१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Wednesday, 03 July, 2024
कमलराज भट्ट काठमाडाैं
२o८o मङ्सिर २४ आइतबार १o:o६:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कानुन निर्माणमा प्रदेशहरूको कछुवा गति 

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार १o:o६:oo

सत्ता राजनीतिको खेलमैदान हुँदा प्रदेश सभाहरूबाट संघीयता कार्यान्वयनका लागि अत्यावश्यक कानुनसमेत बन्न सकेनन्

संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएपछि कार्यान्वयनमा आएको प्रदेश सभा कानुन निर्माणमा कमजोर पाइएको छ । संसदीय अध्ययनमा प्रदेश सभाहरूले आवश्यक कानुन बनाउन सकेका छैनन् । 

काशीराज दाहाल, विषयविज्ञ प्रदेश सभाहरूको समीक्षात्मक प्रतिवेदन कार्यदल
पूर्वाधार अभाव, विज्ञ र अनुभवी जनशक्तिको कमीले प्रदेशको आवश्यकताअनुसार बनाउनुपर्ने कानुनहरूलाई प्राथमिकीकरण गर्न सकेको देखिएन । संघीय प्रणालीमा प्रादेशिक कानुन आवश्यक पर्नेमा संघले जे–जे कानुन बनायो, त्यही किसिमका कानुनहरू निर्माण गरेको देखियो । अर्काे, कानुन धेरै बनाउनुपर्छ भन्ने होडबाजीले कतिपय कानुन नै बनाउन नहुने कानुन पनि बनेको पाइयो । जुन लागू नै भएनन् ।

पहिलो र दोस्रो कार्यकालमा प्रदेश सभाहरूको विधायिकी कार्य सन्तोषजनक छैन । सत्ता राजनीतिको खेलमैदान हुँदा प्रदेश सभाहरूबाट संघीय कार्यान्वयनका लागि अत्यावश्यक कानुनहरूसमेत बन्न नसकेको अध्ययनले देखाएको छ । तर, सरकार गठन विघटनमा प्रदेश सभाहरू अगाडि देखिए । केन्द्रको समीकरणबाट प्रत्यक्ष प्रभावित भइरहेका प्रदेशहरूमा मन्त्रिपरिषद्ले लामो समयसम्म पूर्णता नपाउने समस्या पनि देखिएको छ । समीकरण फेरिएसँगै मुख्यमन्त्री, प्रदेश प्रमुख र प्रदेश सभामुख पनि फेरिने गरेका छन् । प्रदेशहरूमा मन्त्रिपरिषद् हेरफेर भैरहे । 

प्रगति विवरण हेर्दा दोस्रो कार्यकालको सुरुवाती १० महिनामा प्रदेश सभाहरूले विधायिकी कार्य सन्तोषजनक गरेका छैनन् । ४ मंसिर ०७९ को चुनावअघि सम्पन्न पाँचवर्षे पहिलो कार्यकालमा प्रदेश सभाहरूले आवश्यक कानुन बनाउन नसकेको संसदीय अध्ययनमा पाइएको छ । संविधान निर्माणको दुई वर्षमा गठन भएका सातवटा प्रदेश सभाहरूको पहिलो अधिवेशन ०७४ माघबाट सुरु भएको थियो । दोस्रो कार्यकालको सुरुवाती समय पनि कानुन निर्माणको सवालमा सुस्त छ । तर, यहीबीचमा प्रदेश सभालाई सत्ता दाउपेचको थलो बनाइएको छ, सरकार गठन विघटनको खेल जारी रह्यो । 

