छ ।
नेपाल–भारत विद्युत् व्यापारका लागि यो प्रसारण लाइन निकै महत्वपूर्ण छ । चार सय केभी डबल सर्किट क्षमतामा बनाइने यो प्रसारणलाइनबाट दुई हजार मेगावाट विद्युत् आदान–प्रदान गर्न सकिनेछ । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय लाइनबाट एक हजार मेगावाट विद्युत् मात्रै आदान–प्रदान गर्न सकिन्छ । नेपाल र भारतबीच विद्युत् व्यापार बढ्दै जाँदा थप प्रसारणलाइनको आवश्यकता बढ्दै गएको छ । सोहीअनुसार यो प्रसारणलाइनको निर्माण अघि बढाइँदै छ ।
भारत खण्डको प्रसारणलाइन संयुक्त रूपमा बनाउने गरी नयाँदिल्लीमा संयुक्त स्वामित्वको कम्पनी दर्ता भइसकेको छ । त्यसमा प्राधिकरणको ४६ करोड भारु (७३ करोड ६० लाख नेपाली रुपैयाँ) सेयर छ । सोहीबराबरको सेयर भारतको पनि छ ।
यस आयोजनाको अनुमानित लागत करिब चार अर्ब ६२ करोड भारु (सात अर्ब ३९ करोड रुपैयाँ) रहेको छ । त्यसमा ८० प्रतिशत लगानी ऋणमार्फत जुटाइँदै छ । भारतकै नेतृत्वमा अहिले लगानी खोज्ने काम भइरहेको छ, सोहीअन्तर्गत ६ महिनाभित्र वित्तीय व्यवस्थापन सम्झौता हुने सूचना भारतले दिएको छ ।
यसकारण नेपाल खण्डको निर्माण अन्योल
भारत खण्डको निर्माण सुरु हुन लाग्दा नेपाल खण्डको निर्माण भने अन्योलमा छ । विशेष गरी एमसिसी प्रसारणलाइन निर्माणको पुनः टेन्डरमा ढिलाइ हँुदा यसको निर्माणमा अन्योल भएको हो । यसको निर्माणका लागि प्राधिकरणले एमसिए नेपाललाई ६ करोड ७० लाख डलर दिने सम्झौता गरिसकेको छ । विशेष गरी प्रसारणलाइन तथा सबस्टेसनमा डिजाइन थप गर्ने गरी उक्त पैसा थपिएको थियो ।
एमसिसीले योसहित तीन सय १५ किलोमिटर लामो चार प्रसारण लाइन बनाउँदै छ । त्यसको निर्माणका लागि १२ मंसिर ०७९ देखि ७ जेठ ०८० सम्म ग्लोबल टेन्डर आह्वान गरिएको थियो । तर, त्यसमा अनुमानित लागतभन्दा वित्तीय प्रस्ताव धेरै आएपछि गत असोजमा सबै टेन्डर रद्द गरिएको थियो । तर, त्यसको निर्माणका लागि अझै पुनः टेन्डर आह्वान गरिएको छैन । त्यसले गर्दा नेपाल खण्डको निर्माण अन्योलमा परेको हो ।
पुनः टेन्डर आह्वान गरेर ठेकदार छनोट गर्दा कम्तीमा नौ महिना लाग्छ । त्यसपछि ठेकदार कम्पनीले आयोजना स्थलको पुनः सर्भे गरेर प्रसारणलाइनको डिजाइन बनाउँदा डेढ वर्ष यता निर्माण सुरु हुने देखिँदैन । त्यसपछि निर्माण गर्न पनि थप समय लाग्ने देखिन्छ । त्यो अवस्थामा भारत खण्डको निर्माण छिट्टै सकिने र नेपाल खण्डको निर्माण ढिलो सकिने देखिएको छ । फलस्वरूप भारत खण्डको प्रसारणलाइन बनाएर केही समय यत्तिकै राख्नुपर्ने अवस्था आउन सक्ने विज्ञहरू बताउँछन् ।
यद्यपि, एमसिए नेपालले प्रसारणलाइन निर्माणका लागि अब छिट्टै टेन्डर आह्वान गर्ने बताएको छ । गत शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै एमसिए नेपालले अर्थ मन्त्रालय, एमसिसी र सञ्चालक समितिसँग निकटतापूर्वक काम भइरहेको बताएको छ । यता प्राधिकरणका अधिकारीहरू भने एमसिसी परियोजनामा भएको ढिलाइका कारण समस्या आउन सक्ने बताउँछन् ।
‘नेपाल खण्डको तुलनामा भारत खण्डको निर्माण छिट्टै सकिने देखिन्छ । त्यो अवस्थामा हामीले भारत खण्डको प्रसारणलाइन बनाएर केही समय होल्ड (प्रयोगविहीन) गर्नुपर्ने अवस्था आउन सक्छ,’ एक अधिकारीले भने, ‘सकेसम्म त्यस्तो अवस्था नआओस् भन्ने हामी चाहन्छौँ ।’
पूर्वसचिव देवेन्द्र कार्कीले भने यसमा आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । तर, एमसिए नेपालले समयमै परियोजना बनाउनुपर्ने उनको भनाइ छ । ‘यस परियोजनामा भारत खण्डकै काम मुख्य हो । नेपालमा जम्मा २० किलोमिटर मात्रै प्रसारणलाइन बनाउने हो । त्यसको निर्माण धेरै समय लाग्दैन । समय लाग्ने त भारत खण्डमै हो,’ उनले भने, ‘एमसिए नेपालले समयमै काम गर्न सक्यो भने समस्या आउँछजस्तो लाग्दैन ।’
प्राधिकरणले नै मागेको थियो आयोजना
एमसिसी कार्यान्वयनमा अन्योल देखिएपछि प्राधिकरणले नेपाल खण्डको प्रसारणलाइनको निर्माण आफैँले गर्न खोजेको थियो । यसका लागि प्राधिकरणले एमसिए नेपाललाई औपचारिक पत्र नै पठाएको थियो । तर, एमसिसी कार्यान्वयनमा अघि बढेपछि एमसिए नेपालले भने प्राधिकरणलाई नदिएर आफैँले नै उक्त खण्डको प्रसारणलाइन बनाउने निर्णय गरेको थियो । साथै, प्राधिकरणले पनि समयमै बन्ने आशामा एमसिएबाट उक्त आयोजना खोस्न चाहेन । तर, अहिले भने एमसिसीबाटै उक्त प्रसारणलाइन समयमा नबन्ने जोखिम बढेको छ ।