१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ३ मंगलबार
  • Sunday, 29 September, 2024
२o८o पौष ३ मंगलबार o६:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ३ मंगलबार o६:५६:oo

जग्गा प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने मापदण्डसहित धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । 

स्थानीय राजपत्रमा प्रकाशित कार्यविधिअनुसार अब नगरभित्र नयाँ प्लटिङ गरिएको जग्गामा १५ सेन्टिमिटर मोटाइमा पानी, पिच गरेको १० मिटर चौडा सडक, नाला खनेको र विद्युत्का पोल राखेको हुनुपर्नेछ । धनगढीमा यसअघि जग्गा प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा ६.०९६ मिटर हुनुपर्ने मापदण्ड थियो । 

मेयर गोपाल हमालले उपमहानगरमा नयाँ बन्ने बस्ती व्यवस्थित गर्न सडकको चौडाइ बढाइएको बताए । ‘पहिले बनाएका बाटाले अहिले समस्या हुन थालेको छ । बाटो विस्तार गर्न खोज्दा अदालतमा मुद्दा हालेर काम रोकिएको छ,’ हमालले भने, ‘नयाँ बस्ने बस्ती व्यवस्थित होस् भनेर यो मापदण्ड ल्याइएको हो । दमकल, एम्बुलेन्स पनि भित्री बस्तीसम्म पुर्‍याउन सकिने गरी सडकको चौडाइ बढाइएको हो । यसले फुटपाथ व्यवस्थित बनाउन पनि सहयोग पुग्छ ।’ 

प्लटिङ गर्दा अनिवार्य रूपमा खुला ठाउँ छोडेको हुनुपर्ने व्यवस्था उपमहानगरले गरेको छ । पानी निकासको व्यवस्था गरिएको हुनुपर्ने, खोला भएको ठाउँमा प्लटिङ गर्दा खोलाबाट बस्ती जोगाउन खोलातर्फ वृक्षरोपण गरेको हुनुपर्ने, खोलातर्फ बाटो बनाउनुपर्ने पनि कार्यविधिमा तोकिएको छ । बाटोको मोडको चौडाइ बाटोभन्दा २० प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरिएको छ ।

अब धनगढीमा घडेरीको चौडाइ न्यूनतम ८.५ मिटर र लम्बाइ न्यूनतम २० मिटर हुनुपर्ने, घडेरीको क्षेत्रफल सहरी क्षेत्रमा कम्तीमा सात धुर, कृषि क्षेत्रमा दुई कट्ठा र अन्य क्षेत्रको घडेरीको क्षेत्रफल न्यूनतम १० धुर हुनुपर्नेछ । तर, पैत्रिक सम्पत्तिको अंशबन्डा र पुरानो बाटोलाई छोएको ठाउँमा गरिने कित्ताकाटमा भने नयाँ मापदण्ड लागू नहुने महानगरले जनाएको छ । 

सहरी विकास तथा भवन निर्माण मापदण्ड, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ५ को खण्ड (क)लाई आधार बनाएर जग्गा प्लटिङको नयाँ मापदण्ड कायम गर्न कार्यविधि जारी गरिएको उपमहानगरपालिकाले जनाएको छ ।