१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
जेम्स लिभिङस्टोन
२o८१ बैशाख २२ शनिबार १o:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी जनमानसमा नवउदारवादी प्रभाव घट्दो

अमेरिकामा सामाजिक–लोकतान्त्रिक विचारले ‘खुला बजार’को वर्चस्वलाई चुनौती दिँदै व्यापक रूपमा समर्थन पाइरहेको देखिन्छ 

Read Time : > 2 मिनेट
जेम्स लिभिङस्टोन
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२७:oo

द इकोनोमिस्ट र अन्य प्रकाशनका पाठकले हालैका वर्षमा नवउदारवादको अवसानलाई लिएर दुःख मनाउने, उत्सव मनाउने वा विश्लेषण प्रदान गर्ने रिपोर्ट पढिरहेका छन् । सामाजिक–लोकतान्त्रिक विचारले ‘खुला बजार’को वर्चस्वलाई चुनौती दिँदै व्यापक रूपमा समर्थन पाइरहेको देखिन्छ ।

वामपन्थी वृत्तले इटलीका माक्र्सवादी दार्शनिक ग्राम्सीले भन्ने गरेको ‘स्थिति÷दर्जाको युद्ध (वार अफ पोजिसन’ जितिरहेको देखिन्छ । अर्थात् नयाँ राजनीतिक वास्तविकतालाई परिवर्तन गर्ने एउटा नयाँ ‘सार्वजनिक धारणा –कमन सेन्स)’को विकास भइरहेको छ । अकुपाई वाल स्ट्रिट, ब्ल्याक लाइभ्स म्याटर, ह्यास ट्याग मिटु, बर्नी स्यान्डर्स, ग्रेट रेजिग्नेसन अर्थात् कार्यस्थलको अव्यवस्था एवं श्रमशोषणका कारण भएको सामूहिक राजीनामाको उभार, पुनर्जीवित औद्योगिक नीति, र नयाँ युनियनवादले अमेरिकीमाझ बजारको भूमिकाबारे फरक धारणाको निर्माण गरेको छ । 

कोभिड– १९ महामारीको समयमा असमानतालाई सम्बोधन गर्दा आयको पुनर्वितरण भयो र रोजगारी एवं शिक्षामा नयाँ दृष्टिकोणको मूलधारीकरण पनि भएको देखिन्छ । विगतका दशकमा स्वास्थ्य सेवा प्रणाली र श्रमबजारजस्ता मुद्दाले सबैका लागि स्वास्थ्य सेवा (मेडिकेयर फर अल) र पूर्वाधारमा पर्याप्त सरकारी खर्च वा न्यु ग्रिन डिल धेरै अमेरिकीका लागि एक स्पष्ट समाधानको रूपमा सतहमा आयो । त्यसैगरी, प्रजनन अधिकारमाथि सर्वाेच्च अदालतको निर्णय, राज्यको बढ्दो नियमन, र नागरिकताको दायराले निम्त्याएको वैचारिक प्रतिक्रियाले राज्यस्तरमा डेमोक्रेटिक पार्टीको स्थितिलाई बलियो बनाउँदै ‘प्रगतिशीलता’लाई ब्युँत्याएको छ । त्यसैगरी, आमविश्वासविपरीत हालैको प्यु रिसर्च सर्वेक्षणले युवा मतदाता श्रमबजारमा प्रवेश गरेपछि दक्षिणपन्थतर्फ आकर्षित हुन छाडेको देखाएको छ । युवामाझ मजदुर युनियन र समाजवादको लोकप्रियता सन् १९३० को अनुकूल समयभन्दा पनि बढी देखिएको छ ।

सर्वेक्षण र मतदानले प्रस्तुत गर्ने यी वैचारिक परिवर्तनले अमेरिकामा समाजवादका बारेमा देखिएको अतिरञ्जित भय र द इकोनोमिस्टलगायतका प्रकाशनका खुला बजारको पतन सम्बन्धित लेखलाई पुष्टि गर्छ । अहिले हामी अमरिकामा आमूल परिवर्तनको संँघारमा छौँ भनेजस्तो देखिन्छ ।

वामपन्थी अवस्थितिको युद्धमा सफल भए पनि ग्राम्सीले भन्ने गरेको राज्य संयन्त्रलाई नियन्त्रण गर्ने ‘तिकडमको युद्ध (वार अफ मन्युभर)’ जारी नै छ । पुरातनपन्थी र स्पष्ट रूपमा आफूलाई प्रतिक्रियावादी भनेर चिनाउनेहरू आफू रक्षात्मक छु भन्ने जान्दाजान्दै पनि जनमतलाई प्रभावित पार्न राज्यको प्रभावको फाइदा उठाइरहेका छन् ।