संघीय संसद् सचिवालयको ‘संघीय संसद् तथा प्रदेश सभाहरूको समीक्षात्मक प्रतिवेदन’अनुसार ५ वर्षको अवधिमा ७ वटै प्रदेश सभाबाट करिब ३५० ऐन जारी भएका छन् । कोशी ६२, मधेश ५५, बागमती ७०, गण्डकी ५९, लुम्बिनी ७२, कर्णाली ५३ र सुदूरपश्चिम प्रदेशले ६७ वटा ऐन बनाएको छ । प्रदेशले बनाएका ऐन कानुनमा कतिपय संघीय सरकारले बनाएका कानुनको छायाँकपीजस्तो र केही प्राथमिकतामा नभई असान्दर्भिक देखिएका छन् । साथै, बनाएका कतिपय ऐन कार्यान्वयनमै आएको छैन । 

अध्ययनअनुसार प्रदेश सभाहरूले संघीयताको मर्मअनुरूप ऐन निर्माणको प्राथमिकीकरण गर्न नसकेकोजस्तो देखिएको छ । निजी विधेयक पेस गर्ने अधिकार प्रदेश सभा सदस्यलाई भए पनि त्यसतर्फ सक्रियतापूर्वक पहल भएको देखिँदैन । 

प्रदेश सभा सचिवालयहरूका अनुसार ४ मंसिरको निर्वाचनपछि सुरु भएको दोस्रो कार्यकालको पछिल्लो १० महिनामा विधायिकी कार्यले गति लिएको देखिँदैन । कोशी र मधेशले एउटा पनि कानुन बनाएको छैन । बागमती ४, गण्डकी २, लुम्बिनी ३, कर्णाली ३ र सुदूरपश्चिमले ४ वटा कानुन बनाएको छ । 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन’अनुसार प्रदेश सभाहरूले संविधानअनुसार मात्रै २४ वटा कानुन बनाउनुपर्छ । तीमध्ये  प्रदेश कानुनबमोजिम प्रदेशस्तरमा राष्ट्रभाषा तोक्ने विषय, स्थानीयस्तरमा न्यायिक निकाय स्थापना गर्ने विषय, प्रदेशमा प्रशासन सञ्चालनका लागि सरकारी सेवाको गठन र सञ्चालनजस्ता विषयहरू तुलनात्मक रूपमा बढी महŒवपूर्ण प्रकृतिका र संघबाटै मापदण्ड तयार गरिनुपर्ने प्रकृतिका छन् । तर, यी कानुन उल्लेख्य मात्रामा बन्न सकेका छैनन् । कतिपय कानुन संघसँग अन्तरसम्बन्धित भएको र संघले नै नबनाएकाले प्रदेश सभाले अगाडि बढाउन सकेका छैनन् । 

संघीय संसद्ले नै संघीयता कार्यान्वयनका विषयसँग सम्बन्धित कानुनहरू संविधान जारी भएको ८ वर्ष पूरा भइसक्दा पनि बनाएको छैन । संघीयता कार्यान्वयनका लागि तीनवटै तहमा जनशक्तिको व्यवस्था गर्नुपर्ने विषयसँग सम्बन्धित संघीय निजामती सेवा ऐन र सरकारी सेवा सञ्चालनसम्बन्धी कानुनहरू जारी भएका छैनन् ।

संघीय निजामती सेवा कानुन जारी हुन नसकेका कारण सरकारी सेवाको गठन एवं सञ्चालनसँग जोडिएका संघीय न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका सर्तसम्बन्धी विषय, प्रदेश न्याय सेवा आयोगको गठन र प्रदेश न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका सर्तसम्बन्धी विषय, सरकारी वकिल तथा महान्यायाधिवक्ताको मातहतमा रहने अन्य कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका सर्तसम्बन्धी विषयमा कानुन बन्न सकेका छैनन् । 

त्यसैगरी, प्रदेश सभा सचिवालयको स्थापना तथा अन्य व्यवस्था, प्रदेश सरकारी सेवाको गठन सम्बन्धमा बन्ने प्रदेश कानुन बनाउँदा र स्थानीय सेवाको गठनसम्बन्धी कानुन निर्माण गर्दासमेत संघीय निजामती ऐनलाई आधार मान्न सकिने अवस्था देखिए तापनि संघमा एउटा कानुन नबनेका कारण आधा दर्जनभन्दा बढी कानुनको निर्माण कार्य प्रभावित भएको प्रतिवेदनको निष्कर्ष छ । 

