नेपालका जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले पूर्वाधार क्षेत्रमा करिब सात अर्ब लगानी गरेका छन् । नेपालमा अहिले १४–१४ वटा जीवन र निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये सात जीवन र चार निर्जीवन कम्पनीले आव ०७९/८० सम्म जलविद्युत्, पर्यटन, व्यावसायिक भवनलगायतका पूर्वाधारमा सात अर्ब ५१ लाख लगानी गरेको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ । सञ्चालनमा रहेका दुई पुनर्बिमा र सात लघुबिमा कम्पनी भने पूर्वाधारमा लगानी गरेका छैनन् ।
कम्पनीहरूको विभिन्न कोषमा तथा बिमाशुल्कमार्फत संकलन गरेको रकम विभिन्न क्षेत्रमा लगानी गर्न पाउँछन् । हाल बिमा कम्पनीले बैंकको निक्षेप, सेयर बजार, सूचीकृत कम्पनीको साधारण सेयर, पब्लिक कम्पनीको डिभेन्चर, सरकारको ऋणपत्र, म्युचुअल फन्ड, घरजग्गा, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न सक्छन् । कम्पनीहरूले पूर्वाधारमा टेक्निकल रिजर्भ (विभिन्न माध्यमबाट गणना गरिएको कम्पनीको लगानीयोग्य पैसा) को १० प्रतिशतसम्म लगानी गर्न सक्छन् ।
अहिले बिमा क्षेत्रमा झन्डै सात खर्ब हारहारीमा दीर्घकालीन तथा अल्पकालीन लगानीयोग्य पैसा छ । त्यसमा सात अर्ब मात्रै पूर्वाधार क्षेत्रमा लगानी भएको नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । यीबाहेक अन्य पैसा मुद्दती निक्षेप, सेयर बजारलगायतका क्षेत्रमा लगानी भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
पूर्वाधारमा लगानी गर्ने मामिलामा सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले जलविद्युत्लगायतका क्षेत्रमा चार अर्ब ८७ करोड १७ लाख लगानी गरेको छ । कम्पनीले ४५६ मेगावाटको अपर तामाकोशी, सरकारी स्वामित्वको एचआइडिसिएल, जलविद्युत् उत्पादन कम्पनीमा लगानी गरेको छ ।
दोस्रो स्थानमा रहेको निजी क्षेत्रको एसियन लाइफ इन्स्योरेन्सले पूर्वाधारमा एक अर्ब ४४ करोड २० लाख लगानी गरेको छ । तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले २२ करोड ६१ लाख लगानी गरेको छ । यीबाहेक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १२ करोड २५ लाख, सन् नेपाल लाइफ इन्स्योरेन्सले नौ करोड ८२ लाख, प्रभु लाइफ इन्स्योरेन्सले ६ करोड, सानिमा रिलान्यस लाइफ इन्स्योरेन्सले पाँच करोड, प्रभु इन्स्योरेन्सले चार करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सले चार करोड ५४ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सले दुई करोड २९ लाख र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले दुई करोड पूर्वाधारमा लगानी गरेका छन् । रकमका आधारमा पूर्वाधारमा बिमा कम्पनीको लगानी भए पनि मुद्दती निक्षेप, शेयर कारोबार जस्ता उपकरणमा सिमित लगानी विस्तार हुनु सकारात्मक रहेको पौडेल बताउँछन् ।
यद्यपि, यो रकम अघिल्लो आवको तुलनामा कम हो । असार ०७९ सम्म पूर्वाधारमा सात अर्ब ४५ करोड ५६ लाख लगानी थियो । नेपाल लाइफले ठूलो रकम कुनै एक परियोजनाबाट फिर्ता ल्याउँदा कुल तथ्यांक घटेको हो । अहिले बिमा क्षेत्रको ७० प्रतिशतभन्दा बढी रकम बैंकको मुद्दती निक्षेपमा लगानी भएको छ । फलस्वरूप बिमा क्षेत्रको खर्बाै लगानीयोग्य पैसाको सही सदुपयोग हुन नसकेको बिमा क्षेत्रका विज्ञहरू बताउँछन् । यद्यपि, बिमा क्षेत्र जोखिमसम्बन्धी व्यवसाय गर्ने भएकाले पटक–पटक ग्राहकको दाबी भुक्तानी गरिराख्नुपर्छ । त्यसका लागि तत्काल लगानी प्रतिफल तथा फिर्ता आउने क्षेत्रमा लगानी गर्नुपर्ने बिमा क्षेत्रको बाध्यता छ ।
यता सरकारले सन् ०३५ सम्म विद्युत्जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । त्यसको लागि झन्डै ६२ खर्ब लगानी आवश्यक देखिएको छ । यसैगरी सडक, पर्यटन पूर्वाधारमा पनि ठूलो लगानी आवश्यक छ । त्यो लगानी जुटाउन स्वदेश तथा विदेशका विभिन्न स्रोतहरू परिचालन गर्नुपर्ने अवस्था छ । यसमा बिमा क्षेत्र उपयुक्त विकल्प हुने स्वतत्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की बताउँछन् ।
के भन्छन् बिमा कम्पनीहरू ?