फ्लोरिडामा गभर्नर रोन डी सेन्टिसले राज्यको विधायकीय अख्तियारीमार्फत डिज्नी वल्र्ड र शिक्षाजस्ता सांस्कृतिक क्षेत्रमा ठूलो आक्रमणको नेतृत्व गरेका छन् । यही विचारमा आधारित रहेर निर्वाचन क्षेत्रमा हुने छेडखानी र बहुसंख्यकलाई समेत उपेक्षा गर्ने गरी ‘पुरातनपन्थी’ नीति सुरक्षित गर्ने कानुन बनेको छ । अर्थात् यो विचारले अल्पसंख्यक शासनलाई बल पुर्‍याउने रणनीति झल्काउँछ । यो वास्तविकताले फ्रेडरिक भोन हाइक र मिल्टन फ्राइडम्यानजस्ता नवउदारवादका संस्थापकको लामो समयदेखिको दाबीलाई चुनौती दिन्छ, अर्थात् खुला बजारका लागि लोकतन्त्र नभई नहुने दाबी खण्डन हुन्छ । अन्य राजनीतिक एजेन्डाका बाबजुद डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले निरन्तर रूपमा खुला बजार उद्यमलाई प्राथमिकता दिन्छ ।

स्वतन्त्र बजारमा हुने यो विश्वास ‘कमजोर तप्का’ र धनीमा देखिन्छ । डेमोक्रेटिक पार्टीका जतिसुकै ‘उग्र प्रगतिशील’ किन नहोस् यसका नेताले वाल स्ट्रिटलाई समर्थन गरेका छन् । अमेरिकी पार्टीमाझ खुला बजारको अवधारणा जीवन्त र बलियो नै छ । नवउदारवादीले लोकतन्त्रलाई कहिल्यै प्राथमिकता दिएका थिएनन्, तसर्थ तिनका उत्तराधिकारीले सीमित वर्गको पक्षमा शासन गर्न डराउने वा लाज महसुस गर्दैनन् ।

नवउदारवादका सृष्टिकर्ताले स्वतन्त्रता र समानता दुवैप्रतिको विशिष्ट अमेरिकी समर्पणलाई सधैँ विरोधाभास देखे । तिनले स्वतन्त्रतालाई सम्झौताको स्वतन्त्रताको रूपमा परिभाषित गरेका छन् जुन खुला बजारमा निर्भर हुन्छ । तसर्थ, समान अवसरको नाममा बजारलाई नियमन गर्ने कुनै पनि प्रयासलाई सम्झौताको स्वतन्त्रताका लागि चुनौतीको रूपमा हेरिन्छ । अर्थात्, तिनले यसको प्रतिरोध गर्छन् वा यसलाई अस्वीकार गर्छन् ।

जब दक्षिणपन्थी सांसदले अत्यधिक व्यक्तिगत मामिला नियन्त्रण गर्न सरकारी अख्तियारीको प्रयोग गर्छन् । उदाहरणका लागि महिलाको शरीरको नियमन गर्ने वा धार्मिक विश्वासको पहरेदारी गर्ने प्रयास गर्छन्, तब यो सब नवउदारवादीका अनुसार ‘पाखण्ड’ होइन । मतदानमा हुने समान पहुँचमा प्रतिबन्ध लगाउने वा युनियन निर्माणलाई रोक्ने तिनका सख्त कदम पनि विरोधाभासपूर्ण छैनन् । तिनका अनुसार समानता हासिल गर्ने विधिले सम्झौताको स्वतन्त्रतालाई जोखिममा पार्छ भने तिनले समानतालाई स्विकार्दैनन् । यो अस्वीकार्यता लोकतान्त्रिक समाज थप सुदृढ हुँदा पनि कायमै रहन्छ । 

नवउदारवादीहरूले बजार वास्तवमा कहिल्यै स्वतन्त्र थिएन भन्ने बुझेका छन् । तिनले लोकतन्त्र सधैँ बजार निर्माण गर्ने, सुदृढ गर्ने र व्यवस्थित गर्नेको प्रभावको अधीनमा रहेको छ भन्ने पनि बुझेका छन् । यो प्रभाव सर्वाेच्च कानुनी सरोकारको रूपमा निजी सम्पत्तिको संरक्षणमा हुने प्राथमिकताबाट हासिल भएको हो । अमेरिकामा दीर्घकालीन गणतन्त्र सिर्जना गर्दा संस्थापकले सन्तुलनमा राख्ने लक्ष्य राखे तापनि व्यक्तिगत अधिकारभन्दा सम्पत्तिको अधिकारले महत्व पायो । तसर्थ, आन्दोलन वा हडताललाई दबाउन हरसम्भव प्रयास गरिन्छ, अर्थात् न्यायालयकै प्रयोग गरिन्छ । तर, यो प्रयास पुँजी पलायनमा भने देखिँदैन किनभने पुँजी पलायनले हडताललेझैँ सम्पत्तिमा असर गर्दैन । 

अवस्थिति र तिकडमको द्वन्द्वले खुला बजारले लोकतन्त्रलाई समर्थन गर्न सक्छ वा सक्दैन भन्नेमै प्रश्न खडा गरेको छ । डेमोक्र्याटिक पार्टी आफ्नो नवउदारवादी विश्वासमा बाँधिएको छ र यो प्रश्नलाई बेवास्ता गरिरहेको छ । अर्काेतर्फ, ट्रम्पको रिपब्लिकन पार्टी पनि उदासीन देखिन्छ । 

(लिभिङस्टोन रुटगर्ज विश्वविद्यालयका इतिहासका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेट 
 

ad
ad