यसैगरी, संघमा शिक्षासम्बन्धी कानुन नबनेका कारण प्रदेश र स्थानीयस्तरमा समेत त्यससँग सम्बन्धित कानुनहरू बन्न सकेका छैनन् । संघीयता कार्यान्वयनको मूल आधारका रूपमा रहेका निजामती, शिक्षा, प्रहरीजस्ता कानुनहरू पुरानै संरचनामा तयार गरिएका र २०७२ मा संविधान जारी भएपश्चात् शाब्दिक परिवर्तन गरिए तापनि त्यस्ता कानुनको अन्तर्वस्तु संविधानको मर्मअनुकूल नहुँदा प्रदेशलाई पनि समस्या परिरहेको प्रतिवेदनले देखाएको छ । संघसँग अन्तर सम्बन्धितबाहेक प्रदेश सभाले संघीयता कार्यान्वयनसम्बन्धी केही कानुन बनाएका छन् । प्रदेश सभाहरूको समीक्षात्मक प्रतिवेदनअनुसार कोशीले संघीयतालाई प्रत्यक्ष कार्यान्वयन गर्ने १२, मधेशले १०, बागमतीले २९, गण्डकी, लुम्बिनीले ३, कर्णाली  र सुदूरपश्चिमले कानुन बनाएको थियो । 

‘संविधानले तोकेका साझा अधिकारका कतिपय विषयमा समयमै संघीय संसद्ले कानुन बनाउन नसक्दा प्रदेश र स्थानीय तहले समग्रमा साझा अधिकारको विषय कार्यान्वयन गर्न सकिरहेको अवस्था छैन । साझा अधिकारको विषयमा संघले कानुन बनाउन ढिला गरेको अवस्थामा प्रदेश र स्थानीय तहले आवश्यक कानुन बनाउन सक्ने सिद्धान्तलाई संघीय संसद्ले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ ले स्वीकार गरेको भए पनि व्यवहारमा यसलाई अझ पनि सबै प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न सक्रिय भएको अवस्था छैन,’ प्रतिवेदनमा छ । 

प्रदेशमा कर लगाउने विषय, प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने कुराको निर्धारणसम्बन्धी विषय, प्रदेश आकस्मिक कोषको स्थापनासम्बन्धी विषय, विनियोजित रकम रकमान्तर गर्ने र आर्थिक कार्यविधिसम्बन्धी विषय, जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभासम्बन्धी अन्य व्यवस्थासम्बन्धी विषय, स्थानीय तहले कानुन बनाउने प्रक्रियासम्बन्धी विषय प्रदेशस्तरमै बन्ने कानुन हुन् । प्रदेश सभा सञ्चालनसम्बन्धी कानुन बने पनि अधिकार बाँडफाँटसम्बन्धी कानुन बन्न नसकेको संविधानविद् एवं प्रदेश सभाहरूको समीक्षात्मक प्रतिवेदन कार्यदलका विषयविज्ञ काशीराज दाहाल बताउँछन् ।  

प्रतिवेदनले औँल्याएअनुसार संविधानको मर्म र व्यवस्थाअनुरूप संघीयताको सन्दर्भमा अझै पनि समाधान हुन नसकेका विषयहरूले कानुन निर्माणमा चुनौती थपेको छ । यसमा प्रदेशमा प्रहरी समायोजनको विषय, ढुंगा गिटी, बालुवालगायत प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्कको बाँडफाँटको विषय, करसँग सम्बन्धित केही विषयहरू, प्रदेश र स्थानीय तहले भौतिक संरचनाहरू निर्माण गर्न आवश्यक पर्ने जग्गाको उपलब्धताको विषय, जनशक्तिको व्यवस्थापन, वन व्यवस्थापन, भू–उपयोग र गुठी व्यवस्थापनसम्बन्धी विषयहरू छन् । लुम्बिनी प्रदेश सभाका पूर्वसभामुख एवं हाल संघीय सांसद पूर्णबहादुर घर्ती दोस्रो कार्यकालमा प्रदेश सभाहरूमा अपेक्षाकृत कानुन बन्न नसकेको बताउँछन् । उनी प्रशासनिक संघीयता नहुँदा समस्या रहेको बताउँछन् । 

