नेपाल सुपर लिगको महत्त्वपूर्ण खेलमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसीले बराबरी खेलेका छन्। बराबरी खेल्दै दुवैले एक–एक अंक बाँडेका छन्।
दशरथ रंगशालामा आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं र जारी लिगको शीर्ष स्थानमा रहेको धनगढीले एक–एक गोलको बराबरी खेलेका हुन्।
आजको खेलपछि धनगढीको ६ खेलमा १२ अंकसहित शीर्ष स्थानमै रहेको छ। काठमाडौं भने पाँच खेलबाट नौ अंक जोड्दै चौथो स्थानमा यथावत् छ।
खेलमा गोलको खाता भने धनगढीले खोलेको थियो। १५औँ मिनेटमा धनगढीका फलु डियाग्नेले क्लियर गरेको बल काठमाडौंका आन्द्रेस नियाले किपर एन्जल श्रेष्ठलाई पास दिन खोज्दा अहमद हिजाजीले चिप गर्दै बललाई जाली चुमाएका थिए।
६६औँ मिनेटमा काठमाडौंले बराबरी गोल गर्याे। तोजिदिनोभको क्रसमा किंगे ओलिभरले हेडर गोलमार्फत खेललाई एक–एकको अवस्थामा ल्याए।
आजको खेल जितेको भए धनगढी क्वालिफायर हुने थियो। तर, बराबरीपछि पनि धनगढी लिगको शीर्ष स्थानमा रहँदै क्वालिफायरको नजिक पुगेको छ।