उपत्यकाकै किसानका सयपत्रीले पाएन बजार, सरकारले भारतीय फूल आयात रोक्ने घोषणा गरे पनि कार्यान्वयन नगरेको आरोप
भक्तपुर कमलविनायकका खेम निरौलाले तिहारलाई लक्षित गर्दै करिब चार रोपनीमा सयपत्री फूल रोपेका थिए । उनले हुर्काएका २५ सयवटै बिरुवा तिहारमा ढकमक्क भएका पनि थिए । सबै फूल खपत हुनेमा उनी ढुक्क थिए । तर दुर्भाग्य, उनले सोचेजस्तो भएन । तिहार सकिसक्दा पनि उनको फूलबारी उस्तै ढकमक्क छ । एक लाखभन्दा बढीको सयपत्रीले बजार नै नपाएको उनले बताए । उनले भने, ‘गत वर्ष राम्रैसँग बिक्री भएको थियो, तर यसपटक डुबायो । भारतबाट लुकीछिपी फूल आयात भएकाले नेपाली फूलले बजार नै पाएन । सरकारले भारती फूल आयात रोक्ने घोषणा गरेपछि फूल बिक्नेमा ढुक्क थियाैँ, तर भित्रभित्रै ठूलो खेल भयो ।’ व्यावसायिक खेती भएकाले निरौलाले मलजल गरेर फूल रोपेका थिए । फूल त फुल्यो, तर बजार नपाएपछि उनी चिन्तित छन् ।
उनका अनुसार भारतबाट आवश्यकभन्दा बढी फूलमाला भित्रिएपछि नेपालमा उत्पादन भएको फूलले स्थान नै पाएन । निरौलाले सयपत्रीसहित करिब ६ रोपनीमा बाह्रमासे कार्नेसन र जरबेरा पनि खेती गरेका छन् । भक्तपुरको कमलविनायकमा ६ वर्षदेखि पुष्पखेती गर्दै आइरहेका उनी अन्य फूलको बजारबाट सन्तुष्ट छन् ।
काठमाडौं महानगरका कारण पनि फूल नबिकेको किसानको गुनासो
उपत्यकाभित्रका स्थानीय तहमध्ये सबैभन्दा बढी फूल खपत काठमाडौं महानगरमा हुन्छ । उपत्यका, यहाँका काठक्षेत्र, आसपासका जिल्लामा उत्पादन भएको फूलको लक्षित बिक्री स्थल भनेको काठमाडौं, भक्तपुर र ललितपुरका सहरी क्षेत्र हुन् । तर, यसपटक काठमाडौं महानगरको नयाँ नियमका कारण किसानले सहजै फूल बिक्री गर्न पाएनन् । महानगरले चार स्थान तोकेर फूल बिक्री गर्ने नियम जारी गरेको थियो ।
तर, ग्राहक नै नआउने ठाउँमा बिक्री केन्द्र तोकेकाले किसानहरू निराश थिए । ‘यसपटक महानगरले फूल बिक्री गर्ने सहज वातावरण बनाइदिएन, गाउँ–गाउँमा उत्पादन गरेको फूल भृकुटीमण्डपलगायत ठाउँहरूमा टाँगेरै ओइलायो,’ भक्तपुर नगरकोटका किसान हरिशंकर लामिछानेले भने, ‘महानगरले ठाउँ तोक्दा भारतबाट छली गरी ल्याएको फूल बिक्री गर्नेहरूले फाइदा लिए, सोझा किसान ठगिए ।’
उनका अनुसार यसपटक सस्तोमा माला बिक्री गर्न खोज्दा पनि बिक्री नै भएन । सामान्यतया एउटा मालालाई सयदेखि डेढ सय पर्छ । तर, किसानले ५० रुपैयाँमै दिँदासमेत फूलमाला बिकेन । चितवन, धादिङ, नुवाकोट, रसुवा, दोलखा, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लाबाट फूल बेच्न आएका किसान निराश बन्दै फर्किए । फूल बिक्री गर्न सहज होस् भनेर महानगरले स्थान तोकेको थियो ।
खपत भएको ३५ लाख मालामध्ये ३० लाख भारतीय
नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यसपटक भारतबाट अपेक्षा गरेभन्दा बढी माला भित्रियो । करिब ३० लाख माला भारतबाट आउँदा सोही मात्रामा नेपालमा उत्पादित फूलले बजार नै पाएन ।
तिहारमा खपत भएका करिब ३५ लाख मालामध्ये पाँच लाख मात्रै नेपाली फूलका माल थिए । एसोसिएसनका सचिव हिरामणि शर्माले यसपटक भारतबाट आएको मालाका कारण नेपालमा उत्पादित माला बिक्री–वितरण नभएको बताए ।
उनका अनुसार यसपटक तिहारमा ४० लाखको माला खपत हुने अनुमान गरिए पनि ३५ लाख हाराहारी खपत भयो । ‘यसपटक रैथाने फूल धेरै थिए, कतिपयले आफ्ना लागि आफैँले फुलाए, तर नेपालमा उत्पादन भएको फूल नबिक्नुको मुख्य कारण आयातीत माला नै हो,’ उनले भने ।
उनका अनुसार सरकारले यसपटक भारतीय फूल ल्याउन कडाइ गर्ने भने पनि पटके व्यापारीहरूले लुकिछिपी फूल ल्याए । फूल ल्याउनका लागि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापनले पनि सहजै अनुमति दिएको उनको भनाइ छ । सचिव शर्माले भने, ‘सरकारकै कारण नेपालको फूल बिक्री नभएको हो ।’ पुष्प व्यवसायी विश्वमणि पोखरेलले पनि सरकारले दोहोरो भूमिका खेलेको आरोप लगाए ।