आजभोलि देउसी–भैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसंगति बढ्दै गएको छ ।
तिहार अर्थात् भाइटीकामा खेलिने देउसी–भैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका– ३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसी–भैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ ।
ढोलक, बाजा, झुर्मा, ट्याम्को, नरसिंहा, विगुल, सहनाइलगायतका विभिन्न वाद्यवादनसहित देउसी–भैलोका नाममा अहिले भित्रिएको विकृतिलाई रोक्न सामूहिक रूपमा देउसी–भैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विक बताउँछन् । ‘अहिले देउसी–भैलोको मौलिकपन नै भेटिँदैन, संस्कृतिमा पूरै विकृति भित्रिएको छ, पुराना संस्कार, संस्कृति मौलिक रूपमा मनाइनुपर्छ, यस अभियानमा हामी सामूहिक रूपमा जुटेका छौँ,’ उनले भने ।
समाजले गत वर्ष एक लाख ६० हजारको विभिन्न वाद्यवादनका सामग्री खरिद गरेको अध्यक्ष विकले बताए । नयाँ पुस्तामाझ देउसी–भैलोको मौलिक परम्परा नै मेटिसकेको र आधुनिकताले समाजमा विकृति ल्याएको बताउँछन् समाजका ज्येष्ठ सदस्य मोहनबहादुर विक । उनले पहिला–पहिलाको देउसी–भैलोको तुलनामा हिजोआज धेरै फरक रहेको बताए । आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकोमा उनी चिन्तित छन् ।
बालबालिका, युवा, उमेर ढल्कँदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसी–भैलोमा गाउँ–गाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरभेटीले खुसी हुँदै दानदक्षिणा दिने गरेको युवा मनु विक बताउँछन् । देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा लगाउने उनले बताए । नयाँ पुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिक रूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसी–भैलोमार्फत अनुरोध गरेको छ ।
मौलिक बाजाको तालमा देउसी–भैलो समूह घर–घरमा आउँदा स्थानीय पनि दंग छन् । मेमोरीकार्ड, क्यासेट गीत, युट्युबबाट हिन्दी, रिमिक्स, पप, आधुनिक, लोकगीतमा देउसी–भैलो खेल्नेको जमात बढ्दो छ । मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसी–भैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ ।
देउसी–भैलोबाट चाडपर्व मनाउने नाममा विकृति विसंगति भित्रिन नदिन दलित मुक्ति समाजले गरेको यस कार्यलाई सबैले सकारात्मक रूपमा लिएका छन् । समाजमा ८० घरपरिवार दलित समुदाय मात्र आबद्ध छन् । आफ्नो समाजभित्र हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको समाजले जनाएको छ ।
हिजोआज खैँजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी–भैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन । कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो । पश्चिमा संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसी–भैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ ।
बलिराजाका पालादेखि नै समूह बनाएर देउसी–भैलो खेल्ने चलन अझ पनि कायमै छ । तर, पहिलेको तुलनामा भने हिजोआज देउसी–भैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । उज्यालै उज्यालैको पर्वका रूपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो । चाडपर्वमा पहिलेजसो मौलिकपनको सट्टा नयाँपन दिन खोज्दा पुरानो इतिहास नै मेटिन पुगेको बुढापाका बताउँछन् ।