मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३० शनिबार
  • Wednesday, 18 December, 2024
२o८o मङ्सिर ३० शनिबार o९:२७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा पोलिसी सरेन्डरलाई थप कडाइ गरिँदै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ३० शनिबार o९:२७:oo

चार महिनामा सरेन्डर भयो चार अर्ब ३९ करोडको पोलिसी, सरेन्डर भ्यालु गणना गर्न प्रत्येक बिमालेखमा छुट्टाछुट्टै नीति

जीवन बिमा पोलिसी सरेन्डर (बिमालेख बन्द–त्याग) गर्ने प्रवृत्ति बढ्दै गएपछि नियामक निकाय नेपाल बिमा प्राधिकरणले त्यसलाई थप कडाइ गर्ने तयारी गरेको छ । प्राधिकरणले यसअघि चैत ०७७ मा निर्देशन जारी गर्दै बिमा पोलिसी किनेको दुई वर्षसम्म पोलिसी सरेन्डर गर्न नपाउने सीमालाई तीन वर्ष पुर्‍याउँदासमेत पोलिसी सरेन्डर बढ्ने क्रम नरोकिएपछि यसलाई थप कडाइ गर्ने तयारीमा पुगेको हो । 

बिमा सरेन्डर बढ्नुमा आर्थिक शिथिलता पनि हुन सक्छ : राजुरमण पौडेल, कार्यकारी निर्देशक, नेपाल बिमा प्राधिकरण
कतिपय अभिकर्ता तथा बिमितले रणनीतिक रूपमा पोलिसी सरेन्डर गरेको अनुमान छ । तर, अहिले पोलिसी सरेन्डर बढ्नुको मुख्य कारण वर्तमान समयमा देखिएको आर्थिक शिथिलता नै हो । यसका साथै, बिमितले क्षमताभन्दा बढीको बिमा गर्नेलगायत कारण पनि यस्तो समस्या आएको हुन सक्छ ।

अहिले सरेन्डर भ्यालु गणना गर्दा सबै बिमालेखमा एउटै सूत्र प्रयोग हुने गरेको छ । तर, अब पोलिसीअनुसार फरक–फरक सूत्र लगाएर सरेन्डर भ्यालु निकाल्ने नीति ल्याउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । यसका अलावा नियतवश गरिने पोलिसी सरेन्डरलाई न्यूनीकरण गर्न के–के गर्नुपर्छ भन्ने विषयमा पनि थप अध्ययन भइरहेको उनको भनाइ छ । उनले भने, ‘त्यसलाई के–कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौँ । यसलाई छिट्टै टुंगोमा पुर्‍याउनेछौँ ।’

अहिले भारतलगायतका थुप्रै देशमा पोलिसी सरेन्डर गर्दा सरेन्डर भ्यालु निकाल्न छुट्टाछुट्टै सूत्र प्रयोग गरिन्छ । नेपालमा भने सबै पोलिसीमा एउटै सूत्र प्रयोग गरेर सरेन्डर भ्यालु निकाल्ने गरिन्छ । सोही कमजोरीमा टेकेर कतिपय अभिकर्ता र बिमितहरूले योजनाबद्ध रूपमा पोलिसी सरेन्डर गरेर फाइदा उठाउने गरेको प्राधिकरणको आशंका छ । 

अभिकर्ता र बिमित मिलेर निश्चित समयसम्म एउटा कम्पनीमा बिमा गर्ने र योजनाबद्ध रूपमा निश्चित समयपछि अर्थात् बिमा अवधि नसकिँदै पोलिसी सरेन्डर गरेर अर्काे कम्पनीमा बिमा गर्ने प्रवृत्ति रहेको आशंका गरिएको छ । सरेन्डर भ्यालु निकाल्न सबै पोलिसीमा एउटै सूत्र हुँदा अभिकर्ता तथा बिमितले कुन वेला पोलिसी सरेन्डर गर्दा कति पैसा आउँछ र कति फाइदा हुन्छ भन्ने कुरा सहजै पत्ता लगाउन सक्छन् । साथै, बिमा गराउँदा बिमा अभिकर्ताले सुरुको केही वर्ष बढी कमिसन पाउँछन् । त्यसअनुसार उनीहरूलाई सरेन्डर गराउँदै पुनः बिमा गराउँदा धेरै फाइदा हुन्छ । यी यस्ता कारण अस्वाभाविक रूपमा पोलिसी सरेन्डर हुने गरेको बताइन्छ । 

