कांग्रेस मधेश प्रदेश सम्मेलन अगामी ५ र ६ पुसमा गरिने निर्णय भएको छ । कांग्रेस मधेश प्रदेशका सभापति तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षमा मंगलबार बसेको पूर्ण बैठकले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ ।
प्रदेश सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउन आवश्यकताअनुसार उपसमिति गठन गरिने बैठकले निर्णय गरेको छ । वडादेखि जिल्ला तहसम्म सम्मेलन गर्न बाँकी रहेका तहहरूलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको कांग्रेस मधेश प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । सम्मेलनमा मधेश प्रदेशको राजनीतिक, सांगठनिक, आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरू गठन गरिने निर्णय भएको उनको भनाइ छ ।