१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

युवा गायकलाई अर्जुन पोखरेलका सुझाव

राम्रो गायक बन्नका लागि दुई कुरा महत्वपूर्ण छन्– नेचुरल ट्यालेन्ट र आफ्नो प्रतिभालाई व्यावसायिक रूपमा रूपान्तरण गर्न आवश्यक कडा मिहिनेत गर्ने गहिरो इच्छाशक्ति ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३५:oo

शिक्षा : पछिल्लो समय गीत–संगीतमा आउने केही मान्छे भाइरल भइरहेका छन् । भाइरल भएपछि बजारमा माग बढ्न थाल्छ । संगीतकारहरूले बोलाउन थाल्छन् । बजारमा चले पनि गीत–संगीतको ज्ञानचाहिँ अभाव हुन्छ । संगीत संस्कार पनि हो । तसर्थ, संगीतको औपचारिक शिक्षा लिएर आउँदा अझै राम्रो हुन्छ । कतिपयलाई बजारमा चलेपछि संगीत सिक्न जान लाज लागिरहेको देखिन्छ । त्यस्तो लाज हटाएर संगीतको शिक्षा लिनु राम्रो हुन्छ । जुनसुकै उमेरमा पनि संगीत सिक्न सकिन्छ । 

अभ्यास र प्रतिबद्धता : भोकल स्किल्समा सुधार ल्याउन निरन्तरको अभ्यास र प्रतिबद्धता जरुरी छ । त्यहीकारण आफ्नो स्वर बनाउन निरन्तर रियाज गर्नुपर्छ । संगीतमा लाग्न समर्पण चाहिन्छ । 

भावनात्मक सम्बन्ध :  गीतको शब्द र संगीतसँग गायकको भावनात्मक सम्बन्ध हुनैपर्छ । गीत–संगीतमा लाग्ने व्यक्ति साहित्यमा नजिक हुनुपर्छ । संगीतकार गीतको मर्ममा डुब्न सक्नुपर्छ । हिजोआज गीत–संगीतमा आएका कतिपयले नेपाली शब्द नै राम्ररी उच्चरण गरेको देखिँदैन । नेपाली उच्चारण पनि अंग्रेजी शैलीको हुन्छ । उनीहरूलाई नेपाली गीत गाउन मन छ, तर शुद्ध उच्चारणमा समस्या छ ।

भारतमा गायक–गायिकाको शुद्ध हिन्दी भाषा सुनिन्छ । नयाँ पुस्ताले भाषा र संस्कृतिलाई धान्नुपर्ने हुन्छ । त्यसैले, गीत–संगीतमा आउन चाहनेले भाषाको शुद्धता ख्याल गर्नुपर्छ । संगीतको स्केल, रिदम र मेलोडी बुझ्न जरुरी छ । गीतका शब्दमा डुब्न सके मात्रै प्रस्तुति राम्रो हुन्छ । 

विविधता :  गायनमा विविधता ल्याउने प्रयास गर्नुपर्छ । त्यसका लागि धेरैभन्दा धेरै विधाका गीत–संगीत सुन्नु राम्रो हुन्छ । धेरै कलाकारको स्वर सुनेपछि आफ्नै स्टाइल बनाउन पनि सहज हुन्छ । 

जीवनशैली :  आफ्नो आवाजलाई चुस्त बनाउन स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्छ । स्वरको साधना नियमित गर्नुपर्छ, पानी प्रशस्तै पिउनुपर्छ, धेरै चिल्लो–पिरो खान हुँदैन । भोकल कर्डलाई क्षति पुर्‍याउने खालका कुनै पनि खानेकुरा सेवन गर्नुहुँदैन । 

धैर्यता :  गीत–संगीतमा लाग्ने व्यक्तिमा धैर्यता आवश्यक छ । धैर्यता थिएन भने म आफैँ विदेश पलायन भइसकेको हुन्थेँ । तर, पहिले आफ्नो क्षमता कुन स्तरको छ भन्ने पहिचान गर्न सक्नुपर्छ । संगीतका गुरुले पनि समयमै सल्लाह दिनुपर्छ । गायक वा गायिका बन्न भोकल ट्युन गडगिफ्टेड हो । सिकेर मात्रै पनि हुँदैन ।

आफूमा एभरेज प्रतिभा छ भने धेरै नचल्न पनि सक्छ । यो कुराको पहिचान गुरुहरूले गरिदिनुपर्छ र समयमै सुझाव दिनुपर्छ । यही क्षेत्रमा राम्रो गर्न सकिन्छ भन्ने दृढ आत्मविश्वास छ भने मात्रै करियर अगाडि बढाउनुपर्छ । आत्मविश्वास भएकाहरूले कुनै गीत असफल हुँदैमा आत्तिनुपर्दैन । निरन्तरताले नै सफलताको  चित्र कोर्छ ।

ad
ad