कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण सम्पत्ति शुद्धीकरणको अभियोगमा १५ लाख रुपैयाँ धरौटी बझाएर रिहा भएका छन् ।
अदालतले कायम गरेको कुल धरौटीको आधा धरौटी कायम गरेर उनलाई धरौटीमा रिहा गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले जानकारी दिए ।
त्यसका लागि खाण आज दिउँसो विभागमा हाजिर भएका थिए । त्यसक्रममा उनले नबिल बैंकको १५ लाख बैंक ग्यारेन्टी राखेको महानिर्देशक शाहीले बताए ।
विभागले खाणलाई १५ माघमा तारिखमा बोलाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न प्रहरीले विभागमा लेखेर पठाएको थियो ।
यसअघि खाणले आजै जिल्ला अदालत काठमाडौंमा ३० लाख रुपैयाँ बैंक धरौटी बुझाएका थिए । नक्कली शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका खाण उच्च अदालतको आदेशमा धरौटीमा छुटेका हुन् ।