१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० मङ्सिर १२ मंगलबार ०७:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

युएनडिपीको खर्चमा राष्ट्रिय सभा अध्यक्षसहित प्रदेशका तीन सभामुख र चार उपसभामुख अस्ट्रेलिया भ्रमणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० मङ्सिर १२ मंगलबार ०७:४७:००

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद् सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाकी स्वकीय सचिव ऋचा पोखरेल पनि भ्रमण टोलीमा

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा  प्रदेशका तीन सभामुख र चार उपसभामुख अस्ट्रेलिया भ्रमणमा निस्किएका छन् । संसद् सचिवालयले संघीय संसद् र प्रदेश सभाहरूको १२ सदस्यीय प्रतिनिधिमण्डल आइतबार राति अस्ट्रेलिया प्रस्थान गरेको हो । सचिवालयका अनुसार भ्रमणको खर्च संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले व्यवस्थापन गरेको हो । 

प्रतिनिधिमण्डलमा अध्यक्ष तिमिल्सिनासहित प्रदेश सभा सभामुखहरू सुदूरपश्चिमका भीमबहादुर भण्डारी, कर्णालीका नन्दा गुरुङ, गण्डकीका कृष्णप्रसाद धिताल छन् । यसैगरी, प्रदेश सभा उपसभामुखहरू कोशीबाट सिर्जना दनुवार, मधेशबाट बबिताकुमारी राउत इसर, बागमतीबाट अप्सरा चापागाईं खत्री र लुम्बिनीबाट मेनुका खाण केसी पनि टोलीमा छन् । 

यसैगरी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद् सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाकी स्वकीय सचिव ऋचा पोखरेल भ्रमण टोलीको सदस्य छन् । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाबाट भने प्रतिनिधित्व छैन । 

युएनडिपीको संसद् सहयोग परियोजना (पिएसपी)अन्तर्गत अस्ट्रेलियामा वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययनका लागि नेपाली टोली भ्रमणमा गएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । युएनडिपीसँगको समझदारीअनुसार संघीय संसद् र प्रदेश सभाहरूमा सञ्चालित संसद् सहयोग परियोजनाको सन् २०२३ का लागि स्वीकृत ‘वित्तीय तथा प्रशासनिक स्रोत विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अनुभव आदान–प्रदान कार्यक्रम’अन्तर्गत नेपाली प्रतिनिधिमण्डल अनुभव सिक्न अस्ट्रेलिया गएको सचिवालयले भनाइ छ । 

प्रतिनिधिमण्डलले अस्ट्रेलियाको संसद् र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्हरूमा विभिन्‍न भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यतालिका छ । अस्ट्रेलियाको संघीयता मोडल, वित्तीय तथा प्रशासनिक विनियोजनको अध्ययन एवं अनुभव लिन राष्ट्रिय सभा र सातवटै प्रदेशबाट एक–एकजनाको प्रतिनिधित्व गराइएको प्रवक्ता गिरीले बताए । भ्रमण सम्पन्न गरी नेपाली प्रतिनिधिमण्डल १६ मंसिरमा स्वदेश फर्किनेछ । टोलीको नेतृत्व गरेका अध्यक्ष तिमिल्सिना भने दुई दिनपछि १८ मंसिरमा मात्रै फर्किनेछन् ।