अहिले यस्ता प्रवृत्तिबारे पनि अध्ययन गर्ने तयारी गरेको कार्यकारी निर्देशक पौडेल बताउँछन् । ‘अहिले कस्ता व्यक्तिहरूले बिमा पोलिसी सरेन्डर गरेका छन् । उनीहरूले पोलिसी सरेन्डर गरेर पुनः बिमा गरेका छन् कि छैनन् । यी यस्ता प्रवृत्तिबारे पनि अध्ययन गर्दै छौँ,’ उनले भने, ‘कतिपयले साँच्चै समस्या परेर पोलिसी सरेन्डर गरेका हुन सक्छन् । तर, योजनाबद्ध रूपमा गरिने पोलिसी सरेन्डरलाई भने न्यूनीकरण गर्ने तयारी गरेका छौँ ।’

चार महिनाको अवधिमा २०.२४ प्रतिशतले बढ्यो पोलिसी सरेन्डर
चालू आर्थिक वर्ष ०८०/८१ को चार महिनामा जीवन बिमा पोलिसी सरेन्डर २०.२४ प्रतिशतले बढेको छ । संख्याका आधारमा गत आवको पहिलो चार महिनामा २९ हजार दुई सय ८३ वटा पोलिसी सरेन्डर भएका थिए । तर, यसपालि ३५ हजार दुई सय ११ वटा पोलिसी सरेन्डर भएका छन् । रकमका आधारमा भने पोलिसी सरेन्डर ५ प्रतिशतले बढेको छ । गत आवको पहिलो चार महिनामा चार अर्ब १९ करोड ४२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएकोमा यसपालि चार अर्ब ३९ करोड ८१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । 

जीवन बिमा व्यवसायमा झन्डै १० प्रतिशत रकम सरेन्डरमार्फत बाहिरिने गरेको छ । समीक्षा अवधिमा जीवन बिमामा ४९ अर्ब ४४ करोड ११ लाख रुपैयाँको जीवन बिमा व्यवसाय भएको छ, त्यसको ९ प्रतिशतबराबरको रकम सरेन्डरमार्फत बाहिरिएको देखिन्छ । चालू आवमा साउनमा एक अर्ब २८ करोड ३३ लाख रुपैयाँबराबरको नौ हजार सात सय ९८ वटा पोलिसी सरेन्डर भएका छन् । यसैगरी, भदौमा एक अर्ब १८ करोड २० लाखबराबरको नौ हजार तीन सय ८६ वटा, असोजमा एक अर्ब १८ करोड २९ लाखबराबरको नौ हजार नौ सय ३६ वटा र कात्तिकमा ७४ करोड ९८ लाखबराबरको ६ हजार ९१ वटा पोलिसी सरेन्डर भएका छन् ।

आममानिसले निश्चित अवधि तोकेर जीवन बिमा गर्ने गर्छन् । बिमा कम्पनीले पनि सोही अवधिभर नै सम्बन्धित बिमितको जोखिम कभर गर्छ । तर, उक्त अवधि नसकिँदै बिमितहरूले पोलिसी बन्द (सरेन्डर) गरेर आफूले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, जुन प्रवृत्ति पछिल्लो समय बढ्दै गएको कम्पनीहरू बताउँछन् । पोलिसी सरेन्डर गर्दा बिमितले तिरेको बिमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बिमितलाई भुक्तानी गरिन्छ । त्यसपछि पोलिसी बन्द हुनेछ । 

विशेष गरी पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बिमालेख सरेन्डर बढ्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक पौडेल बताउँछन् । पछिल्लो समय आर्थिक संकटका कारण आममानिसमा आम्दानी प्रभावित भएको छ । बजार महँगी बढेको छ भने क्रयशक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसले बिमालेख नवीकरण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक समस्या समाधान गर्न बिमालेख सरेन्डर गरेर पैसा लिने गरेको उनको भनाइ छ । 

चार महिनामा ६२.१८ अर्ब बिमाशुल्क संकलन
समीक्षा अवधिमा १४–१४ वटा जीवन तथा निर्जीवन बिमा कम्पनीले ६२ अर्ब १८ करोड ८३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्, त्यो गत आवको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिमा ५९ अर्ब ३७ करोड रुपैयाँबराबरको बिमाशुल्क संकलन भएको थियो । 

समीक्षा अवधिमा जीवन बिमा व्यवसाय ७.४५ प्रतिशतले बढेको छ । गत आवको चार महिनामा ४६ अर्ब एक करोड १५ लाखबराबरको जीवन बिमाशुल्क संकलन भएको थियो । यसपालि त्यो ४९ अर्ब ४४ करोड ११ लाख पुगेको छ । निर्जीवन बिमा व्यवसायमा भने ४.५८ प्रतिशतको गिरावट देखिएको छ । गत आवको समीक्षा अवधिमा १३ अर्ब ३५ करोडबराबरको निर्जीवन बिमाशुल्क संकलन भएको थियो, यसपालि त्यो १२ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ ।