मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ४ बुधबार
  • Wednesday, 18 December, 2024
२o८o पौष ४ बुधबार o७:५३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अरुण तेस्रो बनाइरहेको भारतको ‘एसजेभिएन’ अपर कर्णालीको पनि साझेदार

एसजेभिएनलाई जिएमआरको ४९ प्रतिशत सेयर दिइने, सम्झौतापत्रमा हस्ताक्षरको तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o पौष ४ बुधबार o७:५३:oo

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा आफैँले लगानी जुटाउन नसकेपछि भारतीय कम्पनी गान्धी मालिकार्जुन राव (जिएमआर)ले भारतकै सतलज जलविद्युत् निगम (एसजेभिएन)लाई साझेदार बनाउन लागेको छ । जिएमआरले आफ्नो भागको ४९ प्रतिशत सेयर (स्टक) एसजेभिएनलाई दिएर साझेदार बनाउन लागेको हो । 

एसजेभिएन संखुवासभामा नौ सय मेगावाटको अरुण तेस्रो आयोजना बनाइरहेको भारतीय सरकारी कम्पनी हो । जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड कम्पनीले बनाउन लागेको माथिल्लो कर्णाली परियोजनाको लागत अनुमान एक खर्ब १६ अर्ब रहेको छ । त्यसमा कम्पनीले ३० प्रतिशत स्वपुँजीका रूपमा सेयर लगानी गर्नेछ । नेपाल सरकारले कम्पनीको स्वपुँजीमा २७ प्रतिशत सेयर निःशुल्क पाउनेछ । त्यसपछिको बाँकी सेयरको (७३ प्रतिशत)को ४९ प्रतिशत सेयर एसजेभिएनलाई दिने तयारी छ । 

यद्यपि, यसबारे अन्तिम टुंगो लाग्न बाँकी छ । समग्रमा जिएमआरको सेयर हिस्सा बढी हुने गरि एसजेभिएनलाई साझेदार बनाउने तयारी छ । साथै, ऋण पनि सोही अनुपातमा जुटाउने स्रोतको भनाइ छ ।लाइसेन्स लिएर पनि लामो समय लगानी जुटाउन नसकेको जिएमआरलाई सरकारले अन्तिम मौकास्वरूप ३१ असार ०७९ मा दुई वर्ष म्याद थपिएको थियो । सर्वाेच्चमा रिट परेर खेर गएको ६ महिना समायोजन गर्दा कम्पनीले पुस ०८१ भित्र आयोजनाको वित्तीय व्यवस्थापन र विद्युत् खरिद–बिक्री सम्झौता गरिसक्नुपर्नेछ । सोहीक्रममा जिएमआरले एसजेभिएनलाई साझेदार बनाउने प्रयास 
गरेको हो । 

लगानी बोर्डका एक उच्च अधिकारीले साझेदारीमा आयोजना निर्माण गर्न उक्त दुई कम्पनी सहमतिको नजिक पुगेको बताए । अब छिट्टै दुई कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर हुने उनको भनाइ छ । ‘जिएमआरले अपर कर्णालीको ४९ प्रतिशत सेयर हिस्सा दिएर एसजेभिएनलाई साझेदार बनाउँदै छ । यससम्बन्धी प्रक्रिया धेरै अघि बढिसकेको छ । उक्त दुई कम्पनी सहमतिको नजिक गइसकेका छन्,’ उनले भने, ‘अब छिट्टै यसले औपचारिकता पाउन सक्छ ।’

जिएमआरले ०६४ माघमा प्रतिस्पर्धामार्फत आयोजना हात पारेको थियो । त्यसपछि सरकारले ०६५ वैशाखमा आयोजनाको सर्वेक्षण लाइसेन्स दिएको थियो भने ०७१ असोजमा परियोजना विकास सम्झौता (पिडिए) गरेको थियो । त्यसपछि आयोजना निर्माणमा थप प्रगति भएको छैन ।

जिएमआरले अपर कर्णाली र एसजेभिएनले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना सँगसँगै पाएका थिए । एसजेभिएनले फागुन ०६४ मा अरुण तेस्रो बनाउने गरी सरकारसँग समझदारी गरेको थियो । सर्भे लाइसेन्स भने असार ०६५ मा पाएको थियो । यसरी सँगसँगै सुरु गरिएका यी दुई आयोजनामा अरुण तेस्रो निर्माणको अन्तिम चरणमा छ, त्यसको प्रगति ६५ प्रतिशतभन्दा बढी छ । तर, अपर कर्णालीमा भने अझै लगानी जुटेको छैन । एसजेभिएन सरकारी कम्पनी भएका कारण लगानी जुटाउन सहज भएको बताइन्छ । त्यो अवस्था अपर कर्णालीमा एसजेभिएनलाई साझेदार बनाउँदा लगानी जुटाउन सहज हुने सरोकारवाला बताउँछन् ।

