१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

धुर्वेहात्ती तेस्रोपटक स्याटेलाइटको निगरानीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:४३:oo

४२ वर्षमाथिको हात्ती धुव्रेले अहिलेसम्म २२ जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जकोे अनुमान

मानव बस्तीमा पसेर उत्पात मच्चाउने गरेको जंगली हात्ती धुर्वेलाई ‘रेडियो कलर’ लगाएर निगरानी थालिएको छ । मत्ता हात्ती धुर्वेलाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, नेपाली सेना, भेटेरिनरी प्राविधिक टिमको संयुक्त टोलीले एक महिनाको प्रयासपछि सोमबार ‘डार्ट’ गरी बेहोस बनाइएर घाँटीमा जिपिएस प्रविधिसहितको ‘रेडियो कलर’ लगाएकोहो ।

टोलीले हात्तीका ठूला दुइटै दाह्रा पनि काटेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।‘रेडियो कलर’ जडान गरेपछि हात्ती कहाँ छ र के गर्दै छ भन्ने विषयमा निकुञ्जले सहज रूपमा निगरानी गर्न सक्नेछ । ‘अरू हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई ‘रेडियो कलर’ जडान निकै कठिन भयो,’ तिवारीले भने, ‘पोथी हात्तीलाई प्रयोग गरेर हामीले धुव्रेलाई सुकिभार क्षेत्रको खुला चौर ल्याएर बेहोस बनाई ‘रेडियो कलर’ जडान गरेका हौँ ।’ 

हात्तीले बस्तीमा पसेर घरगोठ भत्काउने, थन्काएर राखेको अन्नबाली नष्ट गर्नेजस्ता गतिविधि गर्दै आएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्ज कसराका अध्यक्ष प्रकाश ढुंगानाले बताए । ‘रेडियो कलर जडान गरेसँगै बस्ती पस्न लागेको भए जनतालाई सूचना दिन र वेलैमा भगाउन टोली परिचालित गर्न पनि सजिलो हुनेछ,’ उनले भने । धुव्रेहात्तीको शरीरमा ‘रेडियो कलर’ तेस्रोपटक जडान गरिएको हो । पहिलोपटक ०६९ र दोस्रोपटक ०७७ मा जडान गरिएको थियो । घाँटीमा पेटी बनेकोझैँ राखिने यो कलर कति समयसम्म हुन्छ भन्ने वन्यजन्तुको व्यवहारमा भर पर्छ । हात्तीले घाँटीको भाग रूख वा ठोस चिजमा रगेट्दा, आपसमा जुद्धा वा पुरानो भएर खस्ने गर्छ ।

कुनै समय चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले धुव्रेहात्ती मार्न ६० भन्दा बढी राउन्ड गोली प्रहार गरेका थिए । हिंस्रक वन्यजन्तुलाई गरिएको यो सबैभन्दा ठूलो कारबाही हो । ०६९ पुसतिर गोली हानिए पनि कति गोली उछिट्टिए, कति गोली हात्तीको शरीरमा लागे त्यसको आधिकारिक तथ्यांक छैन । जानकारहरू धुर्वेलाई कम्तीमा पनि २०–२२ वटा गोली लागेको अनुमान गर्छन् । सो समयमा ध्रुवेलाई मार्ने आदेश थियो । गोली प्रहारपछि अचानक हराएपछि धुव्रे जोगिएको थियो । धुर्वेको नियन्त्रणका लागि राज्यको लाखौँ रुपैयाँ खर्च गरिसकेको छ । ४२ वर्षमाथिको हात्ती धुव्रेले अहिलेसम्म २२ जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जकोे अनुमान छ । 

ad
ad