१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप एसियन छनोट फाइनल : ओमानसँग बदला लिँदै च्याम्पियन बन्ने अवसर

नेपाल र ओमानबीच आज एसियाली छनोटको फाइनलमा प्रतिस्पर्धा हुँदै

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o२:oo

सेमिफाइनलमा जित निकाल्दै नेपाल र ओमानले आइसिसी टी–२० विश्वकपमा स्थान बनाइसकेका छन्

आइसिसी टी–२० विश्वकपमा स्थान बनाएका नेपाल र ओमानबीच आज एसियाली छनोटको फाइनलमा प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा खेल ११ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवैको ध्यान च्याम्पियन बन्ने छ । नेपाल घरेलु समर्थकको साथ उपाधि घरमै राख्न चाहन्छ । साथै, समूह चरणको अन्तिम खेलमा बेहोरेको पाँच रनको हारको बदला लिने सोचमा छ । कप्तान रोहितकुमार पौडेल च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रनेछन् । ओपनर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने सानदार प्रदर्शन गर्ने लक्ष्यमा छन् । ‘हाम्रो लक्ष्य हरेक खेल जित्ने हुनेछ । त्यहीअनुसार सम्हालिएर खेल्छौँ,’ नेपालका कप्तान रोहित भन्छन् । 

ओमान पुनः घरेलु टोलीलाई स्तब्ध बनाउने योजनामा छ । समूह चरणको जित र फाइनलमा स्थान बनाएपछि ओमान उच्च लयमा छ । ओमान प्रतियोगितामा अपराजित छ । यसअघि सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएका थिए । युएईविरुद्ध नेपालले बलिङ, फिल्डिङ र ब्याटिङमा सानदार प्रदर्शन गरेको थियो । बलिङतर्फ कुशल मल्ल, सन्दीप लामिछानेले सानदार प्रदर्शन गरेका थिए । ओपनर आसिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई जिततर्फ उकासेका हुन् । अर्का ओपनर भुर्तेल, गुल्शन र कप्तान रोहितले सम्हालिएर प्रदर्शन गरेका थिए ।

दीपेन्द्र खेल्ने/नखेल्ने द्विविधा
सिंगापुरविरुद्ध घाइते भएर मैदानबाहिर रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी युएईविरुद्ध निर्णायक खेलमा खतरा मोल्दै खेलेका थिए । विश्वकपमा छनोट भएपछि फाइनल खेल्ने या नखेल्ने द्विविधा छ । युएईविरुद्ध फिल्डिङमा उपलब्ध भए पनि उनले ब्याटिङ गर्नुपरेन । दीपेन्द्रले बलिङ भने गरेनन् । घाइते भएपछि सिंगापुर र मलेसिया तथा ओमानविरुद्धको खेल गुमाएका थिए । समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध दीपेन्द्र नहुँदा नेपाल पाँच रनले पराजित भएको थियो । उनी युएईविरुद्ध जित्नैपर्ने दबाबमा रहेको खेलमा भने मैदान उत्रिएका थिए । यद्यपि, फिल्डिङमा निकै कमजोर देखिए । त्यसैले फाइनलमा कुनै दबाब नरहँदा दीपेन्द्रले खतरापूर्ण निर्णय लिनेछैनन् । 

हेड टु हेडमा नेपाल बलियो
ओमानसँगको हेड टु हेडमा नेपाल बलियो स्थितिमा छ । हालसम्म दुई टोलीबीच पाँच खेल भएका छन् । जसमा नेपालले तीन खेल जित्दा ओमानले दुई खेल जितेको छ । पछिल्लो भेटमा ओमान कीर्तिपुरमै पाँच रनले विजयी भएको हो । समूह चरणको अन्तिम खेलमा ओमानले नेपाललाई हरायो । सन् २०२२ मा खेलिएको तीन खेल नेपालले जितेको छ । तीन खेल फेबु्रअरीमा खेलिएको थियो । ११ तारिखमा नेपाल ६ विकेट, १८ तारिखमा ३९ रन र २४ तारिखमा ९ विकेटले विजयी भएको हो । सन् २०१९ मा भएको पहिलो भेटमा भने ओमान ६ विकेटले विजयी भएको थियो । 

सर्वाधिक रन बनाउने कुशल 
जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपालका ओपनर कुशल भुर्तेल रहेका छन् । शीर्ष दुईमा नेपालकै अर्का ओपनर आसिफ शेख छन् । कुशलले चार इनिङ्समा एक सय ५४ रन बनाएका छन्, जसमा एक अर्धशतक छ । उनले सिंगापुरविरुद्ध कीर्तिपुरमा ७४ रन बनाएका थिए । प्रतियोगितामा कुशलले १५ चौका र ९ छक्का प्रहार गरेका छन् । दोस्रो नम्बरमा रहेका आसिफले एक सय २८ रन बनाएका छन् । यस क्रममा उनले ११ चौका र चार छक्का प्रहार गरे । आसिफले निर्णायक खेलमा युएईविरुद्ध अविजित ६४ रन जोडेका थिए । बलिङतर्फ मलेसियाका मुहम्मद अमिर, ओमानका अकिव इल्यास र बिलाल खान र नेपालका अभिनाश बोहराले समान ८ विकेट लिएका छन् । 

टिकटको आधा रकम भूकम्पपीडितलाई 
नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पपीडितका लागि आर्थिक सहयोग गर्ने भएको छ । फाइनल खेलबाट बिक्री भएको ५० प्रतिशत टिकटको मूल्य भूकम्पपीडितलाई सहयोग गर्ने क्यानले घोषणा गरेको छ । क्यानले जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको छ । यस्तै, घाइते हुनेको संख्या सयौँ पुगेको छ । क्यानले घाइते सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । शुक्रबार राति रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

नेपालको वरीयतामा एक स्थान सुधार
टी–२० विश्वकपमा स्थान बनाएको नेपालले आइसिसी वरीयतामा एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ । सेमिफाइनलमा युएईलाई ८ विकेटले हराएसँगै नेपालको वरीयता सुधार भएको हो । छनोटअघि नेपाल १६औँ स्थानमा थियो । नेपालले छनोट खेलमा चारमध्ये तीन खेल जितेको छ । नेपाल १५औँ स्थानमा उक्लँदा नेदरल्यान्ड्स एक स्थान तल झरेको छ । नेपाल २४ खेलमा ४ हजार ३ सय ७७ अंक र १८२ रेटिङका साथ १५औँ स्थानमा रह्यो । नेदरल्यान्ड्सको १९ खेलमा ३ हजार ४ सय ४५ अंक र १ सय ८१ रेटिङ अंक छ । आइसिसीले जारी गरेको वरीयतामा भारत शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्ट इन्डिज सातौँ, श्रीलंका आठौँ, बंगलादेश नवौँ र अफगानिस्तान दशौँ स्थानमा छन् । यसैगरी, जिम्बावे ११औँ, नामिबिया १२औँ, आयरल्यान्ड १३औँ, स्कटल्यान्ड १४औँ, युएई १७औँ, ओमान १८औँ र पपुवा न्युगिनी १९औँ र क्यानडा २०औँ स्थानमा छन् । 

ad
ad