शनिबारदेखि सुरु भएको प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भेट्रान सिटी क्लब वीरगन्ज विजयी भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भेट्रान सिटी क्लबले भारत दिल्लीको गढ्वाल डायमन्ड एफसीलाई टाइब्रेकरमा ३–१ ले पराजित गरेको हो।
आदर्शनगर खेलमैदानमा सुरु भएको फुटबल प्रतियोगितामा आयोजक जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ। ९० मिनेटको निर्धारित समयमा पटक–पटकको प्रयासमा दुवै टोली गोलरहित भएपछि पाँच मिनेट समय थपिएको थियो। उक्त समयमा पनि दुवै टिमले गाेल गर्न नसकेपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो।
पहिलो हाफमा भेट्रान सिटी क्लबले प्रतिस्पर्धी टिममाथि दबाब बढाएको थियो। दोस्रो हाफमा पनि भेट्रान सिटी क्लबका जर्सी नम्बर १४ का खेलाडीले पटक–पटक गोलपोस्टमा प्रहार गरेका थिए। उनले प्रहार गरेका बल गोल हुन नसकेपछि खेल थप रोमाञ्चक बनेको थियो।
गढ्वाल डायमन्ड एफसीका खेलाडी सुरुदेखि दबाबमा खेले पनि दोस्रो हाफदेखि आफ्नो गति बढाएका थिए। गढ्वाल डायमन्ड एफसीका जर्सी नम्बर ८ का खेलाडी अनुज रावतले पटक–पटक प्रयास गरेका हुन्। तर, उनलाई भेट्रान सिटी क्लबका खेलाडी जर्सी नम्बर १२ का विदेशी खेलाडी उस्मानले रोक्दै आएका थिए।
टाइब्रेकरमा दिल्लीका गोलरक्षक हर्षित विष्टले वीरगन्जका तर्फबाट पहिलो प्रहार गरेका कप्तान कृष्ण शाक्यको प्रहारलाई रोक्दै गोल हुनबाट बचाए पनि त्यसपछिका वीरगन्जका जनक कार्की, सुसन थापा र नवीन लामाको प्रहार भने सहजै गोलमा परिणत भएको थियो।
उता दिल्लीका लागि अजय विष्ट मात्र गोल गर्न सफल भए। सुमित कदयानको प्रहार गोल पोस्टबाहिर गयो भने संकल्प सिंह र अन्जुल परासरको प्रहार वीरगन्जका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिएका थिए।
उद्घाटन खेलको म्यान अफ दी म्याच वीरगन्जका गोलरक्षक राजु नगरकोटी घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा आइतबारको खेल संकटा क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड नवलपरासीबीच हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए। पर्यटन प्रवर्द्धन एवं खेलको विकास गर्ने उद्देश्यका साथ प्रथम वीरगन्ज फुटबल गोल्डकप प्रतियोगिता भएको आयोजकले जनाएको छ।
यसअघि प्रतियोगिताको समुद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जमा फुटबल खेलप्रति उत्साह फर्काउने विश्वास आफूले लिएको बताए। कुनै समय फुटबलका लागि उर्वर भूमि रहेको वीरगन्जमा केही वर्षयता उदासीनता आएको बताए।
मधेश प्रदेशकै सबैभन्दा उच्च धनराशिको यो प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ। प्रतियोगितामा ‘ए’ डिभिजनका त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी क्लब सहभागी हुनेछन्।
यस्तै, भारतको क्लाइभ हाउस डमडम कोलकाता, नर्थ जोन फुटबल टिम दिल्ली र आयोजक भेट्रान सिटी क्लब वीरगन्जको सहभागिता छन्।
प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने आयोजक क्लबका उपाध्यक्ष रोशन श्रेष्ठले बताए।
यस्तै, हरेक खेलको म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियोगिताकै सर्वोत्कृट हुने खेलाडीलाई नगद ५० हजार नगदसहितको पुरस्कार प्रदान गरिनेछ।