१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २ शनिबार
  • Wednesday, 03 July, 2024
रुकुम पश्चिम सानीभेरी गाउँपालिका– १ चाइनाबगरका भूकम्पपीडित
मनीष खड्का रुकुम पश्चिम
२o८o मङ्सिर २ शनिबार o६:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आफन्त र घर मात्रै लगेन, भूकम्पले रोजगारी पनि खोस्यो 

Read Time : > 2 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o मङ्सिर २ शनिबार o६:२o:oo

यतिखेर कामका लागि भारत जाने युवाको लाम हुन्थ्यो । तर, भूकम्पका कारण घरबार गुमाएपछि यहाँका बासिन्दा न भारत जान सकेका छन् न गाउँमै कुनै काम छ ।

भारतको लद्दाख कारगिलमा ज्याला मजदुरी गर्दै आएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका– १ चाइनाबगरका ३३ वर्षीय भद्रबहादुर मगर दसैँ–तिहार मनाउन १० महिनापछि स्वदेश फर्किए । १ असोजमा घर आएका उनको योजना थियो, ‘दसैँ–तिहार मनाएर फेरि कारगिल फर्किने ।’ उनले दसैँ त परिवारसँग रमाइलो गरी मनाए । तर, तिहारअघि १७ कात्तिकमा आएको भूकम्पले १७ जनाको उनको संयुक्त परिवारलाई खुला आकाशमुनि पुर्‍याएको छ । ‘भूकम्पले घर भत्कायो । सबै त्रिपालमुनि छौँ,’ उनले भने, ‘परिवार यो अवस्थामा छाडेर कसरी जानु ?’ 

कारगिलको एउटा टोलमा भद्रबहादुरले ज्यालादारीमा घाँस काट्ने, पर्खाल लगाउनेलगायत काम गर्दै आएका थिए । ‘काम पाएको दिन आठ सयदेखि हजार रुपैयाँसम्म भारु कमाइ हुन्थ्यो । पोहोर पनि तिहारलगत्तै गएको थिएँ । यसपालि पनि त्यही भनेर आएको थिएँ,’ उनले भने, ‘अब भारत जान ढिलो हुने भयो । ढिलो गएपछि त्यहाँ काम पाइँदैन होला । अरू मान्छे नै आइसक्छन् ।’ 

उनी घर आएपछि सरसल्लाह भएको थियो, गाउँकै १५–२० जना पनि जाने । तर, सबैले भारत जाने योजना रद्द गरेका छन् । सानीभेरी– १ कै केशर पुन पनि तिहारलगत्तै भारत हिमाचलको रामपुर जाने योजनामा थिए । स्याउ टिप्ने काम सकेर उनी दसैँ मनाउन घर फर्किएका थिए । भूकम्पले उनको तीनजनाको परिवार पालमुनि आइपुगेपछि भारत जाने योजना तत्काललाई रद्द भएको छ । स्याउ फार्ममा काम गर्र्दै आएका उनी यतिखेर स्याउ ग्रेडिङ गरिरहेका हुन्थे भने त्यसपछि फार्म रेखदेखको काम गर्थे । ‘तत्काल फर्किने अवस्था छैन, बरु यतै कतै ज्याला मजदुरीको केही काम मिल्यो भने अलि–अलि कमाउँदै घरपरिवारलाई हेर्दै गर्नुहुन्थ्यो,’ उनले भने ।

जाजरकोटको भेरी नगरपालिका– १ रिम्नाका गोपाल विक पनि यतिवेला भारतका लागि हिँडिसकेका हुन्थे । मिलेसम्म हरेक वर्ष दसैँ–तिहार मनाउन घर फर्किने उनी तिहार मनाउनेबित्तिकै सिमलाका लागि प्रस्थान गर्थे । तर, गोपालका लागि पनि भूकम्प तगारो बनिदियो । भारतमा ज्याला मजदुरी गरेर बनाएको घर भूकम्पले गल्र्यामगुर्लुम पारिदियो । ‘अब सधैँ पालमा बसेर मात्र पनि भएन, भोलि घर बनाउनुपर्ला, परिवारको अरू व्यवस्थापन गर्नुपर्ला, केही काम मिल्यो भने सजिलो हुने थियो,’ उनले भने ।

सानीभेरी– १ का रूपबहादुर पुनले गाउँका युवालाई विभिन्न ठाउँका सडकमा काम लगाउँदै आएका थिए । उनी दसैँलगत्तै गाउँका १७ जना कामदारलाई लिएर जाजरकोटको नलगाड नगरपालिकाको मालुतरा गएका थिए । उनको टोलीले सडकमा जाली भर्ने, पर्खाल लगाउनेलगायत काम गरिरहेको थियो । तर, १७ कात्तिकको भूकम्पले सडक निर्माणको काम रोकियो, रोजगारी खोस्यो । भूकम्पपछि रूपबहादुरसहित उनको टोली गाउँ फर्कियो । भूकम्पले काम खोसिएपछि अहिले उक्त टोली बेरोजगार बनेको छ । अहिले गाउँमै घाम तापेर दिन कटाउनुको विकल्प नभएको रूप बताउँछन् । 

ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्ने गरेका रुकुम पश्चिम र जाजरकोटका अधिकांशको नियति अहिले यस्तै छ । यहाँका अधिकांश नागरिक रोजगारीका लागि भारतका कालापहाड, कोलकाता, हिमाचलको सिम्ला, लद्दाखलगायत ठाउँमा जान्छन् । 

सानीभेरी– १ का वडासदस्य कालो पुनका अनुसार यहाँका युवाको पहिलो विकल्प भारत जाने र दोस्रोमा देशभित्रै निर्माण हुने सडक रोजगारीका प्रमुख स्रोत हुन् । तर, भारत जाने तयारीमा रहेकाहरू भूकम्पका कारण रोकिएको उनले बताए । उनका अनुसार भूकम्पका कारण गाउँमा जनधनको ठूलो क्षति भएपछि भारतमा रहेकादेखि अन्य मुलुकमा रहेकासमेत फर्किन थालेका छन् ।

रोजगारीको माग 
भूकम्पमा परी रोजागारी गुमाएकाले रोजगारीको माग गरेका छन् । भारत तथा देशकै विभिन्न ठाउँमा समेत ज्याला मजदुरी गरिरहेकाले भूकम्पका कारण काममा जान नपाएको भन्दै घरपायकमै केही काम पाएमा सजिलो हुने बताएका छन् । ‘टाढा जाने अवस्था छैन, परिवारलाई पनि हेर्नुपर्नेछ, गाउँघरमै ज्याला मजदुरीको काम मिलेमा सहज हुने थियो,’ भारत जाने योजना रद्द भएका भद्रबहादुरले भने । स्थानीय सरकारसहित अन्य निकायले सञ्चालन गर्ने योजनामा भूकम्प प्रभावितलाई जोड्न सकिएमा आफूहरू लाभान्वित हुने उनको भनाइ छ । 
 

ad
ad
ad
ad