१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
धनगढीका किसानको बारीमा ढकमक्क फुलेको फूल ।
२o८१ बैशाख १९ बुधबार o९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तिहारमा प्लास्टिकका माला प्रतिबन्ध  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:२o:oo

स्थानीय सरकारको निर्णयले पुष्पखेतीमा संलग्न किसान उत्साहित

व्यावसायिक पुष्प खेतीमा संलग्न किसानलाई प्रोत्साहन गर्न स्थानीय तहहरूले तिहारमा प्लास्टिकका फूल र मालाको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले प्लास्टिकबाट बनेका फूल तथा मालाको बिक्रीवितरण र प्रयोगमा रोक लगाएका छन् ।

नजिकिँदै गरेको तिहार, छठजस्ता पर्वहरूमा नगरभित्र प्लास्टिकका फूल, मालालगायत प्लास्टिकजन्य सामग्रीको बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीशदत्त भट्टले जानकारी दिए । नगरपालिकाले सूचना जारी गर्दै त्यस्ता सामग्रीको बिक्रीवितरण गरेको पाइए सामान जफत गर्ने र कानुनअनुसार थप कारबाही गर्ने चेतावनी दिएको छ । ‘तिहारका वेला प्रायः सबैको घाँटीमा प्लास्टिकको माला झुन्डिएको देखिन्छ । स्थानीयले यही उत्पादन भएका फूलको माला प्रयोग गरून् भनेर प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएका हौँ,’ भट्टले भने, ‘यसले स्थानीय उत्पादनले बजार पाउँछ । पुष्प व्यवसायलाई प्रवद्र्धन हुन्छ । वातावरण सफा राख्न पनि मद्दत पुग्छ ।’

धनगढी उपमहानगले पनि प्लास्टिकबाट बनेका फूल, माला, बुके तथा ध्वजापताकाको बिक्रीवितरण र प्रयोग नगर्न सूचना जारी गरेको छ । व्यावसायिक फूल खेतीमा संलग्न किसानलाई प्रोत्साहन गर्ने तथा प्लास्टिकको प्रयोग घटाएर वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्लास्टिकका फूलका मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको उपमहानगरपालिकाले जनाएको छ । तिहारका वेला यहाँ प्लास्टिकबाट बनेका फूल र मालाको प्रयोग बढी हुने गर्छ । नगर प्रमुख गोपाल हमालले तिहारलाई लक्षित गरेर भारतबाट अवैध रूपमा प्लास्टिकका फूल र मालाहरू भित्रिरहेको गुनासो आएकाले त्यसलाई रोक्न भन्सार कार्यालय र सुरक्षा निकायलाई आग्रह गरिएको बताए । 

तिहारलाई लक्षित गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारले भारतबाट फूलको आयातमा समेत हालै प्रतिबन्ध लगाएको छ । तर, भारतसँग लामो खुला सीमाना भएकाले यहाँ प्लास्टिकका फूल र मालाको अवैध आयात गरेर प्रयोग गर्ने गरिएको छ । ‘तिहारलाई लक्षित गरेर अवैध रूपमा प्लास्टिकका फूल र मालाको आयात भइरहेको गुनासो आएको छ,’ हमालले भने, ‘त्यसलाई रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छौँ ।’ उपमहानगरले गत वर्ष १ असोजबाट नगरमा प्लास्टिकका झोलालगायत वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गाउँपालिकामै गोदावरी, मखमली, सयपत्रीलगायत फूलहरूको उत्पादन भइरहेको भन्दै बर्दगोरिया गाउँपालिकाले पनि प्लास्टिकका फूल र मालाको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तिहारका बेला प्लास्टिकका मालाको प्रयोग बढी हुने भएकाले प्रतिबन्ध गर्दै प्राकृतिक रूपमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले बताए । स्थानीय तहहरूले प्लास्टिकबाट बनेका फूल र मालाको प्रयोगमा प्रतिबन्ध लगाएपछि पुष्पखेतीमा संलग्न कृषक उत्साहित भएका छन् । प्रदेशकै दुई ठूला नगरले प्लास्टिकका फूल र मालाको प्रतिबन्ध लगाएपछि आफूहरू उत्साहित भएको धनगढीमा व्यावसायिक फूलखेती गरिरहेका जोगेन्द्र सेठीले बताए । 

ad
ad