एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ। पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाल आइतबार अफगानिस्तानसँग पराजित भएको हो।
युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा दुई सय ६१ रनको विशाल लक्ष्य दिएकाे थियाे।
जवाफी ब्याटिङ गरेको नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाउँदा क्याप्टेन देव खनाल २४, गुल्सन झा १७, दीपक बोहोरा १५ र दीपेश कँडेल ११ रन बनाएर आउट भए। नेपालका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
अफगानिस्तानका फरिदुन दाउद्दजाई र नसिर खान मरुफखिलले समान तीन–तीन विकेट लिए। मोहम्मद युनिसले दुई तथा बहिदुल्लाह जद्रान र खलेल अहमदले समान एक–एक विकेट लिए।
पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि जमसिद जद्रानले शतकीय इनिङ खेलेका थिए। एक सय ५२ बल खेलेका उनले टिमका लागि सर्वाधिक १०६ रन बनाए। ब्याटिङ गर्ने क्रममा बलले खुट्टामा लागेर घाइते भएपछि उनी मैदानबाट बाहिरिएका थिए।
अफगानिस्तानका नुमन साहले ६०, रहिमुल्लाह जुरमतिले ३५, बफिउल्लाह तरखिलले १५, खलेल अहमदले १३ र खलिद तनिवालले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुल्सन झाले समान दुई–दुई विकेट लिँदा आकाश चन्द र दीपेश कँडेलले समान १–१ विकेट लिए।