मार्तडी–घटमुना सडकखण्डअन्तर्गत पर्ने बडीमालिका नगरपालिका– २ खडीगाडमा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरव सडकका रूपमा रहेको मार्तडी–घटमुनामा आइतबार ट्र्याक्टर दुर्घटना हुँदा बडीमालिका नगरपालिका– २ बस्ने ३८ वर्षका देवराज जोशी, ३३ वर्षीया करिश्मा रोकाया, ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका– ६ बस्ने ३० वर्षीय ट्र्याक्टरचालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए ।
मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु.४त ७३०५ नम्बरको ट्र्याक्टर र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्र्याक्टरचालकबीच अगाडि जाने प्रतिस्पर्धामा दुर्घटना भएको प्रहरीले जनाएको छ । लु.४त ७३०५ नम्बरको ट्र्याक्टर सडकको माथिपट्टि दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ खडीगाड खोलामा खसेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
लु.४त ७३०५ नम्बरको ट्र्याक्टर दुर्घटना भए पनि कुनै मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्र्याक्टरचालकसहित चारजनाको मृत्यु भएको उनको भनाइ छ । लु.४त ७३०५ नम्बरको ट्र्याक्टरचालक फरार रहेको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट मृतकका परिवारलाई ६–६ लाख दिने सहमति
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका प्युठानका दुई किशोरका परिवारलाई जनही ६ लाख दिने सहमति भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिबीच भएको छलफलमा क्षतिपूर्ति रकम दिने सहमति भएपछि पीडितले गरेको आन्दोलनसमेत फिर्ता भएको छ ।
तुलसीपुरबाट घोराही जाँदै गरेको रा.१क १३०७ नम्बरको टिपरले रा.२प ५५८९ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा शुक्रबार राति १०ः२० बजे ठक्कर दिँदा झिमरुक गाउँपालिका– ४ बांगेका १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका– ६ लुङका १८ वर्षीय सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो ।
दुवै पक्षबीच पीडितलाई क्षतिपूर्ति दिने, नयाँ मोटरसाइकल उपलब्ध गराउने र शवलाई प्युठानस्थित घरसम्म पु¥याइदिने सहमति भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले बताए । पीडितले आइतबार दाङमा प्रहरी प्रशासन र ट्रकधनीले छलफलको समेत बेवास्ता गरेपछि बिहानैदेखि सडक बन्द गरेका थिए । उनीहरूले एक घन्टा घोराहीमा सडक चक्काजाम गरेका थिए । सोही क्रममा प्रहरीले झिमरुक गाउँपालिकाका उपाध्यक्ष पोखरेलसहितलाई केही समय नियन्त्रणमा लिएर छलफल गराएको थियो ।