 बंगलादेशसँग पिपिए गर्न ढिलाइ
जिएमआरले यस आयोजनाको पाँच सय मेगाावाट विद्युत् बंगलादेशमा निर्यात गर्नेछ । तर, यस सम्बन्धमा बंगलादेशसँग गर्ने भनिएको पावर सेल सम्झौता (पिएसए–पिपिए)मा पनि ढिलाइ भएको छ । यसका लागि कम्पनीले मंसिर ०७६ मै बंगलादेशबाट आशयपत्र पाइसकेको छ । साथै, पाँच मिलियन अमेरिकी डलरबराबरको पर्फमेन्स बन्डसमेत राखिएको छ । नेपाल बंगलादेश संयुक्त ऊर्जा सचिवस्तरीय बैठकमा यसबारे सहजीकरण गर्ने सहमतिसमेत भएको छ । तर, कम्पनीले अझै पिपिए गर्न सकेको छैन । कम्पनीले ०८१ पुसभित्रै बंगलादेशसँग पिपिए गरिसक्नुपर्नेछ । यसअघि ०७६ भित्रै बंगलादेशसँग पिपिए गर्ने भनिएको थियो । तर, कोरोनाका कारण यसमा ढिलाइ भएको थियो । अहिले अवस्था साम्य भए पनि यसले पूर्णता पाउन सकेको थिए । 

सरकारले यो आयोजना बनाउन जिएमआरसँग माघ ०६४ मा एमओयू गरेको थियो । त्यसपछि माघ ०६५ मा कम्पनीलाई आयोजनाको सर्भे लाइसेन्स दिइएको थियो । त्यसको ६ वर्षपछि अर्थात् ३ असोज ०७१ मा लगानी बोर्ड र जिएमआरबीच पिडिए सम्झौता भएको थियो । त्यसवेला कम्पनीलाई वित्तीय व्यवस्थापनका लागि दुई वर्ष म्याद दिएको थियो । 

तर, कम्पनीले लगानी जुटाउन नसकेपछि सरकारले ०७३ मा पहिलोपटक एक वर्षको म्याद थप गरिदियो । त्यस अवधिमा पनि लगानी नजुटेपछि ०७४ मा दोस्रोपटक एक वर्षकै म्याद थप भयो । तर, फेरि पनि लगानी जुटाउन सकेन ।दोस्रोपटकको म्याद ०७५ असारमै सकिएपछि सरकारले थप समय दिन चाहेन । जिएमआरले ०७७ पुसमा व्यावसायिक योजनासहित बोर्डमा म्याद थपको आवेदन दियो । तर, बोर्डले लगानी जुटाउने अवधि थपिदिएन । 

सरकारले यस विषयमा निर्णय गर्न ०७८ असोजमा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा सुझाव समिति बनायो । उक्त समितिले जिएमआरलाई लगानी जुटाउन म्याद थप गरिदिने सुझाव दियो । त्यसपछि मन्त्रिपरिषद्को गत ३१ असारको बैठकले लगानी जुटाउन दुई वर्ष म्याद थप गरिदिएको थियो । 

त्योअनुसार जिएमआरले ०८१ असारभित्र लगानी जुटाइसक्नुपर्ने थियो । तर, जिएमआरलाई समय थप्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्नुपर्ने मागसहित अधिवक्ता रतन भण्डारीले सर्वाेच्चमा रिट दायर गरेका थिए । त्यसमा सर्वोच्चले कात्तिक १७ गते अन्तरिम आदेश जारी गर्दै मुद्दा किनारा नलागेसम्म कार्यान्वयन प्रक्रिया यथावत् राख्न भनेको थियो । त्यसपछि परियोजना कार्यान्वयनको काम पनि रोकिएको थियो । पछि २४ वैशाखमा सर्वाेच्चले उक्त रिट खारेज गरेको थियो । त्यसपछि कम्पनीलाई काम गर्न बाटो खुला भएको थियो । 

रिट परेका कारण खेर गएको झन्डै ६ महिनाको सरकारले थपेको म्यादमा समायोजन हुनेछ, त्योअनुसार कम्पनीले पुस ०८१ भित्र आयोजनाको वित्तीय व्यवस्थापन र पिपिए गरिसक्नुपर्नेछ । आयोजनाबाट नेपालले उत्पादनको १२ प्रतिशत अर्थात् एक सय आठ मेगावाटसम्म विद्युत् निःशुल्क पाउनेछ । त्यस्तै, नेपालले एक खर्ब ५६ अर्ब रोयल्टी, ८३ अर्ब आयकर, प्रत्यक्ष रोजगारी र दुई मेगावाट ग्रामीण विद्युतीकरणसमेत प्राप्त गर्नेछ । कम्पनीले आयोजना सञ्चालनमा ल्याएको २५ वर्षपछि नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गर्नुपर्नेछ ।