जाडो मौसममा विभिन्न कारणले प्रदूषण बढ्ने हुनाले भाइरल संक्रमणको जोखिम बढी हुन्छ । जसले गर्दा यतिवेला दम र एलर्जीको समस्या देखिन्छ । छातीको समस्या भएका व्यक्तिमा रोग बढेर जाने जोखिम रहन्छ । धेरैजसो बालबालिकालाई एलर्जी–दम हुने गरेको पाइन्छ । विशेषगरी सहरी क्षेत्रका बालबालिकालाई यस्तो समस्या देखिने गरेको छ । झन्डै ९० प्रतिशत बालबालिकामा दम हुनुको कारण एलर्जी हो । एलर्जी भर्खर जन्मिएको बच्चामा पनि देखिन सक्छ ।
कारण
- घाम नदेखिने कोठा, स्थान वा ओसिलो कोठामा बस्दा ढुसीको कारणले एलर्जी दम हुन सक्छ । घरमा साङ्ला छ भने पनि बच्चामा एलर्जी देखिन सक्छ । धेरै अगरबत्ती बाल्दा पनि त्यसको धुवाँले एलर्जी हुन सक्छ । खानाको रागले पनि एलर्जी हुन्छ ।
- एसीको अत्यधिक प्रयोगले गर्दा पनि एलर्जी हुन्छ । बाह्य वातावरणले पनि एलर्जीको जोखिम निम्त्याउँछ ।
- एलर्जी दमको मुख्य कारण वंशाणुगत र वातावरणीय प्रभाव हो । आमा–बुबालाई दम भएमा छोराछोरीमा यसको लक्षण देखिन सक्छ ।
- गर्भवती अवस्थामा आमाको अव्यवस्थित जीवनशैली र अस्वस्थकर खानपान, धूम्रपान आदिका कारण बच्चामा एलर्जीको जोखिम रहन्छ । जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले पनि समस्या देखिन सक्छ ।
लक्षण
- लामो समयसम्म खोकी लागिरहने । खोकी बल्झिरहने । मौसम परिवर्तन र रातको समयमा धेरै खोकी लाग्ने ।
- छाती घ्यारघ्यार हुने ।
- हाच्छ्युँ आउने, नाकबाट सिँगान बग्ने, नाकको एलर्जी हुँदा पनि आँखा चिलाउने ।
- बच्चा खेल्दा, दौडँदा छिटो थकान महसुस हुने ।
- अस्पतालमा औषधि दिँदा वा बाफ लगाउँदा निको हुने, फेरि बझिल्ने ग¥यो भने दमको लक्षण भनेर बुझ्नुपर्छ ।
जोखिम
कसैलाई दम भएको छ भने श्वासनलीमा असर गरेको हुन्छ । यसको समयमै उपचार गर्न जरुरी छ । समयमा उपचार नगर्दा बालबालिकामा विभिन्न समस्या देखिन्छन्, कुनै पनि वेला आस्थमा एट्याक आउन सक्छ । एट्याक आउँदा श्वासनली खुम्चिने जोखिम हुन्छ । श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको कमीका कारण बेहोस हुने या ज्यानै जान सक्ने खतरा पनि हुन्छ । त्यसैले समयमै समस्या पहिचान गरेर उपचार थाल्नुपर्छ ।
उपचार
- एलर्जीको पहिचानका लागि अस्पताल जानुपर्छ । अस्पतालमा चिकित्सकले एलर्जी पहिचान गरेपछि आवश्यक सल्लाह दिन्छन् । कुन औषधि वा खानेकुराले एलर्जी भएको भनेर पहिचान हुन्छ ।
- रोगको निर्क्योल गरेपछि औषधि–उपचार गर्नुपर्छ । छातीमा दमजस्तो एलर्जी भएको छ भने छातीमै बाफको रूपमा औषधि दिनुपर्ने हुन्छ । जसलाई इन्हिलर थेरापी पनि भनिन्छ । श्वासनलीको दुखाइ कम गर्न यसको प्रयोग हुन्छ । कुन प्रकृतिको एलर्जी हो भन्ने थाहा पाएपछि थेरापीमार्फत उपचार गर्न सकिन्छ । यसका लागि थेरापीविज्ञसँग सल्लाह लिन सकिन्छ ।
- उपचारका बाबजुद स्याँस्याँ वा घ्यारघ्यार हुने समस्या बारम्बार बल्झिन पनि सक्छ, त्यसैले सचेत रहनुपर्छ । कतिपय अवस्थामा बिरामीलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने पनि हुन सक्छ ।
रोकथाम
- चिसोबाट बच्न बालबालिकालाई न्यायो लुगा लगाइदिनुपर्छ । तर, कोठा न्यानो बनाउँदा उचित भेन्टिलेसन पनि राख्नुपर्छ, अर्थात् कोठा गुम्स्याएर राख्नु भने हुँदैन ।
- गाउँघरमा न्यानो बनाउन आगो ताप्ने चलन छ । आगो बाल्दा कोठा बन्द राख्नुहुँदैन । धुवाँमा कार्बनमोनोअक्साइड हुने हुँदा शरीरमा प्रतिकूल असर पर्छ ।
- बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्स्याउनुहुँदैन । भित्रभित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या निम्त्याउँछ ।