
नेप्से परिसूचक २०.६७ अंकले बढेर एक हजार आठ सय ५०.३३ बिन्दुमा आइपुगेको छ। अघिल्लो दिन नेप्से सूचक २३ अंकले घटेको थियो।
मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक राखेर निजी क्षेत्र, अर्थविद्लगायतलाई राखेर छलफल गरेका थिए।
पछिल्लो समयमा बढ्दो आर्थिक संकटलाई कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीले ११बुँदे घोषणा जारी गरेका छन् जसमा अर्थतन्त्रमा देखिएको शिथिलता, कर प्रणालीमा देखिएको समस्या, बैंकमा ब्याजदरलगायतको विषयमा छलफल गरिएको थियो। जुन छलफलको प्रभावले पनि बजार बढ्नका लागि सहयोग पुगेको देखिन्छ।
कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये म्युचुअल फन्डबाहेक सबै समूहको सूचक बढेका छन्। होटेल तथा पर्यटन समूहको सूचक ३.४९ प्रतिशतले बढेको छ भने जलविद्युत् समूहको सूचक २.३६ प्रतिशतले बढेको छ।
बजार बढेसँगै कारोबार रकम एक अर्ब रुपैयाँ नाघेको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब आठ करोड ७० लााख रुपैयाँको कारोबार भएको छ।
यस दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा सोनापुर मिनिरल्स एन्ड आयल छ। कम्पनीको १० करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो ठूलो कारोबार गर्ने कम्पनीमा प्राइम कमर्सियल बैंक छ।
बैंकको १० करोड २० लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, मुक्तिथान विकास बैंक प्रमोटर सेयर, हाथवे इन्भेस्टमेन्ट, हिमालयन डिस्टलरीको चार करोड रुपैयाँदेखि पाँच करोड २२ लाख रुपैयाँसम्मको कारोबार भएको छ।
बढेको बजारमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने पञ्चकन्यामाई हाइड्राेपावर, माथिल्लो मैलुङ खोला जलविद्युत्, थ्री स्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ९.४१ प्रतिशतदेखि ९.९५ प्रतिशतले बढेको छ।
मंगलबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशतले घटेको छ।