१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले सांसद लक्ष्मी कोइरीले पाए सफाइ, प्रदेश सांसद शर्मासहित सातजनालाई जन्मकैदको फैसला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:५९:oo

तेस्रो मधेश आन्दोलनको समय हत्या गरिएका सशस्त्र प्रहरीका असइ थमन विकको हत्या मुद्दामा सातजनालाई जन्मकैदको फैसला सुनाइएकाे छ भने साेही मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। 

आज जिल्ला अदालत महोत्तरीले फैसला सुनाउँदै हाल पुर्पक्षमा रहेका प्रदीप साह माझी र सञ्जयकुमार साहसहित मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख शंकर शाही भन्ने रामशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको हो। 

सोही मुद्दामा संघीय संसदबाट निलम्बित लक्ष्मी महतो कोइरी र पुर्पक्षको लागि थुनामा रहेका पवन कापरलाई अदालतले सफाइ दिएको छ।

जन्मकैदको सजाय तोकिएका सातजनालाई एम्बुलेन्समा आगलागी गरेको अर्को मुद्दामा मुलुकी ऐनअन्तर्गत आगो लगाउनेको महलको ४ नम्बरको कसुरबमोजिम थप ६ महिना कैद र १० लाख क्षतिपूर्तिको फैसला सुनाएको छ। 

उक्त क्षतिपूर्तिको रकम सरकारलाई बुझाउनुपर्ने फैसला गरिएको श्रेस्तेदार नूतन शर्माले बताइन्। जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले सो फैसला गरेको हो।
 
गत २५ मंसिरदेखि जारी सुनुवाइको आज फैसला आएको हो। सोही मुद्दामा अदालतले रमेशप्रसाद साह, सतेन्द्र चौधरी भन्ने सबिन्द्र चौधरी, चन्देश्वर साह मेहत्तरी, राजु चौधरी भन्ने राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, रामराजा साह, गोलु साह हरिओमकुमार भगत, रवीन्द्र राम चमार, रंजित साह, बिकी साह, फुले यादव, रोहितकुमार शर्मा, ललवा भन्ने लालबाबु बिन, शम्भु साह, अनिल ठाकुर, देवेन्द्र यादव र कौशलकुमार यादवको हकमा मुद्दा मुलतवीमा राखेको छ। वादीको तर्फबाट कर्तव्य ज्यान मुद्दामा २८ जनाविरुद्ध जाहेरी दिइएको थियो। 

यस्तो थियो घटना : 

मधेश आन्दोलनको क्रममा २०७२ साल भाद्र २५ गते बिहान जलेश्वरमा केही व्यक्तिहरूले सशस्त्रका असइ थमन विकलाई कुटपिट गरी घाइते बनाएका थिए। उनको उद्धार गरी जलेश्वर अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि जनकपुर लग्ने क्रममा महोत्तरी गाउँपालिकाको सोनुसडास्थित धानखेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 

मृतक असइ थमन विक कि श्रीमती शोभा गहतराजको तर्फबाट थमन विकका दाजु प्रेम विकको जाहेरीले नेपाल सरकारका तर्फबाट मुद्दा दायर गरिएको थियो।

ad
ad