१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २२ बुधबार o८:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

परिवर्तन पक्षधर दलहरूको बैठक : शान्ति प्रक्रिया चाँडै निष्कर्षमा पुर्‍याउँदै संविधान र गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार o८:५४:oo

१२बुँदे समझदारीदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म संलग्न दल–नेताले शान्ति प्रक्रिया चाँडै टुंग्याउँदै संविधान र गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् । संविधान र गणतन्त्रलाई चुनौती दिने शक्तिहरूको ‘चलखेल’ बढेको बुझाइमा रहेका दलहरू संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एक हुनुपर्ने निष्कर्षमा पुगेका हुन् । गणतन्त्रप्रति प्रतिबद्धता दोहोर्‍याउँदै आवश्यक परे प्रतिवाद गर्न तयार रहेकोसमेत जनाएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, नेसपा, लोसपालगायतका दलको बैठकमा नेताहरूले प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् । शीर्ष नेताहरूले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने काम हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै दलहरू एकै ठाउँमा आइपुगेको बताए । प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुम पश्चिममा भएको क्षति, उद्धार र राहतमा सरकारले गरिरहेको कामबारे जानकारी गराएर एजेन्डामा प्रवेश गरेका थिए । विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको, व्यवस्थामाथि नै प्रहार हुन थालेको उनले बताए ।

सानो रूपमा भए पनि समाज बिगार्ने काम व्यवस्था विरोधीहरूबाट हुन थालेको उनको भनाइ थियो । ‘विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भएका छन् । व्यवस्थामाथि नै नकारात्मक प्रचार गरेर प्रहार हुन थालेको छ । ठूलो मात्रामा नभए पनि सानातिना रूपमा व्यवस्थाविरोधी गतिविधि देखिन थालेका छन् । हामी समीक्षा गर्दै अगाडि बढ्नुपर्ने भयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने । 

बैठकपछि संक्षिप्त प्रतिक्रिया प्रधानमन्त्री प्रचण्डले उनले देशलाई गणतन्त्रसम्म ल्याउने दलहरूको बैठक बोलाइएको र परिवर्तनको पक्षमा साझा सहमति रहेको बताए । ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलबाट साझा प्रतिबद्धता आयो । यो प्रारम्भिक भयो । समय आएको छ, हामी एकचोटी सामान्य समीक्षा गरौँ भनेर गरिएको हो । यसलाई निरन्तरता दिनुपर्छ भन्ने सबै नेताहरूबीच समझदारी भयो,’ प्रधानमन्त्रीले भने । कोसँग तर्सिनुभयो भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘कसैसँग तर्सिएको छैन ।’ 

प्रचण्डले अनावश्यक रूपमा गणतन्त्रमाथि प्रहार हुन थालेको भन्दै परिवर्तनकारी दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए । अहिले देखिएको विरोधको स्वरलाई नजर अन्दाज गरेर बस्न नहुनेमा उनले जोड दिए । विगतमा दलहरूले मिलेर परिवर्तन ल्याएको र यसको रक्षाका लागि मिलेरै अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । व्यवस्थाको रक्षा र जनताको जीवनस्तर सुधारका लागि सरकारका तर्फबाट अधिकतम प्रयास गरिरहेकोसमेत प्रचण्डले बताएका छन् ।

प्रधानमन्त्रीले विषय प्रवेश गराएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरूले गणतन्त्रप्रति प्रतिबद्धता दोहोर्‍याए । जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता उनीहरूले औँल्याए । 

देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरिसकेकाले पछाडि फर्किने अवस्था नरहेको बताए । उनले क्रमिक रूपमा काम भइरहेको भन्दै विरोधीले हल्ला गरेजस्तो अवस्था नभएको दाबी गरे । देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कांग्रेसले विगतमा राजतन्त्र मानेको हो । तर, अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छौँ । पछाडि फर्किने ठाउँ छैन । विरोधीले हल्ला गरेजस्तो गणतन्त्रमा केही पनि भएको होइन । क्रमिक रूपमा राम्रा काम भइरहेका छन् ।  शान्ति प्रक्रिया पनि दलहरू मिलेर टुंग्याउनुपर्छ ।’

एमाले अध्यक्ष ओलीले गणतन्त्रविरोधी शक्तिलाई एमालेले साथ नदिने बताए । तर, सरकारको कार्यशैलीका कारण गणतन्त्रविरोधीको हौसला बढेको ओलीको आरोप छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले धेरै रगत पसिना बगाएका छौँ । हाम्रा धेरै साथीहरू सहिद भएका छन् । हामी गणतन्त्रविरोधीहरूसँग लड्न तयार छौँ । तर, सरकारकै कारण गणतन्त्रविरोधीको हौसला बढेको छ । सरकारले जनताको पक्षमा काम गर्न नसक्दा जनतामा वितृष्णा बढेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुशासन कायम गर्दै जनतालाई डेलिभरी दिनुपर्नेमा जोड दिए । जनताले संघर्ष गरेर ल्याएको व्यवस्था केही व्यक्तिले हल्ला गर्दैमा तलमाथि नहुने उनको भनाइ छ । यद्यपि, परिवर्तनकारी दलहरूबीच एकता आवश्यक रहेको उनले जोड दिए । 

व्यवस्थामा केही सुधार गरेर अवस्थामा आमूल परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए । ‘जनताको विश्वास प्राप्त गरेको व्यवस्थाको बारेमा कसैले केही भन्दैमा पछि लाग्न हुँदैन । दलहरूमा एकता आवश्यकता छ । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य पनि पूर्णतः सही होइन । अवस्था पनि बदलिएको छ ।’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै पनि क्रान्तिका उपलब्धिको रक्षा तिनको सही कार्यान्वयन र समयानुकूल विकास गरेर मात्र हुने बताए । ‘अहिले जनतामा देखिएको असन्तुष्टिका निम्ति व्यवस्थालाई दोष दिने हैन । गत १७ वर्षयता सत्ताको नेतृत्व गर्नेहरूले लिनुपर्छ । मेरो भागमा पर्ने जिम्मा म लिन तयार छु,’ भट्टराईले भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता खाटका चार खुट्टाझैँ एक–आपसमा अन्तर सम्बन्धित छन् । तीमध्ये कुनै एकलाई ढालियो भने सबै ढल्ने खतरा हुन्छ । त्यसैले यी सबैको रक्षा गर्न सबै दल प्रतिबद्ध हुनुपर्छ ।’ 

क्रान्तिका उपलब्धिको रक्षा र विकास निम्ति सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसम्बन्धी काम तुरुन्त पूरा गर्नुपर्ने, राजनीतिक क्षेत्रमा अस्थिरता अन्त्य गर्न शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने, संघीयतालाई पूर्णता दिनुपर्ने, भ्रष्टाचार अन्त्य गर्न अर्को अधिकारसम्पन्न र स्वतन्त्र अंग बनाउनुपर्नेमा जोड दिए । 

ad
ad
ad
ad