दोस्रो कार्यकालमा कानुन निर्माणको अवस्था 

कोशी : ४ मंसिरको निर्वाचनपछि आएको कोशी प्रदेश सभाले एउटा पनि कानुन बनाएको छैन । ९४ सदस्यीय प्रदेश सभाको १० महिने अवधिमा दुइटा विधेयक पेस भएकोमा छलफलकै चरणमा छन् । समितिहरू गठन हुन सकेका छैनन् । दोस्रो कार्यकालमा सत्ता दाउपेचको मैदान बनेको प्रदेश सभाले पहिलो कार्यकालमा ६२ कानुन बनाएको थियो । जसमा संघीयतालाई प्रत्यक्ष कार्यान्वयन गर्ने १२ वटा छन् ।  

मधेश : दोस्रो कार्यकालको १० महिनामा मधेश प्रदेश सभामा ५ वटा विधेयक दर्ता भएका छन् । तर, एउटै पनि प्रमाणीकरण भएर कानुन बन्न सकेको छैन । १०७ सदस्यीय सभाबाट एउटा विधेयक पनि पारित भएको छैन । तीनवटा विधेयक सभामा प्रस्तुत भएर सामान्य छलफलको चरणमा छन् भने दुइटा विधेयक दर्ता भएको पाँच महिनामा पनि सभामा प्रस्तुत हुन सकेको छैन । पहिलो कार्यकालमा ५५ कानुन बनाएकोमा १० वटा प्रत्यक्ष संघीयता कार्यान्वयन गर्नेसम्बन्धी छन् । 

बागमती : कानुन निर्माणमा बागमती प्रदेश सभा अगाडि देखिएको छ । ११० सदस्यीय सभाले दोस्रो कार्यकालमा बजेटसहित १४ विधेयक दर्ता भएकोमा चारवटा कानुन बनाएको छ । जसमा दुइटा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण भएका छन् । ६ वटा विधेयक सदनबाट पारित भइसकेको छ । चारवटा विचाराधीन छन् । बागमतीले पहिलो कार्यकालमा ७० कानुन बनाएकोमा संघीयता कार्यान्वयन गर्ने २९ वटा छन् । 

गण्डकी : ६० सदस्यीय गण्डकी प्रदेश सभामा बजेटसहित ७ वटा विधेयक दर्ता भएकामा दुइटा प्रमाणीकरण भई कानुन बनेको छ । पहिलो कार्यकालमा ५९ वटा कानुन बनाएको थियो । 

लुम्बिनी : ८७ सदस्यीय लुम्बिनी प्रदेश सभाले सात विधेयक दर्ता भएकामा बजेटसहित तीनवटा कानुन बनाएको छ । पहिलो कार्यकालमा ७२ कानुन बनाएको थियो, जसमा संघीयता कार्यान्वयनसम्बन्धी ३ वटा छन् । 

कर्णाली : ४० सदस्यीय कर्णाली प्रदेश सभामा ७ विधेयक दर्ता भएकोमा तीनवटा कानुन बनेका छन् । पहिलो कार्यकालमा कर्णालीले ५३ कानुन बनाएको थियो । 

सुदूरपश्चिम : ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बजेटसहित चार विधेयक दर्ता भएकामा चारवटै पारित भएर कानुन बनेको छ । अहिले नयाँ विधेयक दर्ता भएको छैन । पहिलो कार्यकालमा सुदूरपश्चिमले ६७ कानुन बनाएको थियो । 

ad
ad
ad
ad