बिमा कम्पनीहरूले भने लगानी प्रतिफल तथा सुरक्षाको ग्यारेन्टी भएमा पूर्वाधारमा लगानी गर्न तयार रहेको बताउँछन् । बिमा कम्पनीहरूले जोखिम बहनको व्यवसाय गर्ने हुनाले लगानीको प्रतिफल, लगानीको सुरक्षा तथा नगद प्रवाह हुने वातावरण हुनुपर्ने उनीहरू बताउँछन् । नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले पूर्वाधार क्षेत्रमा लगानी बढाउन बिमा कम्पनीहरूलाई प्रोत्साहन आवश्यक रहेको बताए । ‘सामान्यता अहिले जीवन बिमा पोलिसीहरूको औसत अवधि १५ वर्ष छ । त्योअनुसार हामीसँग १५ वर्षसम्मलाई लगानी गर्ने पैसा हुन्छ ।
बीचमा आउने दाबी भुक्तानीका लागि भने केही रकम रिजर्भमा राख्नुपर्छ । तर, नयाँ व्यवसायले नगद प्रवाह पनि भइरहेको हुन्छ, त्योअनुसार कम्पनीसँग लगानी गर्न पैसा हुन्छ,’ उनले भने, ‘तर, त्यो लगानी सुरक्षा तथा प्रतिफलको ग्यारेन्टी भने हुनुपर्छ । त्यसका लागि केही प्रोत्साहनमुलुक नीति सरकारले ल्याउनुपर्छ । त्यसपछि हामी पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न तयार हुन्छौ नै । अब कम्पनीहरू मुद्दती निक्षेपमा लगानी गरेर मात्रै बस्नुहुँदैन ।’
अहिले बिमा कम्पनीहरूको आम्दानी बैंकको ब्याजदरमा निर्भर छ । बैंकहरूको ब्याजदरमा आउने परिवर्तनले कम्पनीहरूको आम्दानी पनि तलमाथि भइरहन्छ । पूर्वाधारजस्ता बढी प्रतिफल दिने क्षेत्रमा लगानी बढाउन सकेमा बिमितले पाउने बोनस र लगानीकर्ताले पाउने प्रतिफल पनि राम्रो हुने कम्पनीहरू बताउँछन् ।
राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कवि पाठक पनि पूर्वाधारमा लगानी गर्न सकिने बताउँछन् । तर, त्यसका लागि विज्ञहरू नहुँदा लगानी विस्तार गर्न नसकिएको उनको भनाइ छ । यसैगरी, नेपाल बिमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि अब बिमा कम्पनीहरूले पूर्वाधारमा लगानी विस्तार गर्दै जाने बताए । ‘अहिले बिमा कम्पनीहरूले पूर्वाधारमा लगानी गर्न सुरु गरिसकेको छन् । तर, यस्तो लगानी एकैचोटी ह्वात्तै बढ्दैन । हामी बिस्तारै यस्तो लगानीको विस्तार गर्दै जान्छौँ,’ उनले भने, ‘हामीलाई बैंकमा राखेर ब्याज आम्दानी गर्नुभन्दा प्रत्यक्ष रूपमा लगानी गर्दा नै राम्रो हुन्छ । तर, त्यसका लागि कम्पनीको क्षमता पनि बढाउनुपर्छ ।’
नेपाल पुनर्बिमा कम्पनीको सिइओ शंकर रायमाझीले लगानीको वातावरण नहुँदा पूर्वाधारमा लगानी गर्न नसकिएको बताए । ‘यसै पनि हामीसँग लगानी गर्न ठूलो पुँजी बनिसकेको छैन । त्यसमाथि पर्यटन, जलविद्युत्जस्ता पूर्वाधारमा लगानी गर्ने वातावरण अझै छैन । राजनीतिक विकृतलगायतका कारण त्यस्ता क्षेत्रमा लगानी गर्न हाम्रा लागि जोखिम नै देखिन्छ,’ उनले भने ।
नेपाल लाइफको सहायक कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न छुट्टै इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने तयारी गर्न लागेको छ । दुई अर्ब पुँजीसहित सहायक कम्पनीको रूपमा इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्न लागेको सिइओ पराजुलीले बताए । उक्त कम्पनी स्थापना भएपछि त्यसैमार्फत पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरिने उनको भनाइ छ ।